Main Menu

संगठनभित्र गुटबन्दी व्याप्त छ, वैचारिक संघर्ष निक्कै कम्जोर छ- नारायणकाजी

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

साउन ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीभित्र गुटबन्दी व्याप्त भएको, बैचारिक संघर्ष निकै कमजोर भएको र स्वार्थ रक्षा प्रमुख बन्दै गरेको बताएका छन् । नेता प्रकाशले उक्त कुरा पार्टी मुख्यालय पेरिसडाँडामा चलिरहेको केन्द्रीय सचिवालयको विस्तारित बैठकलाई आज सम्वोधन गर्दै बताएका हुन् ।

उनले भने, ‘माओवादीको दायित्व देशभित्र क्रान्ति र क्रान्तिकारीहरुको रक्षा तथा विकासमा मात्र होइन कम्युनिस्ट आन्दोलनको विश्वव्यापी नेतृत्वसमेत गर्नुपर्ने रहेको छ । तर, अहिले त्यस्तो गर्न सकिएको छैन । हाम्रो जिम्मेवारी माक्र्सवाद, लेनिनवाद एवं माओवादको रक्षा र विकाससमेत गर्नु रहेको छ ।’

नेता श्रेष्ठले बैठकमा यदि हालको स्थितिलाई निरन्तरता दिने हो भने पार्टीको विघटन निश्चित भएको चेतावनी दिए । उनले पार्टीलाई रुपान्तरण गर्नु नै अहिलेको मुख्य आवश्यकता भएको बिचार व्यक्त गरे । त्यस्तै गरी वरिष्ठ नेता प्रकाशले वर्तमानमा पार्टीभित्र अराजक जनवाद हावी भएको विश्लेषण गर्दै गुटहरु खारेज गर्नुपर्नेमा जोड दिए । ‘गुटहरुले बैचारिक संघर्षलाई भन्दा पार्टीभित्रको सत्ता कब्जा र सिमित रुपमा प्राप्त सुविधाहरु कब्जा गर्ने मानसिकता मात्र निर्माण गरेको छ ।’ नेता श्रेष्ठले भने ।

पार्टीभित्र साँस्कृतिक स्तर निकै तल खस्किएको कुरालाई औंल्याउँदै वरिष्ठ नेता श्रेष्ठले पार्टी जीवनमा सर्वहारा साँस्कृतिक रुपान्तरणलाई बढी जोड दिइनुपर्ने धारणा बैठकमा राखेको कुरा पेरिसडाँडा स्रोतले बतायो ।

बैठकमा अर्का नेता टोपबहादुर रायमाझीले पार्टीले गल्तिहरुबाट पाठ सिक्दै आएकोले अब सुधृढ हुने विश्वास व्यक्त गरे । उनले आफूसँग कुनै गुट नरहेको उल्लेख गर्दै केही व्यक्तिहरुलाई गुट सञ्चालनको रहर लागेको आफूले देखेको बताए । अर्का नेता अमिक शेरचनले विचार र संगठन नै जनताको मत पाउने प्रमुख आधार भएको उल्लेख गर्दै पार्टी पछिल्लो पटक वैचारिक अस्पष्टतामा फस्दै गएको बताए ।

बैठकमा मणि थापा र टंक राईले पार्टीको मुख्य बल नै जनयुद्ध र जनआन्दोलन भएको विषय प्रष्ट पार्दै त्यसले स्थापित गरेका मान्यताहरुलाई पछ्याउन नसक्दा पार्टी कमजोर बन्दै गएको बताए । आजको बैठकमा अर्का नेता कृष्णबहादुर महराले पनि बोलेका थिए ।

(Visited 209 times, 1 visits today)

टिप्पणी

comments