Main Menu

पारिजात सृजन सम्मान पोखरेललाई

वैशाख २८, काठमाडौं

यस वर्ष पारिजात  सृजन सम्मान -२०७४ बाट वरिष्ठ समालोचक डि.आर.पोखरेललाई प्रदान गरिएको छ । वि.स. २०११ सालमा ओखलढुङ्गाको बितलब, रुम्जाटारमा जन्मिनु भएका डिल्लीराम पोखरेल नै साहित्यकार डि.आर.पोखरेल हुनुहुन्छ । हाल चितवनको भरतपुरमा बसेर साहित्य सिर्जनामा लागिरहनु भएका पोखरेलका समालोचना, निबन्ध, जीवनी, संस्कृति आदि विषयमा एक दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशित छन् । सुप्रसिद्ध साहित्यकार पारिजातका सम्पूर्ण रचनाहरु अध्ययन गरेर समालोचनाको पूर्ण कृति सिर्जना गर्ने उहाँ नै एक्लो समालोचक हुनुहुन्छ । हरेक वर्षझैं यस वर्ष पनि पारिजात स्मृति केन्द्रले ‘पारिजात सृजन सम्मान’ पुरस्कार प्रदान गर्ने क्रममा हिजो उहाँलाई सो सम्मानबाट सम्मानित गरिएको हो । पारिजात स्मृति केन्द्रका वर्तमान अध्यक्ष एवं वरिष्ठ जनकलाकार रायन श्रेष्ठले साहित्यकार पोखरेललाई नगद र प्रशंसाको ताम्रपत्र प्रदान गरी सम्मान गरिएको हो ।

त्यस्तै गरी सोही कार्यक्रममा यस वर्षको ‘पारिजात बाल साहित्य सम्मान-२०७४’ बाट वरिष्ठ बाल साहित्यकार प्रभात सापकोटालाई प्रदान गरिएको छ । सम्मान ग्रहणको क्रममा उहाँले ‘छेक्न सक्छ को ?’ भन्ने व्यङ्गात्मक बाल कविता वाचन गर्नुभएको थियो । भारतीय नाकाबन्दीलाई बिरोध र व्यङ्य गरिएको उक्त कविता वाचनले सहभागीहरुमा राष्ट्रियताको भाव सहित साहित्यको रसास्वादन गराउनमा सफल बन्यो ।

‘पारिजात सङ्घर्षशील नारी सम्मान’ पुरस्कारबाट भने एमाले महिला नेतृ अष्टलक्ष्मी शाक्य सम्मानित हुनुभएको छ । पुरस्कार ग्रहण गर्दै नेतृ शाक्यले पारिजातलाई अन्तिम पटक उहाँ बिरामी भई वीरअस्पतालको बेडमा मृत्युसँग लडिरहनु भएको क्षणमा भेट गरको स्मरण सुनाउँदै जीवनमा पारिजातको सङ्घर्षशीलताबाट नै प्रेरणा पाएको बताउनुभयो । उहाँले कार्यक्रममा पारिजातको सम्मान स्वरुप ‘सङ्घर्षशील नारी सम्मान’ शिर्षकको कविता पनि सुनाउनुभयो ।

कार्यक्रममा यस वर्षको ‘पारिजात कला सम्मान-२०७४’ बाट भने बितेका शान्तकुमार राईलाई मरोणोपरान्त पुरस्कार प्रदान गरी सम्मान गरियो । २०१८ सालमा इलामको जोगमाईमा जन्मिएका कलाकार राईले आफ्नो जीवन कालमा जनताको पक्षमा विशिष्ट कला-कृति सिर्जना गरी चित्रकारितामा एक सफल जन कलाकारको परिचय पाउनुभएको थियो । बितेका कलाकार राईको पुरस्कार उहाँकी श्रीमती कला राईले ग्रहण गरी लिनुभएको थियो ।

स्मृति केन्द्रका वर्तमान अध्यक्ष रायन श्रेष्ठको सभापतित्वमा सम्पन्न सो पुरस्कार प्रदान समारोहमा प्रमुख अतिथिको रुपमा पर्यटन, नागरिक उड्ययन एवं सँस्कृतिमन्त्री रवीन्द्र अधिकारीले मन्तव्य दिनुभएको थियो । उहाँले आफू मन्त्रीको नाताले भन्दा पनि पारिजातप्रति श्रद्धाञ्जली दिने अवसर प्राप्त गर्न नै कार्यक्रममा उपस्थित भएको बताउनुभयो । त्यस्तै गरी विगतको लामो समयदेखि पारिजात स्मृतिका लागि सहयोग गर्दै आउनुभएका एवं पारिजातको वासस्थान रहेको काठमाडौं, म्हेपी पर्ने महानगरको वडा नं १६ का पूर्व वडा अध्यक्षसमेत रहेका सांसद रामदेव मानन्धरले पनि पारिजातको सम्मान स्वरुप आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सुरुवातमा पारिजातप्रति सम्मान स्वरुप ‘पारिजात अपराजिता’ शिर्षकको गीत ईन्द्रणी साँस्कृतिक समाज, कीर्तिपुरका कलाकारहरु रानीशोभा महर्जन, प्रमिला महर्जन र रत्नशोभा महर्जनले संयुक्त रुपमा प्रस्तुत गर्नुभएको थियो ।

(Visited 169 times, 1 visits today)

टिप्पणी

comments