Main Menu

माओवादीले क्रान्ति छाडेको छैन – अध्यक्ष दाहाल

 

असोज ५, गोरखा

maoist-undeterred-revolution-dahalनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपनि माओवादीले क्रान्ति नछाडेको बताएका छन् ।

गोरखा नगरपालिकास्थित दशकिलोमा कार्यकर्तालाई बुधवार प्रशिक्षण दिँदै उनले विचार र कार्यदिशामा प्रष्टता नहुँदा माओवादीले जनताबाट भोट तान्न नसकेको बताए ।

“माओवादी विचार र लाइनमा अस्पष्ट भएजस्तो देखियो । जनयुद्धताका के गर्ने, कसो गर्ने भन्ने स्पष्ट थियो, शान्ति प्रक्रियापछि रुमलिएको जस्तो भएको छ । पार्टी र नेता बिग्रिएका हुन् कि, कार्यकर्ता अल्छी भएका हुन् कि जस्तो भयो,” उनले भने ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउँदा पार्टी र नेताबाट केही गल्ती भएको स्वीकार्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियापछि प्रतिक्रियावादीले माओवादी पार्टीलाई फुटाएको आरोप लगाए । नेता, कार्यकर्तामा जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आउनु हुन्थ्यो वा हुँदैनथ्यो भन्ने भ्रम बाँकी रहेको भन्दै उनले माओवादीले क्रान्ति नछाडेको र निरन्तर क्रान्तिमै रहेको प्रष्टीकरण दिँदै भने, “शान्ति प्रक्रियामा आउनु ठिक हो वा होइन भन्ने ‘कन्फ्युजन’ छ । शान्ति प्रक्रियामा आउनु ठिक हो । जनयुद्ध मात्रै गरेको भए पेरुको जस्तो माओवादीको अस्तित्व नै सकिन्थ्यो ।”

माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द, डा. बाबुराम भट्टराई र मोहन वैद्यको नीति ठिक छैन भन्ने जनताको अभिमतबाट देखिएको बताउँदै अध्यक्ष दाहालले भने, “मार्क्सवादलाई लात हानेर गएका बाबुरामविरुद्ध सच्चा मार्क्सवादी गोरखा क्षेत्र नं २ मा उठाउँछौँ ।”

पूर्वप्रधानमन्त्री दाहालले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत एजेण्डा माओवादीको भए पनि जनतालाई बुझाउन नसक्दा माओवादी पराजित भएको बताए । माओवादीले बास्मती चामल फलाएर पनि बिक्री गर्न नसकेको भन्दै अध्यक्ष दाहालले अरु दलहरुले कुहिएको पीठो बिक्री गरेको टिप्पणी गरे ।

(Visited 140 times, 1 visits today)

टिप्पणी

comments