Main Menu

कला इतिहासको पुनर्लेखन

guerrillagirls

एक नग्न महिलाको तस्बिर, टाउको भने गुरिल्लाको जो रिसले कराइरहेझैँ देखिन्छ, पहेँलो रङ्गको पृष्ठभूमिमा काला ठूला अक्षरहरुमा लेखिएको छ, ‘के महिलाहरुले मेट्रोपोलिटेन्ट म्युजियममा स्थान पाउनको लागि नग्न नै हुनुपर्ने हो ?’ यसभन्दा मुनि लेखिएको छ, ‘मोडर्न आर्ट सेक्सनमा महिला कलाकारका कलाकृतिहरु ४ प्रतिशतभन्दा कम छ भने नग्न आकृतिहरुमध्ये ७६ प्रतिशत महिलाका छन् ।’ यो एउटा गैरव्यवसायिक पोस्टर हो, जसका स्रष्टा न्यु योर्कको महिला कलाकार समूह, गुरिल्ला गर्ल्स (gorilla girls) हुन् । यो पोष्टर उनीहरुले महिला कालाकारहरुप्रति भइरहेका भेदभावको विरोध स्वरुप सिर्जना गरेका हुन् । यो पोष्टर तेस्रो संस्करणको हो, जुन सन् २०१२ मा सार्वजनिक भएको थियो । यसअघि सन् १९८९ मा यसको पहिलो संस्करण सार्वजनिक भएको थियो, जसमा फरक केवल महिला कलाकार र नग्न महिला आकृतिहरुको प्रतिशतमा थियो । पहिलो संस्करणको पोस्टरमा महिला कलाकारहरुको सहभागिता ५ प्रतिशत थियो भने नग्न महिला आकृति ८५ प्रतिशत लेखिएको थियो । त्यस्तै दोस्रो संस्करण, सन् २००५ को पोस्टर क्रमशः ३ प्रतिशत र ८३ प्रतिशत उल्लेख गरिएको थियो । यो भनेको उक्त महिला कलाकार समूहले स्वतःस्फूर्त रुपमा न्यु योर्कको मेट्रोपोलिटन म्युजियममा रहेका कलाकृतिहरुको फरक–फरक समयमा गरिएका गणनाहरुको तथ्याङ्क हो । न्यु योर्कजस्तो विश्वको अति विकसित मानिने शहरको प्रमुख म्युजियममा कलाकारहरु यसरी लैङ्गिक विभेदका शिकार भइरहेका छन् र महिला कलाकारहरुले दसकौँदेखि निरन्तर यसको विरुध्द लडिरहनु परेको छ भन्दा हामीमध्ये धेरैलाई विश्वास नहुन सक्छ । तर, वास्तविकता यही हो । गुमनाम नारीवादी महिला कलाकारहरुको यो समूहले सन् १९८५ देखि नै कला क्षेत्रमा भएको लैङ्गिक र जातीय विभेदका विरुध्द आफ्नो कलाकारिता मार्फत् निरन्तर आवाज उठाउँदै आइरहेका छन् । उनीहरु आफू गोप्य रहनका लागि सार्वजनिक रुपमा प्रस्तुत हुँदा पनि गुरिल्लाको मुखोटा (मास्क) पहिरिने गर्छन् । उनीहरुको कलाकारिताको माध्यम विशेष गरी पोस्टर, बिलबोर्ड, स्टिकर, आदि हुन् । यसबाहेक उनीहरु अरु विरोधका कार्यक्रमहरु पनि आयोजना गर्छन् ।
गुरिल्ला गर्ल्सले लगभग ३ दशकदेखि उठाउँदै आएको यो मुद्दा नौलो पक्कै होइन । समाजका अरु विभिन्न क्षेत्रमा जस्तै कला क्षेत्रमा पनि सदियौँदेखि लैङ्गिक विभेद रहँदै आएको छ । यो भनेको पितृसत्तात्मक समाज र संस्कृतिको उपज हो, जहाँ महिलाको एक मात्र काम भनेको घरायसी काम र बालबच्चा सम्हाल्नु हो भन्ने मान्यतालाई स्थापित गरिन्छ । तर समाजको व्यापक विभेद तथा बाधाका बावजुद पनि इतिहासमा सदियौंदेखि नै थुप्रै महिला कलाकारहरुले आ–आफ्नो समयमा संघर्ष र सफलताका कथा लेखेका छन् । फेरि पनि विगतभन्दा फरक खालको विशेषता बोकेको आजको पितृसत्ताद्वारा ती महान् कलाकारहरुलाई गुमनाम नै राख्न भरपूर अभ्यास हुँदै आएको छ । गुरिल्ला गर्ल्स तथा विश्वभरका अन्य थुप्रै नारीवादी कलाकारहरुको विरोधका आवाजले यस्तै बोध गराउँछ । आउनुहोस् विगतका ती सशक्त कलाकारहरुमध्येका १६ औँ शताब्दीदेखिका केही कलाकारहरु र उनीहरुका ‘मास्टरपिस’हरुका बारेमा छोटो चर्चा गरौँ ।

