Main Menu

फेवाताल किनारामा वृक्षारोपण

जेठ २२, पोखरा

विश्व वातावरण दिवसका अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र उपत्यका बृहत् सरसफाइ अभियानको संयोजनमा आज फेवाताल किनारामा बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरियो ।

फेवातालको सौन्दर्यकरण गर्ने उद्देश्यका साथ आयोजित सो कार्यक्रममा ताल धुपी, असारे फूल, सम्मी लगायत विभिन्न जातका बिरुवा रोपिएको थियो ।

प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले धुपीको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै प्लास्टिक तथा नकुहिने वस्तुलाई प्रदेश सरकारले घरमै गएर किन्ने नीति ल्याउने तयारी गरेको बताउनुभयो ।

वातावरण सफा राख्ने पहिलो जिम्मेवारी स्थानीय बासिन्दाकै भएको उल्लेख गर्दै उहाँले दैनिक प्रयोगमा आउने प्लास्टिकजन्य वस्तुको बढ्दो प्रयोगले पृथ्वीलाई तहस–नहस पार्दै गएको बताउनुभयो ।

पोखरा उपत्यका बृहत् सरसफाइ अभियानकर्ता रामबहादुर केसीले पर्यावरणीय संरक्षणका लागि दिवसका दिन मात्र नभएर अन्य जुनसुकै समयमा पनि वृक्षारोपण तथा सरसफाइलाई जोड दिनु अपरिहार्य भएको बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव, उपसचिव, स्थानीय बुद्धिजीवी, समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारको सहभागिता थियो ।

(Visited 191 times, 1 visits today)

टिप्पणी

comments