Main Menu

माओकी सहयात्री च्याङचिङ

साँस्कृतिक क्रान्ति ताका पार्टी बैठकमा बोल्दै चियाङ चिङ

साँस्कृतिक क्रान्ति ताका पार्टी बैठकमा बोल्दै चियाङ चिङ

विश्वलाई सम्पूर्ण रुपमा रुपान्तरण गरी विश्वमा रहेका वर्ग तथा सामाजिक असमानताहरुलाई उन्मुलन गर्ने माओको दूरगामी दिशावोधको पक्षमा लड्दालड्दै १५ वर्षसम्म जेलमा राखेर उनको अमानवीय हत्या गरियो ।
उनै महान् नेतृ हुन्, चिङ च्याङ ।

च्याङचिङको जन्म सन् १९१० मा चीनको सानतुङ प्रान्तमा भएको थियो । उनको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो । उनका बाबु माटाका भाँडाहरु बनाउने काम गर्थे । उनका बाबु निकै रिसाहा स्वभावका थिए । पैसा कमाउन नसक्दा उनलाई निकै रिस उठ्ने गथ्र्यो । परिवारका सदस्यलाई कुटेर रिस शान्त बनाउँथे । च्याङको परिवारले निकै दिन भोकभाकै पनि बस्नुपरेको थियो ।

त्यति धेरै कमजोर आर्थिक अवस्था हुँदाहुँदै पनि उनलाई स्कुल जाने अबसर मिलेको थियो । यसबाट उनी निकै खुसी देखिन्थिन् । त्यतिखेर स्कुलमा कन्फ्युसियसको नैतिकताको पाठ एकोहोरो रुपमा पढाइन्थ्यो उनले आँखैअगाडि श्रमिकहरुलाई धनी र ठूला भनाउँदाहरुले बेस्कन पिटेको देखेकी थिइन् । त्यसो त उनी पनि त्यही वर्गकी थिइन् । त्यसकारणले पनि स्कुलमा घोकाइने कन्फ्युसियसको नैतिकता उनलाई मन पर्दैनथ्यो । मन लाग्दा नलाग्दै पनि उनले प्राथमिक तहसम्मको शिक्षा पूरा गरेरै छाडिन् । जब उनी १५ वर्षकी भइन्, एकाएक उनको रुचि नाटकतिर गयो । त्यसैले उनी नाट्यशालामा भर्ना भइन् । उनी नाट्य समूहबाटै गाउँगाउँ पुगी सडकनाटक देखाउने काम गर्न थालिन् ।

सन् १९३१ मा च्याङ वामपन्थी नाटककारहरुको समूहमा आवद्ध भइन् । त्यतिखेर केही समय उनले विश्वविद्यालयको पुस्तकालयमा काम गर्ने मौका पाइन् । त्यस समयमा चीनमा जापान, जर्मनीजस्ता देशले कब्जा जमाइरहेका थिए । बिदेशी हस्तक्षेपका कारण चीनमा धेरै नकारात्मक समस्याहरु देखिएका थिए । च्याङ बाह्य हस्तक्षेपका कारण देखिएका समस्याहरुको खुलेरै विरोध गर्थिन् । विरोधका लागि उनले केही साथीहरुसँग मिलेर ‘समुद्री किनारी नाट्यसमूह’ खोलिन् । चेतनामूलक नाटक देखाउन उनी गाउँगाउँसम्म पुग्न थालिन् । उनले देखाउने नाटकमा सजिलो र सबैले बुझ्ने गरी बिदेशी हस्तक्षेपको बिरोध गरिएको हुन्थ्यो । उनले उक्त नाट्यसमूहमार्फत धेरै नाटकहरु देखाइन्, समसामयिक र जल्दाबल्दा विषयहरु उठाइन्, जसले गर्दा त्यो नाट्यसमूह छोटो समयमै निकै चर्चित भयो ।

सन् १९३३ तिर उनी चीनकै साङघाइ महानगरमा काम गर्न थालिन् । त्यहाँ पनि उनले नाटकसँग सम्बन्धित कामहरु गरिन् । त्यो शहरमा पनि उनले बिदेशीको ठाडो हस्तक्षेपको बिरोध गरिएका नाटकमा अभिनय गरिन् । यसरी उनी वामपन्थीहरुको बिचारसँगसँगै हिँडिरहेकी थिइन् । महिलाहरुमा सचेतना भर्न पनि उनको महत्वपूर्ण भूमिका रहन्थ्यो । महिलाहरुका लागि खुलेको रात्री पाठशालमा उनले केही समय पढाउने पनि काम गरिन् । एकदिन त्यहाँ रहेका कलकारखानामा काम गर्ने मजदुरहरुसँग कुराकानी गर्दै थिइन् । मजदुरका पक्षमा बोल्ने उनी त्यहीँबाटै पक्राउ परिन् । जेलमुक्त भएपछि उनले लु सुन प्रतिष्ठानले सञ्चालन गरेको साहित्य र कलामा पनि आबद्ध भइन् । त्यहाँ काम गर्दागर्दै चीनका प्रसिद्ध कम्युनिस्ट नेता माओसँग उनको भेट भयो । माओले सोही प्रतिष्ठानमा कम्युनिस्ट पार्टीको अवधारणा राख्थे । च्याङ त्यसलाई बडो चाखका साथ सुन्ने गर्थिन् । माओसँगको सम्पर्कबाटै देशको राजनीतिक अवस्थाबारे उनले धेरै कुरा थाहा पाइन् । कला र साहित्यमार्फत् माटो र जनतालाई सचेत बनाउँदै हिँड्ने उनमा राजनीतितिर चासो बढ्न थाल्यो । त्यसकै सिलसिलामा उनले ६ महिने सैनिक तालिम पनि लिइन्, साथै लेनिनवादका बारेका गम्भीर अध्ययन पनि गरिन् । उनी माओको मन पर्ने बिद्यार्थी थिइन् । त्यसैले उनीहरु बीचको मित्रता अत्यन्तै गहिरो हुन पुग्यो ।

