Main Menu

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध – उपराष्ट्रपति पुन

असोज ४, काठमाडौँ

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई आज सम्बोधन गर्दै उहाँले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो । चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको छ भन्नुभयो ।

केही वर्षयता दुई देशबीच पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआइ) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोगसम्बन्धी भएका समझदारी महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति पुनले विगत चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक सुधारको प्रशंसा गर्नुभयो । चिनियाँ राष्ट्रपतिले बिआरआइमार्फत सम्बद्ध राष्ट्रबीच सहयोग अभिवृद्धि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सार्नुभएको विचारको स्वागत गर्दै उहाँले त्यसमा नेपाल सामेल हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

बिआरआइसम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीव्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर संरचनाभित्र सहयोग अगाडि बढाउने कुरामा दुवै देश प्रतिबद्ध रहेको उपराष्ट्रपति पुनको भनाइ थियो ।

काठमाडौँ र छेन्दु शहरबीच स्थापना भएको भगिनी सम्बन्धले नेपाल र सिचुवान प्रान्तबीचको सम्बन्धमा नयाँ आयाम थपेको उहाँले बताउनुभयो । नेपालमा गत वर्ष सम्पन्न सङ्घीय संरचनाअनुरुपको ऐतिहासिक निर्वाचनपश्चात् मुलुकमा शान्ति, स्थिरता र समृद्धिको ढोका खुलेको बताउँदै उपराष्ट्रपति पुनले नेपालको आगामी प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु र सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को बृहत् लक्ष्य हासिल गर्नु रहेको छ भन्नुभयो ।

(Visited 60 times, 1 visits today)

टिप्पणी

comments