Main Menu

हामी समय खेर नफाली स्पिडमा काम गर्दैछौं

चीनबाट तेल : डा. महेश मास्के के भन्छन् ?

कार्तिक ९, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण नेपालले अहिले झेलिरहेको तेलसंकट टार्न सरकारले चीनसँग औपचारिक पत्राचार गरेपछि उत्तरी छिमेकी देश चीनले नेपाललाई १ हजार टन अर्थात् करिब १० लाख लिटर पेट्रोलियम तत्काल अनुदानमा उपलब्ध गराउने भएको र छिट्टै दीर्घकालीन समाधानको प्रकृया चाल्ने भएको समाचारले नेपालमा अहिले छुट्टै व्यापक चर्चा पाएको छ । पीडित जनताहरु बरु आफू थप केही दिन दुःख खप्न तयार रहेको, तर दिगो समाधानको खोजीमा रहेका छन् । केही दिनअघि एमाओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राजदूतलाई आफूकहाँ बोलाएर तेल आपूर्ति र उत्तरी नाकाहरु सुचार गर्नेबारे कुराकानी गरेपछि गति पक्रिएको यो प्रकृयाले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो निवासमा आपूर्ति मन्त्री गणेशमान पुन, चिनियाँ राजदूत तथा चीनका लागि नेपाली राजदूत डा. महेश मास्के समेतको संयुक्त बैठक राखेपछि कार्यान्वय तहमै तीव्रता पाएको हो । चीनका लागि नेपाली राजदूत डा. मास्के दशैंको मुखमा काठमाण्डौं आएर सक्रिय भएपछि धेरै कुराले आकार लिँदै गएको देखिन्छ । आफ्नो बौद्धिकता तथा सक्रियताका कारण चिनियाँ पक्षको माथ्लो तहसम्मै राम्रो प्रभाव जमाएका डा. मास्केमार्फत् सरकारले यो काम केही साताअगाडि नै गर्न सक्थ्यो । ढीलै भएपनि अव सरकारले औपचारिक पत्र लेखेपछि उहाँलाई काम गर्न सहज भएको छ ।
हिजो आइतवार अबेर राति मूल्याङ्कनका लागि हरिगोविन्द लुइँटेलले डा. मास्केसँग काठमाण्डौंको उहाँको निवासमा गरेको कुराकानी यहाँ प्रस्तुत छ  : 

डा. महेश मास्के

डा. महेश मास्के

तपाइँको नेतृत्वमा नेपालको वाणिज्य, आपूर्ति, परराष्ट्र मन्त्रालयसंवद्ध अधिकारीहरु र नेपाल आयल निगमका अधिकारीहरु समेत आइतवार नै चीन प्रस्थान गर्ने भनिएको थियो, जानु भएन त ?

डा. मास्के  : आइतवार नै जाने कुरा थियो । तर, औपचारिक कागजपत्रहरु, सहमतिका मस्यौदा प्रस्तावहरु आदि तयारीको लागि थप १ दिन समय लाग्यो । संभवतः हामी सोमवार प्रस्थान गर्छौं । म कुनै पनि बेला हिँड्न सक्ने गरी तयारी अवस्थामा रहेको छु ।

अहिले के के कुराको तयारी हुँदै छ ?

डा. मास्के : तत्काल अनुदानमा प्राप्त हुने १ हजार टन पेट्रोलियम पदार्थ संभवतः बुधवारसम्म नेपाल आइपुग्ला । त्यसले केही दिनका लागि राहत दिनेछ । यसबीचमा दीर्घकालीन आपूर्तिको मूर्त खाका बनेर आवश्यक औचारिक संझौताहरु भई नियमित आपूर्ति शुरु हुनेछ । यसैका लागि पेट्रोलियम पदार्थमा पनि ग्यास, डिजेल, पेट्रोल आदि के, कति, कसरी, कुनकुन नाकाबाट भन्ने कुराहरु तय गरी मूर्त खाका बनाउने तयारी नै अहिलेको प्रमुख कुरा हो । नियमित आपूर्तिका लागि परिमाण, दरभाउ, प्राप्तीस्थान, यातायातको नाका आदि पनि तय गरिनुपर्ने हुन्छ । यी सवै कुरामा नेपाल र चीनबीच सरकारी तहमा वार्ता र संझौता हुनु प्रमुख कुरा हो । नेपाली र चिनियाँ निजी क्षेत्रको योगदान र कारोवारको पहलको विषय पनि यसमा सामेल हुनेछ ।

 प्रकृयाले कति समय खान्छ ?

