Main Menu

टनकपुर–महेन्द्रनगर लिंक रेड निर्माणको कार्यले गति लिँदै

 

tanakpur-mahendranagar-linkroad-speedingभदौ २८, कञ्चनपुर । सुस्तगतिमा निर्माण कार्य अगाडि बढ्दै आएको टनकपुर–महेन्द्रनगर लिंक सडक निर्माणको कार्य चालु आर्थिक वर्षदेखि द्रूतगतिमा अगाडि बढेको छ ।

लिंक सडक निर्माणका लागि चालु आर्थिक वर्षमा रु. १५ करोड बजेट विनियोजन भई कार्य अगाडि बढाइएको हो । सडकमा ग्राभेलिङ्ग गर्ने, माटो भरान गर्ने, कल्भर्ट निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको छ ।

सडकको ३ किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने, कल्भर्ट, पाइप कल्भर्ट, वक्स स्ल्याब निर्माण गर्ने माटोभरान र ग्बालिन जाली भर्नेलगायतका स्तरोन्नतिका कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले बताए ।

“दुई वर्षदेखि सडक निर्माणका लागि निरन्तर रुपमा बजेट आउन थालेपछि निर्माणकार्य समेत अगाडि बढेको छ” उनले भने । विगतमा थोरै बजेट विनियोजन हुँदा ८ वर्षको अवधिमा सडक निर्माणको २० प्रतिशत कार्य मात्रै सम्पन्न हुनसकेको उनको भनाइ रहेको छ ।

गत वर्ष रु. १५ करोड बजेट विनियोजन भएकोमा रु. ८ करोड ४८ लाखमा सडक निर्माणका लागि ठेक्का भएको थियो । आव ०७२/७३ मा रु. ७८ लाख सडक निर्माणका लागि विनियोजन भएको थियो ।

डिभिजन सडक कार्यालय महेन्द्रनगरका इञ्जिनियर शाहीले आउँदो आवदेखि मात्रै सडक कालेपत्रे गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने बताए ।

आव ०६७/६८ मा शिलान्यास गरिएको सडकको ब्रम्हदेवदेखि महेन्द्रनगरको भासिसम्म ट्र्याक खन्ने र ग्राभेलिङ गर्ने कार्य गरिएको थियो । ट्र्याक खोल्न र ग्राभेलिङ्गका लागि मात्रै रु. दुई करोड ५० लाख रकम खर्च गरिएको थियो ।

त्यसपछि बजेट अभावले सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य हुनसकेको थिएन । टनकपुरदेखि ब्रम्हदेवसम्मको ३ किलोमिटर सडक भारत सरकारले निर्माण गर्ने भए पनि हालसम्म कार्य अगाडि बढाएको छैन ।

सडकको सर्भे डिजायन स्टिमेट सबै भारत सरकारले गरेको सडक काठमाडौँं-नयाँदिल्ली सोझै बससेवा सञ्चालनका लागि निर्माण गर्ने सहमति भएको थियो । सडक निर्माणका लागि ६ वर्षअघि नै ३४२ परिवारलाई मुआब्जा वितरणको कार्य नेपाल सरकारले पूरा गरिसकेको छ ।

महेन्द्रनगरको भाँसिदेखि टनकपुर ब्यारेजसम्म गरी सडकको लम्बाई १३ किलोमिटर रहेको छ । सडकको चौडाइ ७ मिटर रहको छ ।

(Visited 244 times, 1 visits today)

टिप्पणी

comments