Main Menu

निर्वाचनको विकल्प निर्वाचन – प्रधानमन्त्री

election-option-election-pm

फाइल फोटो

जेष्ठ १६, काठमाडौँ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको आगामी असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनःविचार गर्न माग गरिएको छ ।

मुस्लिम प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज एक ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति अघि पछि गर्न आग्रह गरेका हुन् ।

“सरकार तपाइँहरुको मागप्रति सकारात्मक छ ।” मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने, “निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर निर्णय गर्छाैं ।”

प्रधानमन्त्रीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई सम्पन्न बनाउन आम नेपालीको साथ र सहयोगको अपेक्षा गरेको समेत सो अवसरमा जानकारी दिए ।

प्रधानमन्त्रीले भने, “असारमा चुनावको मिति तोकिएको छ । मनसुनका कारण चुनाव प्रभावित होला कि भन्ने चिन्ता पनि छ । हामीले जुनकुनै हालतमा चुनाव गर्नुपर्छ । निर्वाचनले मात्रै राजनीतिक सङ्क्रमणको अन्त्य गरी देशलाई राजनीतिक स्थिरता र विकासतिर लैजाने छ ।”

प्रधानमन्त्रीले निर्वाचन गर्नैपर्ने बाध्यताका बीचबाट रमजान पर्व प्रभावित नहुने गरी व्यवस्था गर्न सरकारले आवश्यक निर्णय गर्ने र सबैलाई सहभागी गराउने उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, “निर्वाचन नभए सङ्घीयता, धर्म निरपेक्षता, गणतन्त्रजस्ता उपलब्धिलाई संस्थागत गर्न कठिन हुन्छ । निर्वाचनको विकल्प निर्वाचन मात्रै हो, अरु हुनै सक्दैन ।”

सो अवसरमा मुस्लिम समुदायका प्रतिनिधिले असार ९ गते रमजान पर्व पर्ने भएकाले मुस्लिम समुदाय निर्वाचनमा सहभागी हुन कठिनाइ हुने बताउँदै सो दिनका लागि तोकिएको मिति तल माथि गर्न माग गरेका थिए ।

यस्तै प्रतिनिधिमण्डलले सो दिनका लागि कक्षा ११ को परीक्षासमेत स्थगित गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए ।

(Visited 84 times, 1 visits today)

टिप्पणी

comments