Main Menu

३ वर्ष लगाएर ३३ लाख खर्च गरेर निर्माण गरिएको पर्खाल १ महिनामै भत्कियो

साउन १, भक्तपुर । निर्माण भएको एक महिना नबित्दै सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित बसपार्क जाने सडकको कुँवर गाउँको पर्खाल भत्किएको छ ।

क्रमागत योजनाअनुसार ३ वर्ष लगाएर करिब रु. ३३ लाख खर्च गरेर निर्माण गरिएको सो पर्खाल गत सोमबार भत्किएको हो । सो पर्खाल भत्किएर बाटोसमेत बगाएपछि गुण्डु बसपार्क जाने सवारी आगमनमा समेत बाधा पुगेको छ । 

सो सडकमा गत वैशाखको अन्तिम साता मात्र कालोपत्र गरिएको थियो । पहिलो चरणको स्थानीय निर्वाचनको २ दिनअघि पूर्वउद्योगमन्त्री महेश बस्नेत र हालका निर्वाचित वडाध्यक्ष एवम् तत्कालीन वडाध्यक्षका उम्मेदवार रवीन्द्र सापकोटाको रोहबरमा कालोपत्र गरिएको थियो । 

सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले क्रमागत योजनाअन्तर्गत निर्माण गरिएको हुनाले पर्खाल हालै निर्माण भए पनि पर्खालको जगको निर्माण भने ३ वर्ष अगाडि नै भएको बताए । वडाध्यक्ष सापकोटाका अनुसार माटो खुकुलो भएको र सो स्थानको उचाइसमेत बढी भएकाले पर्खाल भत्किएको हो ।

“त्यही ठाउँमा पानीको मुहान पनि छ । सडकले बनाएको कालोपत्रमा पानी जाने ठाउँ नभएकाले सबै पानी त्यहीँबाट बगेका कारणले पर्खाल भत्केको हो”– सापकोटाले भने ।

सम्बन्धित निकायका सबैलाई बोलाएर निरीक्षण गराइसकेको जानकारी दिँदै सापकोटाले पर्खाललाई मजबुत बनाउन रक्षात्मक विधिबाट कार्य अगाडि बढाउने बताए । 

डिभिजन सडक कार्यालयको भिआइपी सडकअन्तर्गत सो सडकमा कालोपत्र गर्दा लापर्बाही गरेका कारण पर्खाल भत्किएको काठमाडौँ उपत्यका विकास प्राधिकरण भक्तपुरका इन्जिनियर गणेश कोजुले बताए । निर्माणाधीन पर्खालमाथि कालोपत्र गर्नेक्रममा रोलिङ गर्दा थर्किएर पर्खाल कमजोर भएर ढलेको उनले बताए । 

सडक कालोपत्र गर्ने क्रममा सडकको पानीको निकाससमेत सोही स्थानमा राखिएको कारणले पनि पर्खाल भत्किएको इन्जिनियर कोजुको भनाइ छ ।

“कालोपत्र गर्दा पानी जाने पाइप जडान नगरेका कारणले पानी सबै फाटेको कालोपत्रबाट भित्र गई माटोलाई खुकुलो बनाएका कारण पर्खाल भत्केको हो ।” उनले भने ।

त्यसैगरी अर्का इन्जिनियर महेश शर्माले माथिदेखि आउने सबै पानीको निकाससमेत त्यही छोडिएकाले पनि पर्खाल भत्किएको बताए । प्राधिकरणले लगाएको पर्खालमा नगरपालिकाले ओभरल्याप हुनेगरी थप ३ फिट पर्खाल थपेका कारण पनि थेग्न नसकी पर्खाल भत्केको उनले जानकारी दिए ।  

करिब ३० मिटर अग्लो भिरालो स्थानमा बेन्ची आकारमा पर्खाल निर्माण गरिनुपर्नेमा सिधा उठाएका कारण पर्खाल ढल्न पुगेको स्थानीय दीपेन्द्र बुढाथोकीले जानकारी दिए । 

पछिल्लो समय पर्खाल निर्माणको कार्य माधव विष्टको अध्यक्षतामा रहेको रातोपाटी युवा समाज उपभोक्ता समितिले गरेको हो भने यसअघि सो पर्खाल सुमन थापा अध्यक्ष भएको गुण्डु युवा समाज उपभोक्ता समितिले गरेको हो ।

(Visited 112 times, 1 visits today)

टिप्पणी

comments