लाभिनिया फोन्टाना
Fontana PortraitNoblewoman2-resized-600
१६ औँ शताब्दीको युरोप कलाको केन्द्र थियो, जहाँ लियोनार्दो दा भिन्ची, माइकलएन्जेलो बोनारिटी, राफायल, टिटायन आदि जस्ता महान् कलाकारहरुको जन्म भएको थियो । इतिहासको अभिलेखमा यस समयका महिला कलाकारहरु खोज्न निकै कठिन छ । तर, के वास्तवमै महिला कलाकारहरु छँदै थिएनन् त ? यथार्थमा त्यतिबेला महिला कलाकारहरुलाई पुरुष शरीरको एनाटोमी (शरीर रचना) को अध्ययन गर्ने अनुमति थिएन, जसका कारण थोरै संख्यामा भएका महिला कलाकारहरु पनि समकालिन पुरुष कलाकारहरुले जस्तै धार्मिक ग्रन्थमा आधारित ठूल्ठूला कम्पोजिसनहरु (चित्रकलाहरु) सृजना गर्न बञ्चित भए । त्यसैले त्यतिबेला महिला कलाकारहरु विषेश गरी पोट्रेट (मानिसको अनुहारलाई केन्द्रमा राखी छातीभन्दा अलि तलसम्म आउने गरी मानिसको अनुहारको भावलाई प्राथमिकता दिई तयार गरिने चित्रकला) तथा स्टिल लाइफ (टेबल, ग्लास, फुल, कलम आदि आफूसँग भएका अचल वस्तुहरुलाई क्यानभासमा उतारेर तयार पारिने चित्रकला) गर्थे । यसै समयको इटालीकी एक उत्कृष्ट कलाकार थिइन् लाभिनिया फोन्टाना । उनी सन् १५७० सम्ममा केबल १८ वर्षको उमेरमा एक कलाकारको रुपमा स्थापित भइसकेकी थिइन् । तात्कालिन परिवेश विपरित पोट्रेट मात्र नभई ठूल्ठूला धामिर्क पुराणहरुमा आधारित कलाकारिताका लागि पनि उनी कहलिएकी थिइन् । उनले कलाकारिताको प्रशिक्षण आफ्ना कलाकार पिताबाट पाएकी थिइन् । जब उनको ख्याती उनका कलाकार पति जियान पाउलो जापीभन्दा बढ्न थाल्यो, तब उनका पतिले उनको सहयोगी भई काम गर्ने र उनीहरुका ११ जना सन्तानहरु हुर्काउने मुख्य जिम्मा लिने काम गरेका थिए । उनको ख्याती रोमसम्म पुगेपछि तात्कालिन रोमका पोप पाउल ख का लागि काम गरेकी थिइन् ।

‘भद्र महिलाको पोट्रेट’ फिन्टानाको कला कुशलताको उत्कृष्ट नमुना हो । यसमा चित्रकलामा रहेकी महिलाले लगाएको पोशाक विवाहको पोशाक भएको मानिन्छ । उक्त महिलाले थुप्रै गरगहना पनि लगाएकी छिन् । फोन्टानाले बायाँतिरबाट आएको प्रकाशमा टल्केका प्रत्येक गहनाहरुलाई प्रभावकारी रुपमा प्रस्तुत गरेकी छिन् । पृष्ठभूमिमा अँधेरो रङ्गको प्रयोगले उक्त महिलाले लगाएको आलिशान पोशाकमा चमक थपिएको छ । ती कपडाहरुमा पनि निकै सावधानी र कुशलताका साथ टेक्स्चर दिएकी छिन्, जसबाट उक्त कपडाको गुण थाहा पाउन सकिन्छ । ४० वर्षको निरन्तर कलायात्रामा उनले लगभग १३० वटा कालाकृति सृजना गरेर तात्कालिन पुरुष कलाकारहरुसँगै आफूलाई स्थापित गरेकी थिइन् ।

