Main Menu

नक्कली हावा – मातृका पोखरेलको कविता

कवि मातृका पोखरेल

कवि मातृका पोखरेल

नक्कली हावाले
किन पठाइरहेको छ
आँधी आउने हल्ला
र बगाइरहेको छ तातो हावा।

कस्तै गर्मीमा पनि
छालाले स्पर्श गर्दैन
चिसो बतासको स्वाद
नाकका पोराहरूमा
कुनै सुगन्ध आउदैन माटोको
यो तातो हावामा मच्छरहरू हराउन जरुरी थिएन 
हराएन पनि, 
बच्चाहरुको शरिरमा घमौरा  हराउन जरुरी थिएन 
हराएन पनि,
खेतबारीमा काम गरिरहेका मानिसहरुको 
पसिना ओवाउन जरुरी थिएन 
ओवाएन पनि, 
कसले कहाँबाट र किन पठाइरहेछ 
यो नक्कली तातो हावा 
हिजो आज सबै चौतारोहरुमा 
चिया पसलहरुमा 
निधार खुम्च्याएर  
यही कुरा सोचिरहेका छन् मानिसहरू । 
हावा त आखिर सल्लाघारी छिचोलेरै आएको थियो
ठुलठुला अक्करहरु नाघेरै आएको थियो
हिमालका चिसा भन्ज्यांगहरु छिचोलेरै आएको थियो
उ आउने सूचना
ठुलै हल्ला बनेर आएकै थियो। 
स्केच : वनटुथ्रीआरएफ डटकम

स्केच : वनटुथ्रीआरएफ डटकम

 

हल्ला त
गाउँ हुँदै सहर गएकै हो
जसको केही उड्नु थिएन र उडाउनु पनि थिएन
तिनीहरु स्वागत गर्न बसेकै हुन्
हुण्डरीले जसका केही टपरार दुनाहरु उडाउदै थियो
तिनीहरु बिरोधमा बसेकै हुन्

आँधी / हुण्डरीले केही नउडाए पछि
बिरोधमा बसेकाहरु
सारै खुसीछन् यतिबेला,
आँधी / हुण्डरीले केही नउडाए पछि
स्वागतमा बसेकाहरु 
सारै दु:खी छन् यतिबेला
नक्कली हावाले
किन पठाइरहेको छ
आँधी आउने  हल्ला 
र बगाइरहेको छ तातो हावा। 

(कवि मातृका पोखरेल प्रगतिशील लेखक संघका उपाध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हुन् । उनका तीन कविता संग्रह र दुई कथासंग्रह प्रकाशित छन् । ‘अनुहारहरु’ उनको पछिल्लो कविता संग्रह हो ।)
(Visited 551 times, 1 visits today)

टिप्पणी

comments