Main Menu

जनयुद्धको समयमा चरम यातना पाएका युवा नेता कृष्णध्वज खड्का

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेपछि निर्माण भएको संविधान अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर २१ गते सम्पन्न हुँदैछ । राजतन्त्र अन्त्य भई गणतन्त्र आउनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दश वर्षसम्म चलाएको जनयुद्धको अहं भूमिका रहेकोमा कसैको दुई मत नहोला ।

त्यस जनयुद्धमा हजारौं नेपाली आमाका सपूतहरुले शहादत प्राप्त गरे भने हजारौंको अङ्गभङ्ग भयो । त्यस्तै गरी हजारौंले चरम यातना भोग्नुपर्यो । त्यसरी चरम यातना पाउने युवाहरुमध्ये प्यूठानका कृष्णध्वज खड्काको नाम पनि अग्रभागमा आउँदछ । उनी अहिले प्यूठानबाट प्रदेश सभा सदस्यका लागि साझा वाम उम्मेदवारका रुपमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेका छन् ।

प्यूठानमा २०१९ सालमा जन्मेका युवा नेता कृष्णध्वज खड्काले १६ वर्षको उमेरमा नै २०३५ सालमा तत्कालीन अ.ने.रा.स्व.वि.यु. (छैठौं) को सदस्यता लिई बिद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । बिद्यार्थी राजनीतिमा लागेको दश वर्षमा उनी २०४५ सालमा तत्कालीन नेकपा (मशाल) निकट बिद्यार्थी संगठनको केन्द्रीय सदस्य बनेका थिए । बिद्यार्थी नेताको रुपमा क्रियाशील रहँदै नै उनी २०४६ सालको पञ्चायतबिरोधी जनआन्दोलनमा सक्रिय भए । त्यही क्रममा उनी पुलिसद्वारा पक्राउमा परे र १ वर्षसम्म यातनासहित जेलमा परे ।

नेकपा (एकता केन्द्र) बाट फुटेर नेकपा (माओवादी) बनेपछि २०५१ सालमा त्यस पार्टी निकट बिद्यार्थी संगठनको उनी केन्द्रीय उपाध्यक्ष बने । २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरु गरेको समयदेखि २०५८ सालसम्म त्यस पार्टी निकट बिद्यार्थी संगठनका उनी केन्द्रीय अध्यक्ष बने । जनयुद्धमा युवा बिद्यार्थीहरुको परिचालनमा उनको नेतृत्वदायी भूमिका रहेको थियो । उनले बिद्यार्थी मात्र होइन तत्कालीन माओवादी पार्टीका अन्य भातृ संगठनहरुका युवाहरुलाई पनि जनयुद्धमा परिचालन गर्न सफल संयोजनकारी जिम्मेवारी निभाएका थिए ।

विद्यार्थी संगठनका अध्यक्ष रहेकै वेला तत्कालीन सरकारद्वारा परिचालित सैनिकले नेता खड्का र उनकी श्रीमती रेखा शर्मालाई २०५८ सालमा पक्राउ गरी १ वर्ष सम्म चरम यातनासहित वेपत्ता बनायो । त्यस समयमा सैनिकले उनीहरुलाई शरीरभरि नीलडाम हुनेगरी कुटपिट गरेको थियो भने कुटपिटकै कारणबाट नेता खड्काको हातखुट्टा भाँचिएको थियो । अहिले उनको हातमा जीवनभरिका लागि रड राखिएको छ । त्यस्तै गरी भाचिएका खुट्टाहरुमा अहिले पनि भित्रबाट तार बाँधिएको छ ।

अहिले नेता कृष्णध्वज खड्काले सिधा भएर उभिन र छिटोछिटो हिँड्न सक्दैनन् । त्यति मात्र होइन सेनाले पिट्दा खड्काको करङहरु समेत भाँचिएका थिए । नेता कृष्णध्वजलाई प्रहरीले दर्जनांै पटक गिरफ्तार गरी मरणासन्न हुने गरी पिटेको थियो । त्यो पिटाइको कारणले कतिपय मांसपेशी अझै अर्धचेत अवस्थामा रहेको उनी बताउँछन् । श्रीमान र श्रीमती दुवै पूर्णकालीन राजनीतिमा सामेल भएकै बेला खड्काकी श्रीमती रेखा शर्मालाई सैनिकले गिरफ्तार गरी जेल चलान गरेको र त्यहाँ रेखालाई अर्धनग्न बनाई कुटपिट गर्नुका साथै उनको मांसपेशी चिरेर नुन खुर्सानी हालेर चरम अमानवीय यातना दिएको नेता खड्का बताउँछन् ।

नेता कृष्णध्वज खड्का २०५८ सालमा पक्राउमा पर्नुअघि २०५७ सालमा जनयुद्धमा युवा तथा बिद्यार्थीलाई परिचालन गर्दागर्दै नै नेकपा (माओवादी)का केन्द्रीय सदस्य बने । उनले केन्द्रीय सदस्यको हैसियतमा नै जनयुद्धको समयमा नेकपा (माओवादी) र तत्कालीन सरकारबीच वार्ता गराउन संयोजन गरेका थिए ।
युवा नेता खड्का २०७० सालदेखि भने नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुनुका साथसाथै प्यूठान जिल्लाका लागि पार्टीको केन्द्रीय इन्चार्ज रहँदै आएका छन् । उनी अहिले नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय सदस्य पनि हुन् ।

२०७० सालको संविधानसभाको निर्वाचनमा नेता कृष्णध्वज प्यूठानबाट उम्मेदवार बनेका थिए । तर, उनी पराजित भए । देश र जनताका लागि नै आफ्नो जीवन अर्पेको बताउने उनी आफ्नो पराजयबाट कति पनि बिचलित भएनन् । अहिले उनी मंसिर २१ गते सम्पन्न हुन गइरहेको आसन्न प्रदेश सभाको चुनावमा प्यूठानबाट पुनः उम्मेदवार बनेका छन् ।

  • रमेश गिरी
(Visited 548 times, 1 visits today)

टिप्पणी

comments