डा. मास्के : हाम्रो टोली सोमवार साँझसम्म बेइजिंग पुगेपछि हामीलाई यो सातामा मंगलवारदेखि शुक्रवारसम्म ४ दिनका कार्यदिनहरु रहनेछन् । २ दिन बेइजिंगमा र आवश्यक परे २ दिन ल्हासामा हामीले काम गर्नेछौं भन्ने मेरो योजना छ । मुलुकको आजको इन्धनसंकटको यो स्थितिमा हामीले कुनै पनि किसिमले समय खेर नफाली स्पिडमा काम गर्नु जरुरी छ, गर्दैछौं, गर्छौं । मलाई लाग्छ अर्को साता नलाग्दै यो काम हामीले सक्नेछौं । यसरी आधारभूत वातावरण बनेपछि चीनले आफ्नो जगेडा भण्डारबाट हामीलाई तेल दिन थाल्नेछ । जाडोमा हिउँले बाटोमा केही दिन अवरोध आउनसक्ने हुनाले जाडोअघि नै हामीले पर्याप्त मात्रामा तेल भित्र्याउनु पर्छ ।

 प्रकृयाको सफलतामा तपाईं कति आशावादी हुनुहुन्छ ?

डा. मास्के : म आशावादी छु । नेपाली जनताको तथा नेपाल सरकारको यो पहललाई म र मसँगै जाने हाम्रो टिमले एउटा सकारात्मक तहमा पुर्याउनेछौं भन्ने आत्मविश्वास पनि मसँग छ । यसमा चिनियाँ सरकारको सकारात्मक एवं सहयोगी भूमिकाले पनि ठूलो टेवा पुर्याउनेछ ।

नेपालभित्रै कर्मचारीतन्त्रमा र अन्यत्र पनि भारत चिढिन्छ भनेर डराउनेहरु र भारतको स्वार्थमा काम गर्नेहरुले यो काम हुनदिन चाहिरहेका छैनन् पनि भनिन्छ नि !

डा. मास्के : मलाई त्यस्तो लाग्दैन । चीनले नेपाललाई अप्ठेरो पर्दा जहिले पनि सघाउँदै आएको छ । यो त्यसैको निरन्तरता हो । हाम्रो अर्को मित्रराष्ट्र भारतविरुद्ध हैन यो कदम । मैले बुझेअनुसार चीनले भारत वा अन्य छिमेकीहरुसँग हाम्रो र चीन आफूस्वयंको पनि मित्रतामा आँच नआओस् भनेर सधैं ध्यान दिइरहेको हुन्छ । मलाई लाग्छ भारत वा अन्य कुनै पनि मित्रराष्ट्रलाई नचिढाईकन नेपाललाई सहयोग गर्न चीन चाहन्छ । नेपालले एक मात्र हैन, दुई वा धेरै मित्रराष्ट्रहरुसँग व्यापारिक साझेदारी गर्न चाहेको अर्थमा उसले यसलाई बुझ्ला भन्ने म ठान्दछु ।

चीनबाट ल्याइने पेट्रोलियम पदार्थ निकै महंगो हुन्छ भन्ने कुरा पनि छ नि !

डा. मास्के : यसको गृहकार्य हुँदै छ । थोरै महंगो पर्न पनि सक्छ । तर, केही विज्ञहरुले मलाई बताउनु भएअनुसार चीनमा प्रयोग हुने पेट्रोलियमको प्रिमियम क्वालिटी ९३ र ९७ हुने गरेको, तर हामीलाई चाहिँ ८७ र ९१ चाहिने हुँदा भाउ केही सरल हुने हुन्छ । यातायातको सवालमा पनि हामीले लिने भारतका विभिन्न तेल डिपोहरुमध्ये टाढाको डिपोको आतेजाते दूरी २ हजार ८ सय किलोमिटरको र सवैभन्दा नजिक बरौनी डिपोको आतेजाते १ हजार ४ सय किलोमिटरको छ । चीनको सिगात्से शहरबाट काठमाण्डौं आतेजाते १ हजार २ सय किलोमिटरभन्दा बढी पर्दैन । त्यसले पनि भाउ सरल गर्न केही भूमिका खेल्ला कि ?

