Main Menu

मधेसी–थारु वार्तामा आउँछ भने केही दिन भोटिङ रोकौं– एमाओवादी

एमाओवादी प्रवक्ता दिनानाथ शर्मा

एमाओवादी प्रवक्ता दिनानाथ शर्मा । फोटो : हीरा महर्जन/मूल्याङ्कन

भदौ २५, काठमाडौं । आन्दोलनरत मधेसी–थारु र सत्तापक्षबीच वार्ता गराउन पहल गरिरहेको एनेकपा माओवादीले वार्ताको वातावरण बनाउन केही समय सम्विधानसभामा भोटिङको प्रक्रिया रोक्नुपर्ने निर्णय गरेको छ । विहीवार साँझ बसेको एमाओवादीको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।

एमाओवादी प्रवक्ता दिनानाथ शर्माका अनुसार संविधानसभाको प्रक्रिया होइन शुक्रवारबाट सुरु गरिने भनिएको भोटिङको प्रक्रिया स्थगित गर्ने कुराले आन्दोलनरत मधेसी–थारु पक्ष वार्तामा आउन तयार हुने स्थिति बन्छ भने त्यो कार्य गरिनुपर्छ भन्ने एमाओवादीको ठहर छ ।

सम्विधान निर्माणको प्रक्रिया रोक्नु हुन्न, तर मधेसी–थारुलाई पूर्ण रुपमा प्रक्रियाभन्दा बाहिर राखेर पनि सम्भव छैन भन्ने महसुस एमाओवादी नेतृत्वलाई लागेको छ । एमाओवादी मधेसी–थारु सभासद् तथा नेताहरुले पनि नेतृत्वलाई तराई–मधेमा भइरहेको आन्दोलनलाई नजरअन्दाज गरी अगाडि नजान चेतावनी दिएका छन् । उनीहरुले जसरी भए पनि आन्दोलनरत पक्षसँग वार्ता गरी स्थितिलाई नियन्त्रणभन्दा बाहिर जान नदिन सुझाव नेतृत्वलाई दिएका छन् ।

यता कांग्रेस–एमालेका मधेसी–थारु सभासद् तथा नेताहरुले पनि नेतृत्वलाई तराई–मधेसमा भइरहेको घटनाहरुलाई कम नआँक्न चेतावनी दिएका छन् । उनीहरुले यदि नेतृत्व यस्तै नै पेलेर नै जाने मनस्थिति बनाइरहने हो भने आफूहरु पनि संविधानसभा छाडेर आन्दोलनमा अग्रसर हुन जानुपर्ने बाध्यता आउन सक्ने चेतावनी दिएका छन् ।
शुक्रवार बिहान ११ बजे तीन ठूला पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीका शीर्ष नेताहरुले सम्विधानसभामा सम्वोधन गर्ने कार्यक्रम राखिएको छ । उनीहरुको सम्वोधनपछि सम्विधानसभामा चालु दफावार छलफल टुङ्याइने कार्यक्रम छ । त्यसपछाडि शुक्रवार दिउँसो २ बजेबाट सभासद्हरुले दर्ता गरेका प्रस्तावहरुमा मतदान गराउने प्रक्रिया सुरु गरिने भएको छ ।

त्यसअघि तीन दलको गम्भीर बैठक बस्दैछ । एनेकपा माओवादीले सम्विधानसभामा दिउँसो हुन लागिराखेको मतदानको प्रक्रियालाई स्थगन गरी आन्दोलनरत पक्षहरुलाई वार्तामा आउन पुनः आह्वान गर्ने प्रस्ताव सो बैठकमा राख्ने कुरा प्रवक्ता दिनानाथ शर्माले बताएका छन् ।

(Visited 218 times, 1 visits today)

टिप्पणी

comments