Main Menu

डब्लुएफपीले कुहिएको खाद्यान्न नष्ट गर्ने

 

wfp-destroy-rotten-foodसाउन ३, गोरखा । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरखाको उहिया र सिर्दिवासका बासिन्दालाई खान मिल्ने खाद्यान्न मात्रै वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।

उहिया र सिर्दिवासको गोदाममा रहेका ५० बोरा खाद्यान्न (दाल, चामल) कुहिएको भेटिएको थियो ।

स्थानीय तह निर्वाचनको आचारसंहिताले गर्दा समयमै खाद्यान्न वितरण गर्न नसक्दा केही परिमाण खाद्यान्न बिग्रिएको भन्दै डब्लुएफपीको सञ्चार अधिकृत सीतास्मा थापाले राम्रो खाद्यान्न मात्रै वितरण गर्दै आएको दाबी गरेकी छन् ।

हिजो गोरखा सदरमुकाममा पत्रकारसम्मेलन गर्दै थापाले कुहिएको र भुसुना लागेको दाल, चामल स्थानीय बासिन्दालाई वितरण नगर्ने बताइन् ।

“सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा पानीले भिजेर केही बोरा खाद्यान्न बिग्रिएको छ । हामी राम्रो, खानयोग्य खाद्यान्न मात्रै बाँड्छौँ ।” उनले भनिन् ।

यहाँ खच्चडबाट जेठमा खाद्यान्न ढुवानी गरिएको थियो ।

कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवासलगायत गाउँमा स्थानीयवासीले खाद्यान्न लिने गरी गोरेटो बाटो निर्माण गरेका थिए । जेठ महिनामा काम सके पनि साउन लागिसक्दा पनि खाद्यान्न वितरण नभएपछि स्थानीयवासी रुष्ट थिए । डब्लुएफपीले लुथरन वल्ड फ्रेडेरेसन (एलडब्लुएफ)सँग समन्वय गरी गोरेटो गोरखामार्फत काशीगाउँ, लाप्राक, उहिया, सिर्दिवास, गुम्दा गाउँमा ‘फुड फर वर्क’ कार्यक्रम लागू गरेको छ ।

उहियामा ४६ मेट्रिक टन र सिर्दिवासमा ५२ मेट्रिक टन खाद्यान्न भण्डारण गरिएकामा केही परिमाण खाद्यान्न कुहिएको सोमबार फेला परेको थियो । ४० दिन काममा हाजिर भएपछि प्रतिव्यक्ति १५० केजी चामल र २७ केजी दाल पाइन्छ । उहिया र सिर्दिवासमा गरी करिब ५० बोरा खाद्यान्न कुहिएपछि प्रतिव्यक्ति ७५ किलो चामल र ९ किलो दाल मात्रै वितरण गरेको उहियास्थित खोर्लाका जित गुरुङको भनाइ छ । अपुग खाद्यान्न दोस्रो चरणमा वितरण गर्ने तयारी रहेको भन्दै थापाले १ हजार १०० घरधुरीमा खाद्यान्न वितरण गर्न बाँकी रहेको जानकारी दिइन् ।

(Visited 118 times, 1 visits today)

टिप्पणी

comments