जुडिथ लेस्टर
leyster_sm
१७ औं शताब्दीका प्रख्यात डच कलाकार जुडिथ लेस्टर आफ्नो मृत्यु पछि गुमनाम भएकी थिइन् । त्यसको २०० वर्षपछि अर्थात् सन् १८९३ मा फ्रान्सको लुभ्रे म्युजियममा रहेको ‘फ्रान्स हल’ को नाममा रहेका चित्रकलाको अध्ययनमा ती चित्रकलाहरु लेस्टरको भएको पत्ता लागेपछि इतिहासमा लेस्टरको नाम सधैंका लागि अङ्कित भएको छ । हल लेस्टरका प्रशिक्षक थिए भन्ने विश्वास गरिन्छ । यद्यपि यो कुरा प्रमाणित भने भएको छैन । सन् १६३३ मा २४ वर्षको उमेरमा नेडरलाण्डको हारलम शहरको तात्कालिन प्रख्यात कलाकार समूह सेन्ट लुक समाजमा समावेश हुने उनी पहिलो महिला कलाकार थिइन् ।

लेस्टरले तात्कालिन प्रचलित विषय दैनिक जीवनमा आधारित थुप्रै कलाकृति सृजना गरेकी थिइन्, तर पनि उनी पोट्रेटमा विशेष दखल राख्थिन् । उनको कला कौशलताको एक उत्कृष्ट नमूना हो उनको सेल्फ पोट्र्रेट (आफ्नै पोट्रेट) । क्यानभासमा तेल रङ्गले बनाएको यस कलाकृतिमा उनी कुनै संगीतकारको चित्र उतार्दै छिन् । यसमा लेस्टरले चित्र कोर्दै गरेको दृश्य उतारिएको भए पनि उनले लगाएको लुगाले उनी कुनै उच्च घरानाको भद्र महिला भएको दर्शाउँछ । उनले कपडा र मेचमा देखाएको कला कौशलताले उनको सफल कलाकारिताको परिचय दिन्छ । १७ औँ शताब्दीका चर्चित महिला कलाकारमा आटिमिर्सीया जेन्टिलेस्कीसँगै लेस्टरको नाम पनि आउँछ ।

एन्जेलिका कफमन
Angelica_Kauffmann_by_Angelica_Kauffmann
सन् १७४१ मा जन्मेकी स्वीस कलाकार एन्जेलिका कफमन १५ वर्षको पुग्दानपुग्दै आफ्ना पिताका सहायकका रुपमा विभिन्न चर्चहरुमा म्युरल (भित्ते चित्र) गर्न थालिसकेकी थिइन् । सन् १७६४ मा उनले एक बेलायती कलाकार (actor) डेभिड गारिकको पोट्रेट बनाएपछि उनको चर्चा बेलायतमा पनि फैलिएको थियो । त्यसपछि उनी बेलायतमै गई बसिन् जहाँ उनले विषेशगरी शास्त्रीय इतिहासका महिला पात्रहरु जस्तै पेनेलोप (ग्रीक राजा ओडिससकी पत्नी जसले २० वर्ष आफ्ना पतिको प्रतिक्षा गरेकी थिइन्), लुक्रेसिया (राजाका छोराबाट बलात्कृत भएपछि आत्महत्या गरेकी थिइन्, जुन घटनाको कारण रोममा आन्दोलन चर्केको थियो । राजतन्त्र हटेर गणतन्त्रको स्थापना हुनुमा यो एक प्रमुख कारण मानिन्छ ।) आदिलाई आफ्नो कलाकारिताको विषय बनाइन् ।

सन् १७६८ मा बेलायतमा स्थापना भएको रोयल एकेडेमी अफ आर्ट्सका ३६ जना संस्थापक सदस्यमध्ये एक कफमन कुशल चित्रकार मात्र नभई एक परिचित गायिका पनि थिइन् । उनको उत्कृष्ट चित्रकला “Self-portrait torn between Music and Painting” मा उनले दुईवटा बिधामा बाँडिएको आफ्नो मानसिकतालाई प्रस्तुत गरेकी छिन् । यस चित्रमा बीचका कफमनलाई उनको दायाँतिरबाट प्यालेट र ब्रस बोकेकी महिलाले आफूसँग जानलाई आग्रह गरिरहेझैँ देखिन्छ भने उनको बायाँतिर केही लेखिएको कागज बोकेकी महिलाले उनको हात समाएर केही आग्रह गरिरहेको देखिन्छ । यो चित्रकला उनले सन् १७९२ मा क्यानभासमा तेलरङ्गबाट तयार पारेकी हुन् ।

