Main Menu

सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा

 

solukhumbu-local-level-budget-releasedसाउन ९, सोलुखुम्बु । सोलुखुम्बुको १ नगरपालिका र ७ गाउँपालिकामा पहिलो किस्ताको बजेट निकासा भएको छ ।

निर्वाचित जनप्रतिनिधिले कामसमेत शुरु गरिसकेको स्थानीय तहमा समानीकरण तथा चालुतर्फको बजेट निकासा गरिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।

सूचना अधिकारी थापाका अनुसार सोलुदूधकुण्ड नगरपालिकामा पहिलो किस्ता बापतको रकम रु. ११ करोड ५५ लाख ७० हजार र खुम्बुपासाङल्हमु गाउँपालिकामा रु. ५ करोड ६६ लाख २० हजार निकासा भएको छ ।

यस्तै, दूधकोशी गाउँपालिकामा रु. ७ करोड ५ लाख ४० हजार, दूधकौशिका गाउँपालिकामा रु. ९ करोड ४० लाख १० हजार, नेचासल्यान गाउँपालिकामा रु. ८ करोड १८ लाख २६ हजार, सोताङ गाउँपालिकामा रु. ५ करोड २९ लाख १९ हजार, महाकुलुङ गाउँपालिकामा रु. ६ करोड ४७ लाख ९ हजार र लिखुपिके गाउँपालिकामा रु. ४ करोड ७३ लाख ४६ हजार बजेट निकासा भएको छ ।

यस वर्ष जिल्लाका ८ वटै स्थानीय तहमा गरी कुल रु. ५ अर्ब ८३ करोड ४ लाख ३९ हजार बजेट विनियोजन भएकामा त्यसको पहिलो किस्ता बापतको रकम निकासा भएको हो ।

बजेटको अख्तियारी पठाइएको भए पनि खर्च गर्नका लागि स्थानीय तहले नीति तथा कार्यक्रम पारित गर्नाका साथै विशेष परिषद्समेत गर्नुपर्ने हुन्छ । हालसम्म सोलुखुम्बुका कुनै पनि स्थानीय तहले स्थानीय तह सञ्चालन कार्यविधि पारित गरेका छैनन् भने त्यसपछि हुने नीति तथा कार्यक्रमको विषयमा छलफलसमेत शुरु भएको छैन । यसले गर्दा बजेट कार्यान्वयनमा भने अझै केही समय लाग्ने देखिएको छ ।

(Visited 115 times, 1 visits today)

टिप्पणी

comments