Main Menu

विदेशमा कमाएको पैसाले स्वदेशमा समाजसेवा

  • प्रकाश धौलाकोटी

असोज ५, तेह्रथुम

social-service-nepal-abroad-earningsतेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि रु. १.५ करोडभन्दा बढी खर्च गरेकि छिन ।

सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहेकि छिन् ।

सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा रु. १.५ करोडभन्दा बढी खर्च भइसकेको पोखरेलले बताईन् । आर्थिक अवस्था कमजोर भएकालाई उपचार, विपन्न र अनाथ बालबालिकाको पढाइ, छात्रवृत्ति पुरस्कारका लागि अक्षय कोषदेखि खेलकुद, मेला महोत्सवलाई समेत पोखरेलले आर्थिक सहयोग गरेकी छन् ।

जिल्ला अस्पतालमा मृत्यु भएका, मृत्यु भएर पोष्टमार्टमका लागि ल्याइएका अतिविपन्न, अनाथहरुलाई दाहसंस्कार र परीक्षणका लागि खर्च रु. ५ हजार सहयोग गर्दै आएकि छन् ।

उनले गाउँबस्तीका गरिब दुःखीलाई मात्र सहयोग गरेकि छैनन्, नेकपा (एमाले) का नेता स्व जीवराज आश्रितकी पत्नी माया ज्ञवालीलाई छहारीसमेत प्रदान गरेकि छन् ।

आश्रितको मृत्युपछि एक्लिएकी मायालाई सुरक्षित बासका लागि घर निर्माण गर्न पोखरेलले व्यक्तिगतरुपमा रु. २७ लाख सहयोग गर्नुभएको छ । आफूले कमाएको सम्पत्तिको केही अंश समाजसेवामा खर्च गरे शान्तिको श्वास फेर्न सजिलो हुने पोखरेलको भनाइ छ ।

उनले रेडियो मेन्छ्यायेम भवन निर्माणका लागि रु. २ लाख, पतालेश्वर महादेव मन्दिर निर्माणका लागि रु. १० लाख, पिंगुवा खोला नजिकै मलामी पाटी तथा खाजाघर निर्माणका लागि रु. ५ लाखभन्दा बढी सहयोग गरेकि छिन् ।

पोखरेलले जिल्लाको पत्रकारिताको विकासदेखि नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखामा रु. १ लाख १ हजार १११ को अक्षयकोष स्थापना गरेकी छन् ।

उनले आफूले पढेको रत्न मावि, सोल्मामा रु. २ लाख एकहजार १११ र कालिका मावि जिरीखिम्तीमा रु.२ लाख एक हजार १११ को छात्रवृत्ति अक्षयकोष पनि खडा गरेकी छन् ।

यस्तै, झापा माईधारको वृद्धाश्रमलाई रु. १  लाख ५० हजार, म्याङ्लुङका अग्निपीडितलाई रु एकलाख र रेडक्रस जिरीखिम्तीको भवन निर्माणका लागि रु. १ लाख नगदनै सहयोग गरेकी छन् ।

पोखरेलले जिल्लामा हुने करिब एक दर्जन खेलकुद कार्यक्रममा वर्षेनी पुरस्कार प्रायोजन गरेर सहयोग पुर्याएकि छन् । सोल्माकी पदमकुमारी गुरुङलाई आँखा उपचारका लागि पोखरेलले रु. ७५ हजार सहयोग गरिन । अहिले गुरुङ आँखा देख्नसक्ने भयका छन् ।

मोराहाङको सिद्धेश्वर माविमा पढ्ने विद्यार्थी सुरेश खत्रीको ढाडमा पलाएको मासुको पोकोको शल्यक्रियाका लागि पोखरेलले रु. ५० हजार सहयोग गरेकि थिइन् । करेन्ट लागेर घाइते सोल्माका नरसिंह लिम्बूलाई उपचारका लागि रु. २० हजार, सुदापका मिर्गौला पीडित नगेन्द्र घोर्सानेलाई रु. २० हजार, सुङ्नामकी सावित्रा संग्रौलालाई रु .२० हजार, हमरजुङका पेटका रोगी धनबहादुर बुढाथोकीलाई रु. २० हजार सहयोग गरेको पोखरेलले बताइन् ।

पोखरेलले हमरजुङका झुप्पबहादुर रोकाको साहुकहाँ बन्धक रहेको खेत उकास्न रु. २१ हजार सहयोग गरेकी छन् । यस्तै, म्याङ्लुङ र जिरीखिम्ती क्याम्पसलाई रु. १/१ लाख, सिन्धुपाल्चोकमा मन्दिर निर्माणका लागि रु. ३ लाख, पेण्टागन कलेज, काठमाडौँलाई रु. ५० हजार सहयोग गरेकि छन् ।

अब छिट्टै सदरमुकाम म्याङ्लुङमा एउटा बाल तथा वृद्ध आश्रम खोल्ने आफ्नो लक्ष्य रहेको पोखरेलले बताइन् । आश्रमका लागि रु. ६५ लाखमा पाँच रोपनी जमिनसमेत खरिद गरिएको छ ।

“समाजसेवा मेरो रुचि हो, म रहुन्जेल गरिरहन्छु”, उनी भन्छिन, “सबैले आफूले कमाएको केही प्रतिशतमात्रै समाजसेवामा खर्च गर्ने हो भने धेरैको उद्धार गर्न सकिन्छ ।” अष्ट्रेलियामा कार्यरत पोखरेलले सञ्चार माध्यमबाट आउने विभिन्न समाचारका आधारमा पीडितलाई सहयोग गर्ने गरेको बताइन् ।

जिल्लामा उनको सम्पर्क व्यक्तिका रुपमा पत्रकार भगिश्वर लिम्बू क्रियाशील छन् । पोखरेलले सामाजिक क्षेत्रको सेवाकै लागि करोडौँ रुपैयाँ खर्च गरेर धन हुने अरुहरुलाई पनि प्रेरित गरेको पत्रकार लिम्बूले बताए ।

(Visited 204 times, 1 visits today)

टिप्पणी

comments