बर्थ मोरिसट
Edouard_Manet_resized
सन् १८७५ को मृत्यु प्रमाणपत्रमा (death certificate) कुनै पनि पेशा उल्लेख नगरिएकी बर्थ मोरिसट १९ औं शताब्दीका फ्रेन्च इम्प्रेसनिस्त कला आन्दोलन (१९ औँ शताब्दीमा पेरिस आधारित कलाकारहरुद्वारा सुरु गरिएको कला आन्दोलन) का सुरुवाती दिनदेखिकी सहभागी थिइन् । उनी इम्प्रेसनिज्मका सुरुवातका चित्रकलाहरुमध्येको ‘रिफ्युज इन नोरमाडी’ नामक चित्रकलाका श्रष्टा हुन् । यो चित्र उनले सन् १८६५ मा सृजना गरेकी थिइन् । यसमा उनले प्रयोग गरेका रङ्ग र छिटो तथा छोटो ब्रस स्ट्रोकहरुको प्रयोग गरेकी छिन् जुन शैली नै इम्प्रेसनिज्मका प्रमुख विशेषताहरु हुन् । यो एउटा ल्याण्डस्केप चित्र (कुनै भूमिको एक भागका आँखाले प्रत्येक्ष देख्न सक्ने विशेषताहरुको चित्रण गरिएको चित्रकला) हो, तर यसमा चलनचल्तीको ल्याण्डस्केपमा जस्तै आकाशलाई खुला फराकिलो नभई सानो वर्गाकारमा मात्र देखाइएको छ, जहाँबाट जंगलमा प्रकाश छिरेको आभाष हुन्छ । यसमा मोरिसटले प्रयोग गरेको गहिरो हरियो र पहेँलो रङ्गको सन्तुलनले जंगलको जीवन्तताको अनुभूति गराउँछ । सन् १८७४ मा उनीसँगै पिसारि, सिस्ली, रिनोयर, देगाज, सेजान, मोनेट आदि जस्ता कलाकारहरुले पहिलो इम्प्रेसनिस्त कला प्रदर्शनी गरेका थिए ।

जोर्जिया ओकिफ
Georgia_O'Keeffe
रङ्ग, मूल्य र रेखाजस्ता तत्वहरुद्वारा व्यक्तिगत भाव व्यक्त गर्नु नै कला हो भन्ने विश्वास गर्ने कलाकार जोर्जिया ओकिफ २० औं शताब्दीका फ्रिडा काहलोसँगै नाम आउने महिला कलाकार हुन् । २० औं शताब्दीको सुरुवाततिर कलाको केन्द्र पेरिसबाट न्यु योर्क अझै सरिसकेको थिएन । त्यतिबेला ओकिफलगायत जोन स्लोन, जोर्ज बेलोजस्ता अमेरिकन कलाकारहरुले वास्तविक जिवनका विषयहरुमा चित्र कोर्न सुरु गरेका थिए । उनीहरुले अमेरिकी शहरी जीवनलाई आफ्नो कलामा उतारेका थिए । तर, ओकिफ अरुभन्दा पनि उनको ‘ज्याक इन द पुल्पिट’ नामक कला श्रृङ्खलाका लागि प्रख्यात भइन् । यसमा उनले ठूल्ठूला आकारका क्यानभासमा फूलहरुलाई उतारेकी छिन् । उनका अनुसार यदि फुलहरुलाई विशाल मापनमा देखाइयो भने त्यसको सुन्दरतालाई उपेक्षा गर्न सकिँदैन । त्यसैले उनले यस्तो चित्रकला सृजना गर्ने निर्णय गरेकी हुन् ।

यी कलाकारहरु त प्रतिनिधि मात्रै हुन् । यस्ता थुप्रै सशक्त र महत्वपूर्ण कलाकारहरु इतिहासमा थिए, जसलाई आफ्नो समयमा त भेदभाव गरियो नै, आज पनि पितृसत्तात्मक सोच र व्यवहारले हावी समाजद्वारा उपेक्षा गरिएका छन् । तर, अब कला इतिहासको पुनर्लेखन हुन जरुरी छ, जहाँ कुनै पनि प्रकारको भेदभाव नरहेको होस् । पितृसत्तात्मक समाज र व्यवस्थाका कारण इतिहासका पानाहरुमा गुम्नाम रहेका यी कलाकारहरुका कलाकृतिहरुलाई बाहिर ल्याउनु जरुरी छ । अन्यथा ती दबिएका र लुकाइएका सृजनाहरु ‘गुरिल्ला गर्ल्स’हरुका रुपमा आफैं आन्दोलित हुनेछन् ।

(Visited 645 times, 1 visits today)

टिप्पणी

comments