Main Menu

नेपाल सम्वत व्यवहारमा लागु गर्न सरकार उदासिन —पद्मरत्न

भाद्र २२, काठमाडौं

पद्मरत्न तुलाधर र मल्ल के सुन्दर (फाइल फोटो)

गणतन्त्र आएपछि सरकारले नेपाल सम्वतलाई राष्ट्रिय मान्यता दिए पनि यसलाई व्यवहारमा लागु गर्न सरकार उदासिन भएकोले व्यवहारमा यसलाई लागु गर्न कठिनाइ भइरहेको कुरा भाषा आन्दोलन, लोकतान्त्रिक आन्दोलन, वाम आन्दोलन र मानवअधिकार आन्दोलनका हस्ती पद्मरत्न तुलाधारले बताउनुभएको छ । स्वतन्त्र वामनेताको रुपमा पनि चर्चित तुलाधरले उक्त बिचार स्वयं आफ्नै जंकु (नेवाः समुदायमा ७७ वर्ष ७ महिना र ७ दिन उमेर पुगेपछि दीर्घजीवि भएकोमा बधाइ दिन गरिने विशेष परम्परागत शैलीको संस्कारगत संस्कृति) को अवसरमा हिजो आयोजित ‘नेपाल सम्बतसम्बन्धी आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।

वरिष्ठ एवं वयोवृद्ध नेता तुलाधरले नेपालमा रहेका विभिन्न सम्बतको अध्ययन गर्नका लागि एउटा नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो बिचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल भाषा आन्दोलनका एक हस्ती पद्मरत्न तुलाधर कुनै पनि पार्टीको नेताभन्दा उहाँको उचाई धेरै माथि रहेको बताउनुभयो । उहाँले नेपालमा जन्मेको नेपाल सम्बतको नामबाट प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ राख्नुपर्ने, नेपालको शान्तिप्रक्रियालाई महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता पद्मरत्नलाई राज्यले नेपाल रत्नबाट सुशोभित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालको शान्ति प्रक्रिया, भाषा आन्दोलन, मानवअधिकार तथा धेरै क्षेत्रमा पदमरत्न तुलाधरले दिनुभएको योगदानलाई कसैले अवमूल्यन गर्न नसक्ने बताउनुभयो । उहाँले नेपाल सम्बतलाई थप प्रचारप्रसार गरी जनताको बीचमा लगेर व्यापक पार्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै गरी वरिष्ठ पत्रकार एवं भाषा अभियन्ता मल्ल के सुन्दरले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिने र शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिए पनि राज्यले नेपाल सम्बतलाई व्यवहारमा लागू गर्ने तथा यसको संरक्षण गर्नेतर्फ चासो नदिएको गुनासो गर्नभयो ।

बिचार गोष्ठीमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्य, राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धर, पद्मरत्न नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरलगायतले पद्मरत्न तुलाधरको बहुमुखी प्रतिभाप्रति प्रकाश पार्नुभएको थियो ।

फोटो : हीरा महर्जन/मूल्याङ्कन अनलाइन

(Visited 133 times, 1 visits today)

टिप्पणी

comments