अहिले चीनसँग भैरहेको यो प्रयत्नलाई तत्कालको संकट समाधानको उपायभन्दा माथि उठाएर नेपालको आत्मनिर्भता प्राप्तीको तहसम्म पुर्याउने कुनै संभावना तपाईंले देख्नु भएको छ ?

डा. मास्के : मेरो व्यक्तिगत विचारमा वर्तमान संकटले हामी नेपालीलाई हाम्रो आत्मनिर्भताको अभिवृद्धिमा जोड दिन घच्घच्याएको पनि छ । हामीले सबै संभव वस्तुहरुको उत्पादन बढाउन आफैं सचेत हुनुपर्छ । जहाँसम्म इन्धनमा आत्मनिर्भरताको सवाल छ, हाम्रा आफ्ना संभावित ठाउँहरुमा तेल, ग्याँस आदिको खोज र उत्खनन् कार्यहरु अघि बढाउनुपर्छ । यसका लागि आफूले पहल गर्ने र बाँकीमा मित्र राष्ट्रहरु चीन तथा भारत दुवैको सहयोग प्राप्त गर्न पहल गर्नु राम्रो हुन्छ । हाम्रा दुवै मित्रराष्ट्रहरु यसमा सहयोग गर्न तयार छन् भन्ने म ठान्दछु ।

तपाईंले यो पाटोमा पनि चीनँंग पहल थाल्ने सोच बनाउनु भएको छ ?

डा. मास्के :  निश्चय नै । चिनियाँ अधिकारीहरुसँग अब हुने औपचारिक, अनौपचारिक भेटहरुमा म यसबारे कुरा उठाउनेछु ।
यसबाहेक मलाई के लाग्छ भने, हामीले ऊर्जाका अन्य विकल्पहरुको विकासका लागि विशेष जोड दिनुपर्छ । जलविद्युत र यसबाहेक वैकल्पिक ऊर्जामा सौर्यऊर्जा, वायुऊर्जा लगायतका क्षेत्रमा हामीले हात हाल्नुपर्छ । अनि, मूलतः देशमै उत्पादित ऊर्जामा आधारित सवारी साधन तथा इन्धनको प्रयोग बढाउनुपर्छ र बाहिरबाट इन्धन आयात न्यून गरिनुपर्छ ।

 नेपालको ट्रली बस हामीले मास्यौं । चीनको बेइजिंगमा अहिले पनि चलिरहेको ट्रली बस ।

नेपालको ट्रली बस हामीले मास्यौं । चीनको बेइजिंगमा अहिले पनि चलिरहेको ट्रली बस ।

काठमाण्डौंमा चीनले बनाइदिएको एक मात्र ट्रली बसको अवस्था नाजुक भए पनि पुनः शहरी क्षेत्रमा विजुलीबाट चल्ने ट्रली बस, मेट्रो रेल, अन्यत्र लामो दूरीको रेल आदिको निर्माण र संचालनजस्ता विषयमा पनि कुरा अघि बढ्ने संभावना कतिको छ ?

डा. मास्के : यसबारे मलाई अर्का एकजना पत्रकार मित्रले पनि प्रश्न गर्नु भएको थियो । काठमाण्डौंको ट्रलीबसलाई यसका बाँकी केही संरचनाहरुको पुनः प्रयोग गरी नपुग साधन थपी पुरानो रुटमा केही फेरबदल गरी संचालन गर्र्ने संभावनाको कुरा उहाँले उठाउनु भएको थियो । यी सवै कुरामा हामीले चीन र भारत दुवै छिमेकी देशहरु र अन्य मित्रराष्ट्रहरुसँग पनि कुरा चलाउनुपर्छ । मूल कुरा त हाम्रो आफ्नो योजना र पहल प्रमुख कुरा हो । चीनमा मैले आफ्नो पहल बढाउन सक्छु र म त्यो गर्नेछु । ०००

(Visited 1,484 times, 1 visits today)

टिप्पणी

comments