Main Menu

इन्धन अभाव विस्तारै कम हुने संकेत

भारतबाट बढी तेल भित्रिन थाल्यो

जोगबनीबाट इन्धन ट्यांकर नेपाल प्रवेश गर्दै

जोगबनीबाट इन्धन ट्यांकर नेपाल प्रवेश गर्दै

 

कार्तिक १४, काठमाडौं । चीनबाट अनुदानमा तेल आउने प्रक्रिया सुरु भए सँगसँगै भारतले तेल बोकेका ट्यांकरहरु यसअघिभन्दा बढी सङ्ख्यामा पठाउन थालेको छ । शुक्रवार रक्सौलबाहेकका बिभिन्न नाकाहरु भई भारतबाट २ सय ३७ वटा पेट्रोलियम पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिए । त्यसरी नेपाल भित्रिनेमा पेट्रोलियम ट्यांकर तथा ग्याँस बुलेट दुबै परेका छन् । नेपाल भित्रिने पेट्रोल ट्यांकरहरु २ सयभन्दा बढी सङ्ख्यामा रहेको बताइन्छ । स्मरणीय के छ भने शुक्रवार नै नेपाल आयल निगमले चीनले अनुदानमा प्रदान गर्ने पेट्रोल लिनका लािग १२ वटा ट्यांकरहरु केरुङ पठाएको थियो ।

विराटनगरको रानी भन्सार कार्यालयले जानकारी गराए अनुसार शुक्रवार जोगवनी नाकाबाट ९३ वटा डिजेल, २८ वटा पेट्रोल र १७ वटा ग्याँस बुलेट गरी जम्मा १ सय ३८ वटा पेट्रोलियम बोकेका गाडीहरु नेपाल भित्रिए । रानी भन्सार कार्यालयका अधिकारीहरुका अनुसार शुक्रवार जोगवनी नाकाबाट नेपाल भित्रिएका ट्यांकरहरुको सङ्ख्या सामान्य अवस्थामा भन्दा तीन दोब्बर रहेको छ । सामान्य अवस्थामा त्यस नाकाबाट दैनिक ४० इन्धन ट्यांकर नेपाल भित्रिने बताइन्छ ।

भैरहवाको बेलहिया नाकाबाट पनि यसअघिभन्दा बढी सङ्ख्यामा पेट्रोलियम ट्यांकरहरु शुक्रवार नेपाल प्रवेश गरेको भैरहवा भन्सार अधिकृतले बताएका छन् । सो कार्यालयका अनुसार बेलहियाबाट विहीवार ४१ वटा डिजेल, ४ वटा पेट्रोल र २० वटा ग्याँस बुलेट नेपाल प्रवेश भए ।

त्यस्तै गरी शुक्रवार नै नेपालगन्ज नाकाबाट १४ वटा डिजेल र ३ वटा मट्टितेल गरी जम्मा १७ वटा इन्धन ट्यांकरहरु नेपाल प्रवेश भए । सुदूरपश्चिमको नाका कैलालीको गौरीफन्टाबाट शुक्रवार १३ डिजेल र एउटा पेट्रोल ट्यांकर नेपाल प्रवेश भएको खबर छ । पूर्वाञ्चलको काकडभित्ता नाकाबाट भने विहीवार जम्मा २ वटा डिजेल ट्यांकर मात्र नेपाल प्रवेश भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

७० प्रतिशतभन्दा बढी इन्धन आयात हुने रक्सौल नाकाबाट भने शुक्रवार पनि कुनै गाडी नेपाल प्रवेश हुन सकेन । त्यहाँ संयुक्त मधेसी मोर्चाको धर्ना अझै जारी नै रहेको छ ।

यसैबीच शुक्रवार नेपाल चेम्बर अफ कमर्सको टोलीसँगको भेटवार्तामा वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सेना परिचालन गरेरै भए पनि वीरगञ्जस्थित सुख्खा बन्दरगाह संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आन्दोलनकारी मधेसी मोर्चाका कार्यकर्ताहरुले मालवाहक गाडीहरुमा आगजनी तथा तोडफोड गर्ने कार्य जारी राखेकाले सरकार सेना परिचालनको तयारीमा लागेको बताइन्छ ।

(Visited 137 times, 1 visits today)

टिप्पणी

comments