Main Menu

बाँस बेचेर विद्यालयलाई सहयोग

भदाै २३, कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको जनहित महाकाली सामुदायिक वनले बाँस बेचेर विद्यालयलाई सघाउँदै आएको छ । सामुदायिक वनको २४ हेक्टर क्षेत्रफलमा तीन प्रजातिका झण्डै पाँच हजार बढी बाँसका बिरुवा रोपेर हुर्काएको छ ।

रोपिएका बाँस बेचेर सामुदायिक वनले वार्षिक रुपमा रु तीन लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्दैआएको छ । बाँस बेचेर आएको रकम विद्यालयका निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलब, विद्यार्थीलाई छात्रवृत्ति र भौतिक पूर्वाधार निर्माणका लागि खर्चदै आएको छ ।

बालकल्याण आधारभूत विद्यालय, कालिका माध्यमिक विद्यालय र उदय सरस्वती माध्यमिक विद्यालयलाई यसवर्ष रु ५० हजारका दरले रकम उपलब्ध गराइएको सामुदायिक वनका सचिव शालिकराम चौधरीले बताउनुभयो ।

छ वर्षदेखि सामुदायिक वनले बाँस बेच्दै आएको छ । “प्रतिवर्ष बाँस बिक्रीबाट आएको रकम विद्यालयकै विकासका लागि खर्चेका छौंँ” सचिव चौधरीले भन्नुभयो, “सामुदायिक वनबाट फर्निचर निर्माण गर्न बाँस बिक्री हुने गरेको छ ।”

तरकारीखेतीका लागि अनुदान

गरीबी न्यूनीकरण गर्नका लागि सामुदायिक वनले काठ र दाउरा बिक्री गरेर आएको रकम परिचालन गरी न्यून आयस्रोत भएका उपभोक्तालाई तरकारी खेतीका लागि अनुदान रकम समेत उपलब्ध गराउँदै आएको छ ।

सामुदायिक वनको आम्दानीको २५ प्रतिशत रकम वन हेरालाको तलब, वृक्षरोपण, तारबार मर्मत, झाडी सफाइ र अग्निरेखा निर्माणका लागि छुट्ट्याउने गरेको छ । बाँकी ३५ प्रतिशत रकम उपभोक्ताको गरीबी न्यूनीकरणका लागि खर्चदै आएको छ । तरकारी खेतीका लागि २५ जना उपभोक्तालाई रु एक लाख बराबरको बीउ, रासायनिक मलखाद र विषादी निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।

प्लास्टिक टनेल बनाउनका लागि सामुदायिक वनबाट रु ५० हजार मूल्य बराबरका बाँस उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष परदेशु डगौराले बताउनुभयो । यसवर्ष ३० जना उपभोक्तालाई बाख्रा, बङ्गुरपालन, किनारा पसल र सिलाइकटाइ पसल सञ्चालनका लागि रु चार लाख पाँच हजार रकम अनुदानस्वरुप उपलब्ध गराएको छ ।

हालसम्म ७० जना बढी उपभोक्ताको आयस्रोतमा वृद्धि गर्नका लागि अनुदान रकम उपलब्ध गराई स्वरोजगार बनाइएको सामुदायिक वनका अध्यक्ष डगौराले बताउनुभयो । काठ दाउरा बिक्री गरेर यसवर्ष सामुदायिक वनले रु सात लाख आम्दानी गरेको छ ।

पहिला राष्ट्रिय वन हुँदा पूरै वनको आम्दानी वन कार्यालयले लाने गर्दथ्यो अध्यक्ष चौधरीले भन्नुभयो, “वन जोगाएर हुर्काएपछि आम्दानीको उपभोक्ताको हातमा पर्न थालेको छ ।” वनको आम्दानी बढाउनका लागि सामुदायिक वनको पाँच हेक्टर क्षेत्रफलमा उपभोक्ताले कुरिलो खेती गरेका छन् । डाबर कम्पनीको सहकार्यमा कुरिलो खेती गरिएको छ । उत्पादित कुरिलो कम्पनीले नै खरिद गरेर लैजाने सम्झौतामा उल्लेख गरिएको छ ।

(Visited 152 times, 1 visits today)

टिप्पणी

comments