Main Menu

मध्यपुर थिमिमा वडा सदस्यलाई समेत पारिश्रमिक, प्रमुख/उपप्रमुखलाई ८५ हजारको मोबाइल

 

साउन १७, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित वडा सदस्यले समेत मासिक पारिश्रमिक पाउने भएका छन् ।

स्थानीय विकास मन्त्रालयले तत्काल निर्वाचित जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने परिपत्र गरे पनि नगरपालिकाको गत असार ३० गते सम्पन्न प्रथम नगरसभाले आन्तरिक स्रोतबाट व्यवस्था गर्ने गरी वडा सदस्यलाई समेत मासिक पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकमा उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरकार्यपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई मासिक पारिश्रमिकको प्रस्ताव गरे पनि बैठकले सो प्रस्ताव संशोधन गर्दै वडा सदस्यले समेत मासिक रु. ५ हजार पारिश्रमिक पाउने निर्णय गरेको हो । उपप्रमुख मधिकर्मीले प्रमुखको रु. ३५ हजार, उपप्रमुखको रु. ३० हजार ५००, वडाध्यक्षको रु. २५ हजार र कार्यपालिका सदस्यले मासिक रु. १० हजार पारिश्रमिक दिने प्रस्ताव गरेकी थिइन् ।

त्यसैगरी, निर्वाचित सबै पदाधिकारीले पोशाक भत्ताबापत रु. ७ हजार ५०० पाउने निर्णय गरिएको छ ।

नगरपालिकाको प्रथम नगरसभाले कार्यकारी अधिकृत समेतलाई मासिक रु. १८ हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । कार्यकारीलाई मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेपछि नगरसभामै नगरपालिकाका कर्मचारीले असन्तुष्टि व्यक्त गरेका थिए । बैठकले कर्मचारीको समेत असन्तुष्टि सम्बोधन गर्दै कार्यसम्पादन मूल्याङ्कनका आधारमा वार्षिक एक महिना तलब बराबरको प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

मध्यपुरथिमि नगरपालिकामा ९ वटा वडा रहेका छन् । प्रमुख र उपप्रमुखसहित ४७ जना निर्वाचित हुनुपर्नेमा केही वडामा दलित महिला नभएका कारण ४२ जनामात्र निर्वाचित जनप्रतिनिधि छन् । साथै कार्यपालिकामा निर्वाचित दलित र अल्पसंख्यक समेत गरी हाल मध्यपुरथिमिमा ४५ जना निर्वाचित जनप्रतिनिधि छन् । नगरसभाको निर्णयअनुसार वार्षिक रु. ७० लाखभन्दा बढी रकम निर्वाचित जनप्रतिनिधिको पारिश्रमिक र कार्यकारी अधिकृतको प्रोत्साहन भत्तामा खर्च हुने भएको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले रु. ८५ हजार मूल्य पर्ने मोबाइल सुविधामा लिएका छन् । नगरपालिका स्रोतका अनुसार निर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेलगत्तै नगरपालिकाले सो मोबाइल खरिद गरी दिएको हो ।

(Visited 79 times, 1 visits today)

टिप्पणी

comments