Main Menu

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

facebook-provide-new-life-phulkumariभदौ २८, सुरुङ्गा (झापा)  । सामाजिक सञ्जाल फेसबुक फूलकुमारीको लागि जिवन दान दिने मिध्यम बन्न सफल भएको छ ।  सामाजिक सञ्जाल दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् ।
बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी, श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन् ।

आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि उनिहरुले रकम जुटाएर सहयोग गरेका हुन् । फूलकुमारीको उपचारका लागि फेसबुकबाटै रु. २ लाख ४० हजार संकलन भएपछि सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो । उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छिन् ।

छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलालले हारगुहार गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चलाएका थिए ।

सो अभियानबाट जुटेको रकमले फूलकुमारीको उपचार गराएपछि उनले नयाँ जीवन पाएकी हुन् । उनको उपचारका लागि नेपाल तथा विदेशमा रहेका नेपालीले नबिल बैँकको २११००१७५०३६४० नम्बरको खाता रकम उपलब्ध गराएका थिए । सहयोग पाएपछि फूलमायाको क्यान्सरको शल्यक्रिया गरेर सञ्चो भएपछि अहिले उनलाई घरमा ल्याइएको छ । सबैको सहयोगमा नयाँ जीवन पाएपछि फूलकुमारीका वुबा–आमा मात्र होइन अहिले डाँगीबारीवासी हर्षित छन् । सवैको स–सानो सहयोगले पनि क्यान्सरजस्तो रोग निको भएर र छोरीले नयाँ जीवन पाएको भन्दै उनका बुबा शेषलालले सहयोग गर्ने सबैप्रति क्रितज्ञता ब्यक्त गरेका छन् ।

सामाजिक कार्य गर्न रुचाउने राजवंशीले यसअघि पनि आर्थिकरूपले अति विपन्न परिवारका लागि सहयोग गर्दै आएका थिए । राजवंशीले फेसबुकमार्फत चलाएको अभियानका कारण आफ्नो विद्यार्थीले नयाँ जीवन पाएको भन्दै गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालले अभियानकर्तालाई धन्यवाद दिएका छन् । “छोरीको जीवन बचाइदिन हारगुहार गर्दै फूलकुमारीका बुबा हामी कहाँ सहयोग माग्न आउनुभएको थियो, हाम्रो एक्लो प्रयासले मात्र यो सम्भव थिएन तर अहिले उनी जाती भएर घर आएको सुन्दा हामीमा खुशीको सीमा नै रहेन”, प्रधानाध्यापक कटुवालले भने ।

शेषलाललाई खुशीसंगै पीडा पनि

सबैको सहयोगमा छोरी फूलकुमारीले नयाँ जीवन पाएकामा शेषलाल अति खुशी भएपनि उहाँमा उत्तिकै पीडा पनि थपिएको छ । २०६६ सालमा विरिङ खोलामा आएको बाढीले उहाँको परिवारलाई विस्थापित बनाएको थियो । भएको जग्गा जमिन कटान गरेर बगरमा परिणत गरिदिएपछि उहाँ अर्कैको जग्गामा आश्रय लिइ फुसको छाप्रो हालेर बसेका थिए । आश्रय लिएको ठाउँमा पनि साउनको अन्तिम साता आएको बढीले क्षति पुर्यायो । त्यसबेला उनि छोरीको उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा थिए ।

बाढीले क्षति पुर्याएपछि उनि अहिले छिमेकीको शरणमा छन् । भएको फुसको घर पनि बस्न नमिल्ने भएको छ । न त उनको घरमा ओढ्ने छ, न त ओछ्याउने नै । बाढीका कारण घरमा भएको सबै सामग्री नष्ट भएपछि कष्टकर जीवन बिताउन वाध्य छ शेषलालको परिवार ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएको राजवंशी परिवारको अहिले न खाने अन्न छ न त बस्ने बास नै । “मजदुरी गरेर परिवार पाल्दै थिँए, छोरी बिरामी भएपछि उनको उपचारका लागि अस्पताल बस्दा अहिले गर्जो टार्ने उपाय नै रहेन”, शेषलालले भने । छोरीको सफल उपचारपछि घर फर्कनुभएका उनि छोरीले पाएको नयाँ जीवनप्रति खुशी भए पनि बस्ने घर नै नभएपछि उत्तिकै चिन्तित भएका छन् । 

(Visited 182 times, 1 visits today)

टिप्पणी

comments