Main Menu

नेपाल र रुसबीचको सम्बन्ध द्विपक्षीय र प्रगतिशील – उपप्रम महरा

 

nepal-russia-relation-61-yrs-mahara

नेपाल र गणतन्त्र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ वर्ष पूरा भएको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी भएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत । तस्बिर – रत्न श्रेष्ठ, रासस

साउन ५, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र रुसबीच आपसी विश्वास र सहकार्यका साथ सम्बन्ध बढिरहेको बताएका छन् ।

नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वर्ष पुगेका अवसरमा आज ‘नेपाल–रुसमैत्री एवं सांस्कृतिक संघ’ले आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीचको सम्बन्ध थप गतिशील र विविध क्षेत्रमा बिस्तार हुँदै गएको बताए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री महराले दुई देशबीच सन् १९६५ मा सम्बन्ध स्थापना भएयता सदैव सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध द्विपक्षीय र प्रगतिशील रहेको बताए ।

“यो ६१ वर्षमा दुई देशका सरकार नजिकबाट सहकार्य गर्दै आएका छन् । द्विपक्षीय मात्रै नभई क्षेत्रीय, बहुपक्षीय फोरम र संयुक्त राष्ट्रसंघमा समेत सहकार्य हुँदै आएको छ ।” मन्त्री महराले भने ।

उपप्रधानमन्त्री महराले यो सम्बन्धलाई आपसी हित, व्यापार, आतंकवादविरुद्ध, जलवायु परिवर्तन र दिगो विकासका लागि प्रयोग गर्न सकिने बताउँदै नेपालको आधुनिकीरण गर्न भौतिक पूर्वाधार र औद्योगिक क्षेत्रमा रुसले गरेको योगदानको प्रशंसा गरे ।

नेपालीलाई विशेषगरी प्राविधिक जनशक्ति निर्माणका लागि रुसले प्रदान गरेको छात्रवृत्तिको सराहना गर्दै उनले रुसको प्रविधि जलविद्युत् आयोजना र औद्योगिक क्षेत्रमा भित्र्याउन नेपाल इच्छुक रहेको बताए ।

(Visited 123 times, 1 visits today)

टिप्पणी

comments