Main Menu

जनमुक्ति सेनाको कमान्डरदेखि सम्माननीयसम्मको यात्रा

उपराष्ट्रपतिमा माओवादी नेता पासाङ

Nanda Kishor Pun

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ । फोटो स्रोत : कान्तिपुर ।

कात्तिक १५, काठमाडौं । एमाओवादी नेता नन्दबहादुर पुन (पासाङ) गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा विजयी भएका छन् । माओवादी जनयुद्धमा जनमुक्ति सेनाको कमान्डर रहेका युवा नेता पुन शनिबार व्यवस्थापिका–संसदमा भएको निर्वाचनमा उपराष्ट्रपति चुनिएका हुन् ।

एकीकृत माओवादीको स्थायी समिति सदस्य रहेका पुनले नेपाली कांग्रेसका उपराष्ट्रपति उम्मेदवार अमियकुमार यादवसँग प्रतिस्पर्धा गरेका थिए । कूल ५ सय ४७ मतमा पुनका पक्षमा ३ सय २५ मत परेको थियो भने यादवका पक्षमा २ सय १२ मत खसेको थियो । १० मत बदर भएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, जनमुक्ति सेनाको कमान्डर हुँदा ।

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, जनमुक्ति सेनाको कमान्डर हुँदा ।

२०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धमा पुन निरन्तर छापामार दस्ता हुँदै जनमुक्ति सेनाको कमान्डर समेतको भूमिकामा रहेका थिए । माओवादी आन्दोलन संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको कार्यनीति सहित शान्तिप्रक्रियामा आएपछि उनी जनमुक्ति सेनाको प्रमुख कमान्डर रहेका थिए ।

पार्टीभित्र नन्दकिशोर पुन ‘पासाङ’ नामले परिचित पुन सेना समायोजन प्रक्रियापछि पार्टी राजनीतिमा सक्रिय थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं क्षेत्र नं. ४ को उम्मेदवार समेत रहेका थिए ।

रोल्पाको राङ्सीमा २०२२ सालमा जन्मिएका पासाङले जनयुद्धका बेला भएका ठूल्ठूला सैन्य कारवाहीको प्रत्यक्ष नेतृत्व गरेका थिए । दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी, रोल्पाको गाम र लिस्ने आक्रमण उनकै नेतृत्वमा भएको थियो ।

गणतन्त्र नेपालको दोस्रो ठूलो पदमा जनयुद्धको कमान्डर विजयी हुनुलाई माओवादी जनयुद्ध पछिल्लो राजनीतिक परिवर्तनको आधार भएको कुरालाई पुष्टि गरेको राजनीतिक विश्लेषण समेत गरिएको छ ।

संविधानसभाबाट बनेको संविधानअन्तर्गत पहिलो पटक राष्ट्रपति र सभामुखमा महिला र उपराष्ट्रपतिमा जनजाति नेता चुनिनुलाई पनि लोकतान्त्रिक अभ्यासमा फेरिएको समावेशी चरित्रको रुपमा लिइएको छ ।

(Visited 652 times, 1 visits today)

टिप्पणी

comments