Main Menu

एमालेकी नेतृ धनकुमारीले पार्टी छाडिन्

फागुन १२, काठमाडौं
विगत ३२ वर्षदेखि निरन्तर दलित मुक्ति एवं कम्युनिस्ट आन्दोलनमा लाग्दै आएकी महिला नेतृ धनकुमारी सुनारले नेकपा (एमाले) परित्याग गरी ‘आजको भूमण्डलीकृत र त्यसले हाम्रोजस्तो उत्पीडित देशमा सिर्जना गरेको दलाल पुँजीवादी व्यवस्थाबिरुद्ध वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा इमान्दार एक अभियन्ताका रुपमा क्रियाशील रहने’ प्रण गरेकी छिन् । उनले आजै एक वक्तव्य प्रकाशित गर्दै उक्त घोषणा गरेकी हुन् ।

वक्तव्यमा उनी लेख्छिन्, “वि.सं.२०४२ सालदेखि पंचायती व्यवस्था अन्त्य गरी नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यप्रति प्रतिवद्ध भई गरिएको नेकपा (एमाले) संगको (तत्कालीन अवस्थामा नेकपा, माले) मेरो संलग्नताले तीन दशक पार गरिसकेको छ । जनवर्गीय संगठनदेखि पार्टीको केन्द्रीय विभागको जिम्मेवारीसम्मको मेरो यात्रामा बितेका आन्दोलनहरुमा राजकाज मुद्दादेखि ज्यानमुद्दासम्म आइपरेका सबै चुनौतिको सामना गरियो । बि.सं. २०४६ र ०६२/०६३ को जनआन्दोलमा प्रत्यक्ष सहभागी हुन पाउनु मेरो जीवनको गौरवपूर्ण घडी बन्न पुग्यो ।”

उन अगाडि भन्छिन्, “पछिल्लो समयमा पार्टी नेतृत्व डफ्फाम विकसित गैरकम्युनिस्ट चरित्र, विधिमाथि व्यक्ति हावी हुने निरंकुशताजस्ता कुराले यो पार्टीेले सर्वहारा श्रमिक वर्ग, दलित, महिला, आदिवासी जनजाति जनताको पक्षमा नभई दलाल पुँजीपति वर्ग, भ्रष्टहरु, डनहरुको पक्षपोषण गर्न थालेको दृश्य प्रष्टै छ । अब सर्वहारा श्रमिक जनता र उत्पीडित समुदायको मुक्ति यस पार्टीबाट संभव छैन भन्ने मेरो निष्कर्ष रहेकोले आजैबाट नेकपा (एमाले) सँग सम्बन्ध बिच्छेद गरेको जानकारी गराउँदछु ।”
नेकपा (एमाले) छाडेपछि आफूले गर्ने कामको सवालमा वक्तव्यमा उनी प्रष्ट पार्दछिन्, “आजको भूमण्डलीकृत पुँजीवाद र त्यसले हाम्रोजस्तो उत्पीडित देशमा सिर्जना गरेको दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा इमानदार एक अभियन्ताका रुपमा निरन्तर कृयाशील रहनेछु” ।

(Visited 364 times, 1 visits today)

टिप्पणी

comments