Main Menu

धान दिवसका अवसरमा नुवाकोटमा स्रष्टाहरु सम्मानित

 

असार १६, नुवाकोट । चौधौँ राष्ट्रिय धान दिवसका अवसरमा देशभर रहेका विभिन्न साहित्यिक स्रष्टाहरु नुवाकोटमा सम्मानित भएका छन् । नुवाकोट साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, कृति विमोचन तथा साहित्यिक गोष्ठी आयोजना गरी बिहीबार महामण्डल साहित्य सम्मान–२०७४ बाट तीनजनालाई सम्मान गरेको हो ।

सम्मान पाउनेमा मकवानपुरका मुना अर्याल, बाँकेका शान्ति अधिकारी र नवलपरासीका लोकनाथ खराल रहेका छन् । नुवाकोट साहित्य सम्मान–२०७४ नुवाकोट बेलकोटगढी नगरपालिका–७ रातमाटेका देउती दीर्घायुलाई प्रदान गरिएको छ ।

नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याएर स्नातकोत्तर तह उत्तीर्ण भएका बालकृष्ण त्रिपाठीलाइ रु. २५ हजार र नुवाकोटबाट सम्पन्न एसइई परीक्षामा जिल्लाको उत्कृष्ट अङ्क ल्याएकी सुभेनियर बोर्डिङ स्कुलका दीपिका सिटौलालाई रु. ५ हजारसहित सम्मान गरिएको छ ।

नुवाकोट साहित्य प्रतिष्ठानले असार १५ मा गर्दै आएको स्रष्टा सम्मानले नेपाली साहित्य, कला तथा लेखन क्षेत्रमा ऊर्जा थपिँदै गएको नरेन्द्र वाङ्मय निधि प्रतिष्ठानका अध्यक्ष डा. भूपहरि पौडेलले बताऐ ।

कार्यक्रममा मकवानपुरका अप्सरा तिमिल्सिना, अनिता न्यौपाने, दाङका भावना न्यौपाने, नुवाकोटका शम्भुप्रसाद शर्मा, शिवसुन्दर पुडासैनी, जानुका दाहाल, भगवती खनाल, प्रमिला परी, श्रीधर पाण्डे आदर्श, राजकुमार ‘पुत्ला’, बद्रिवृन्द गजुरेल, बासु ठकुरी लगायतका स्रष्टाहरुले रचना वाचन गरेका थिए ।

नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले किसानसँगै साहित्यलाई अघि बढाउन असार १५ मा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।

प्रतिष्ठानले पछिल्लो ५ वर्षदेखि असार १५ मा मुलुकभरका उत्कृष्ट स्रष्टालाई सम्मान एवम् राष्ट्रियस्तरको रचना वाचन कार्यक्रम गर्दै आएको छ ।

(Visited 118 times, 1 visits today)

टिप्पणी

comments