Main Menu

पद्म खड्का कम्युनिस्ट र शैक्षिक आन्दोलनमा सधैँ स्मरणीय–नारायणकाजी

पुस ९, ललितपुर

पद्म खड्का स्मृतिसभामा बोल्दै नारायणकाजी श्रेष्ठ ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले दुई वर्षअघि हृदयघातका कारण मृत्यु वरण गरेका वौद्धिक व्यक्तित्व एवं ललितपुरको पुल्चोकस्थित इञ्जिनीयर क्याम्पसका वरिष्ठ प्राध्यापक बितेका पद्म खड्का ‘नेपाली कम्युनिस्ट आन्दोलनमा मात्र नभई शैक्षिक आन्दोलनमा पनि सधैँ सम्झिरहनुपर्ने व्यक्तित्व भएको’ धारणा व्यक्त गरेका छन् । नेता श्रेष्ठले हिजो पुस ८ गते पुल्चोक क्याम्पसमा बितेका पद्म खड्काको दोश्रो स्मृति सभा एवं ‘पद्म खड्का स्मृति पुस्तक’ विमोचन समारोहलाई सम्वोधन गर्दै उक्त कुरा व्यक्त गरेका हुन् ।

उनले पद्म खड्का निःस्वार्थी र निजी कामका लागि कहिल्यै भनसुन गराउनतिर नलाग्ने व्यक्ति भएको स्मरण गराए । शिक्षण पेशामा लागेरै देश र जनताका लागि आफ्नो सम्पूर्ण जीवन अर्पेका व्यक्तित्व बितेका पद्म खड्का रहेको तथ्य प्रस्तुत गर्दै नेता नारायणकाजीले भने, “पद्म खड्का एक सिद्धान्तनिष्ठ र सरलताका नमुना हुनुहुन्थ्यो र साथै उनी अप्ठेरो समयमा बैचारिक र राजनैतिक क्षेत्रमा समेत सल्लाह दिने साथी हुनुहुन्थ्यो”

नेता श्रेष्ठले भर्खरै सम्पन्न संघीय संसद र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको नतिजालाई इङ्गित गर्दै भने, “अहिले हामी विजय उल्लासभन्दा पनि जिम्मेवारीवोध गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने ठाउँमा पुगेका छौं । त्यस्तै हामीले सामाजिक न्याय सहितको विकास र समृद्धि पनि ल्याउनु छ । यो काम गर्न सक्यौं भने मात्र पद्म खड्काको सपना साँच्चीकै रुपमा हामीले पूरा गरेका हुनेछौं”

उनले अहिले बैचारिक राजनैतिक आधारबाट कति पनि बिचलित नभई कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने र यसलाई नयाँ ऐतिहासिक सन्दर्भमा पुनर्गठन गरिनुपर्ने कुरामा जोड दिए ।

पद्म खड्का स्मृति पुस्तक विमोचन गरिँदै ।

समालोचक निनु चापागाईंको सभापतित्वमा सञ्चालित उक्त पद्म खड्का स्मृति सभामा पद्म खड्काको स्मृतिमा उनीसँग नजिकका बिभिन्न व्यक्तित्वहरुको संस्मरणलाई समेटी प्रकाशित गरिएको ‘पद्म खड्का स्मृति पुस्तक’ सभामा सहभागी सबैले एकसाथ सार्वजनिक गरी विमोचन गरियो ।
उक्त पुस्तक प्रकाशनका लागि सम्पादक मण्डलमा बसी मूल मियोको रुपमा काम गरेका, बितेका पद्म खड्काका अनन्य मित्र एवं साहित्यकार इस्मालीले सभालाई सम्वोधन गर्दै पद्म खड्काले आफ्ना आँखा, छाला एवं सम्पूर्ण शरीर नै दान गरेर गएको कुरा बताए ।

साहित्यकार इस्मालीले पद्म खड्का साँच्चीकै सामाजिक इञ्जिनीयर भएको कुरा लामो समयदेखि नेपालमा बसी नेपाली समाज, संस्कृति र आन्दोलनलाई नजिकबाट अध्ययन अनुसन्धानमा जुटेकी क्यानाडाली मानवशास्त्री डा. मेरी डेसिनले बताएको जानकारी गराए ।

पद्म खड्का स्मृति पुस्तक विमोचन गरिँदै ।

सो स्मृतिसभामा वाम बौद्धिक श्याम श्रेष्ठ, पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख, पुल्चोक क्याम्पसका प्राध्यापकहरु त्रिरत्न बज्राचार्य र सुरेन्द्र श्रेष्ठले बितेका पद्म खड्काबारे आआफ्ना संस्मरणहरु सुनाए । बितेका पद्म खड्काका सुपुत्र आकाश खड्काले आफ्ना बुबाले उनलाई मात्र होइन समाजका सबै छोराहरुलाई आफ्नै छोरा सम्झेर व्यवहार गर्ने स्मरण सुनाए । उनले आफ्नो बुबालाई स्मरण गर्न गरिएको उक्त कार्यक्रमले स्वयं आफूलाई पद्म खड्कालाई चिन्न मद्दत गरिदिएकोले आयोजकलाई धन्यवाद दिए । स्मृति सभामा पद्म खड्काकी धर्मपत्नी शोभा खड्काको पनि उपस्थिति रहेको थियो ।

स्मृतिसभालाई समापन गर्दै कार्यक्रमका सभापति एवं समालोचक निनु चापागाईंले भने, “पद्म खड्का सबै कुरालाई सकारात्मक रुपमा लिने मेहनती व्यक्ति हुनुहुन्थ्यो । उहाँका छोराहरुले उहाँलाई बाबुभन्दा पनि साथीको रुपमा भएको व्यक्त गर्ने गर्थे” ।

समालोचक चापागाईंले बितेका पद्म खड्का आलोचनात्मक चेत भएका वौद्धिक व्यक्तित्व भएको बताए । उनी कम्युनिस्ट पार्टीको सदस्य एवं त्यस निकटको बौद्धिक संगठनका नेता भएर पनि कहिल्यै पार्टीको कुरालाई आँखा चिम्लेर हाँमा हाँ मिलाउने काममा नलागेको कुरा समालोचक चापागाईंले स्मरण गराए । सही कुरालाई सही र गलत कुरालाई गलत भन्न हिम्मत गर्ने व्यक्तित्व रहेको कुरा उनले सभामा सुनाए ।

फोटो : हीरा महर्जन/ईमूल्याङ्कन

(Visited 129 times, 1 visits today)

टिप्पणी

comments