Main Menu

चुनावी गतिविधिलाई तीव्रता दिँदै इलामका राजनीतिक दल

चैत्र २३, इलाम । स्थानीय तहको निर्वाचन आउन करिब ३९ दिन मात्र बाँकी छँदा जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् ।

ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनौटको तयारी गरिरहेका हुन् ।

चुनाव घोषणापछि जिल्लाका नेताहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् । यहाँका अधिकांश राजनीतिक दल स्थानीय निकायको पुनःसंरचना अनुरूप दलको संरचना बनाउने गृहकार्यमा लागिपरेका छन् । नेपाली काँग्रेसले हालै जिल्ला सदरमुकाममा सम्पन्न गरेको तीन दिने प्रशिक्षणमा स्थानीय तह अन्तर्गत पार्टीको संरचना बनाउने तयारी थालेको जनाएको छ ।

स्थानीय तहअनुसार पार्टीको संरचना बनाएर चुनावी तयारीमा लागिसकेको काँग्रेसका जिल्ला सचिव खगेन्द्र देवानले बताए ।

सचिव देवानले भने, “पार्टीको पुनःसंरचनापछि उम्मेदवारबारे निर्णय गरेर चुनावमा लाग्छौं, स्थानीय निकायको पुनःसंरचना ढिला आएकाले छिटो-छिटो गरेर चुनावी तयारीलाई समेत तीव्रता दिएका छौँं ।”

नेकपा (एमाले) ले पनि चुनावको तयारी ब्यापक रूपमा गरिरहेको जनाएको छ । राष्ट्रिय कार्यक्रमअन्तर्गत संविधान कार्यान्वयनका लागि जागरण अभियान गाउँ-गाउँमा सञ्चालन गरेको सो दलले आफ्ना सबै मोर्चासँग बसेर छलफल गर्ने र मतदातासँगको सम्पर्क सहकार्यलाई बाक्लो बनाउँदै चुनावी वातावरण बनाउने काम गरिरहेको एमाले उपसचिव उमेश गुरूङले जानकारी दिए । “स्थानीय तहअनुसार पार्टी कमिटीको संरचना बनाउँदै चुनावी तयारीमा लागेको उनले बताए ”।

तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले पनि स्थानीय तह अनुसार पार्टी कमिटीलाई समायोजन गर्ने र उम्मेदवार छनौटको अन्तिम तयारी गरिरहेको जनाएको छ । प्रदेशको बैठकले नयाँ संरचनाअनुसार पार्टीका कमिटीलाई समायोजन गर्ने निर्णय भएकाले सोहीअनुसार काम गरिरहेको माओवादी केन्द्रका इन्चार्ज धीरेन्द्र शर्माले बताए ।

नेताले कार्यकर्ता र मतदातासम्म पुगेर भेटघाटलाई बाक्लो बनाउँदै लगेका छन्, अब एक-दुई दिनभित्रै उम्मेदवारको टुङ्गो लगाएर चुनावी कार्यक्रमलाई तीव्रता दिने उनले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार इलाममा १७ वटा राजनीतिक दलले दल दर्ता गराइसकेको जिल्ला निर्वाचनका कार्यालय प्रमुख प्रेम काफ्लेले बताए । कार्यालयले मतदाता शिक्षा, निर्वाचन अधिकृतको कार्यालय, कर्मचारी व्यवस्थापनको कामसमेत तीव्र रूपमा भइरहेको जनाएको छ ।

(Visited 80 times, 1 visits today)

टिप्पणी

comments