Main Menu

नेपालको मौलिक नेपाल संवत

नव वर्ष ११३६ कार्तिक २६ बाट प्रारम्भ

नेपाल संवतका जन्मदाता शंखधर साख्वाको प्रतिमा

नेपाल संवतका जन्मदाता शंखधर साख्वाको प्रतिमा

आजभन्दा ७० वर्ष अगाडिसम्म राज्यको कामकाजमै प्रचलनमा रहेको नेपाल संवतलाई पूर्ण रुपमा हटाउने काम राणा प्रधानमन्त्री चन्द्र शमशेरले गरेका हुन् । ११३६ वर्ष पहिले जनताप्रति अत्यन्त वफादार तथा जनकल्याणकारी व्यापारी शंखधर साख्वाले सुरु गरेको नेपाल नामले स्थापित र नेपालको मौलिकता बोकेको यो संवत वास्तवमा नेपाली राष्ट्रियताको प्रवर्धनका लागि अचुक अस्त्र हो । कार्तिक २६ को दिन नेपाल संवतको नयाँ वर्षको दिन हो । कार्तिक २६ बाट नव वर्ष ११३६ को प्रारम्भ भएको छ । राष्ट्रिय गौरवमा विश्वास गर्ने सबै नेपालीहरुले आज देशभर बिभिन्न कार्यक्रम गरी नव वर्ष नेपाल संवत ११३६ लाई स्वागत गरिरहेका छन् । काठमाडौं, विराटनगर, पोखरा, विरगञ्ज, हेटौंडा, नारायणगढ आदि देशका प्रमुख शहरहरुमा अहिलेको नाकाबन्दीको अवस्थामा पनि नव वर्षका बिभिन्न कार्यक्रमहरु मनाइए ।

पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकालाई आफ्नो कब्जामा राखिसकेपछि उसले नेपाल देशको राजधानी काठमाडौंलाई नै बनाए । तर, उनले राज्यको कामकाजमा नेपाल संवतको सट्टामा शक संवतलाई प्रचलनमा ल्याए । यति हुँदाहुँदै पनि उनले नेपाल संवतलाई पूर्ण रुपमा हटाउन भने सकेनन् । नेपाल संवत र शक संवत सँगसँगै प्रचलनमा रहँदै आए । सन् १७७५ मा तिब्बतसँग भएको सन्धिमा नेपाल संवत ८९५ नै उल्लेख गरिएको पाइन्छ । तर, पछाडि राणाहरुले पृथ्वी नारायण शाहले ल्याएको शक संवत र त्यसअघिसम्म चल्दै आएको नेपाल संवतलाई विक्रम संवतद्वारा प्रतिस्थापन गरे । र, नेपाल संवतलाई राणा प्रधानमन्त्री चन्द्र शमशेरले पूर्णतः हटाए मात्र होइन, त्यसलाई प्रतिबन्ध नै गरे ।

नेपाल संवतलाई पुनः राष्ट्रिय मान्यता दिलाउन र राज्यको कामकाजमा प्रयोग गराउनका लागि सन् १९२० को दशकमा धर्मादित्य धर्माचार्यले थालनी गरेको अभियानलाई आजभन्दा ३६ वर्षअगाडि नेपालभाषा मंका खलः नामको संस्थाको जन्मपछि त्यसै संस्थाको अगुवाइमा निरन्तर अभियानहरु चल्दै आए । यो अभियान २०४६ को जनआन्दोलनपश्चात स्थापित बहुदलीय व्यवस्थामा तीब्र बनी २०६२/६३ को दोश्रो जनआन्दोलनपश्चात् स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएको अहिलेको अवस्थामा थप व्यापक बनेको छ । यसै क्रममा नै गणतन्त्र प्राप्तिपछि सरकारले २०६५ मा यस संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता प्रदान गर्यो भने २०६८ कार्तिकमा यसलाई देशको राष्ट्रिय पात्रोमा समावेश गर्ने निर्णय गर्यो । सरकारले यो संवतलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन के कस्तो परिमार्जन गर्नुपर्ने हुन्छ त्यसको लागि आवश्यक सुझाव दिन एउटा सिफारिस समिति पनि निर्माण गरेको थियो । तर, अहिलेसम्म त्यो काम पूरा भएको छैन ।

तराई–मधेशमा चर्केको आन्दोलनको निहुमा भारतले गरेको अघोषित नाकाबन्दीले अहिले नेपाल देशको सार्वभौमसत्ता र राष्ट्रियताबिरुद्ध वैदेशिक षडयन्त्र भएको महसुस सबै नेपालीले गरिरहेको अहिलेको परिस्थितिमा सम्पूर्ण नेपालीहरुलाई एउटै राष्ट्रियताको सूत्रमा बाँध्न नेपाल संवतको आन्दोलन र अभियानले थोरै भए पनि सघाउने पक्का छ । हामी मूल्याङ्कन परिवार नव वर्ष नेपाल संवत ११३६ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

(Visited 193 times, 1 visits today)

टिप्पणी

comments