माओ र चियाङ चिङ एकसाथ

माओ र चियाङ चिङ एकसाथ

एउटै बिचार र उद्देश्य बोकेर हिँड्ने माओ र च्याङबीच सन् १९३९ मा विवाह सम्पन्न भयो । विवाहपछि च्याङले माओलाई सहयोग गर्न थालिन् । उनी माओकी निजी सचिव भएर काम गर्न थालिन् । कला, साहित्य र राजनीतिलाई पनि बुझेकी उनले यी तीनवटै क्षेत्रमा निरन्तरता दिइन् । उनले जापानीहरुको सीमा अतिक्रमणको विषयलाई लिएर नाटकमा सबैभन्दा सशक्त रुपमा उठाएकी थिइन् । त्यसका अग्रगामीहरुले उनको कामलाई निकै प्रशंसा गरे ।

चीनको येनान भन्ने ठाउँ कम्युनिस्ट पार्टीको केन्द्रका रुपमा परिचित थियो । अधिकांश कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता त्यहीँ बसेर काम गर्थे । त्यो थाहा पाएर तत्कालीन प्रतिगमनकारी राजनेताहरुले येनानमा रहेका कम्युनिस्टहरुलाई सिध्याउने योजना बनाए । नभन्दै सन् १९४७ को मार्च महिनामा येनानमा सरकारी सेनाले आक्रमण गर्यो । नेता माओ र उनका सहयात्रीहरु येनान छाडेर अन्यत्रै जान बाध्य भए । येनान छाडेर पनि माओले चिनिया कम्युनिस्ट पार्टीलाई बलियो बनाउन धेरै जनसमूहहरुलाई भेला गराउँथे ।

चीनमा सन् १९४९ अक्टोबरमा माओको नेतृत्वमा चिनीया कम्युनिस्ट पार्टीले कोमिन्टाङ पार्टीका नेता च्याङ काइ सेकको नेतृत्वमा रहेको प्रतिकृयावादी सत्तालाई सशस्त्र युद्धद्वारा परास्त गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्यो । क्रान्ति सम्पन्न भएको दुई दशक नबित्दै माओले साँस्कृतिक क्रान्तिको आवश्यकता महसुस गरी योजना बनाउने काम गरे । त्यस क्रान्तिमा मुख्य भूमिका नेतृ च्याङले खेलिन् । सन् १९६६ देखि ‘हेड क्वार्टरमा बमवर्षा गर’ भन्ने मूल नाराका साथ साँस्कृतिक क्रान्तिको थालनी भयो । त्यो नाराले चिनिया कम्युनिस्ट पार्टी भित्रका पुँजीवादीहरुको मन हल्लाइदियो । आफ्नो ज्यान समेतलाई जोखिममा राखेर च्याङले साँस्कृतिक क्रान्तिलाई अघि बढाइन् । उनी जनवादी संस्कृतिका पक्षपाती थिइन् । जनवादी संस्कृति निर्माणमा आम युवाहरुलाई लाग्न उनले ठाउँठाउँमा आयोजना गरिएका आमसभाहरुमा भाषण दिइन् र युवाशक्तिलाई हौसला दिइ नै रहिन् । एकअर्कालाई हरहिसाबले सहयोग गर्ने च्याङ र माओले एकपछि अर्को सफलता पाउँदै गए ।

सन् १९७६ मा माओको निधन भयो । माओको निधनपछि च्याङका बिरोधीहरुले उनीमाथि धेरै आरोपहरु लगाए । उनीहरुले ‘माओबिरोधी आइमाई’ भनेर च्याङको कुरा काट्न थाले । उनले त्यसको प्रतिवाद गरिन् । त्यही क्रममा उनी फेरि पक्राउ परिन् । च्याङलाई अनेक प्रकारका आरोपहरु लगाइए । एक हिसाबले माओको निधनपछि उनी बेसाहाराजस्तै भइन् । उनलाई मानसिक यातना दिन पटकपटक अदालत लाने काम भयो । तर, सानैदेखि सङ्घर्ष गर्दै आएकी उनले त्यस्ता आरोपहरुलाई ठाडै अस्वीकार गरिन् । उनले संशोधनवादीहरुको विरोधमा जेलबाटै धावा बोलिन् । उनको आवाजबाट डराउने संशोधनवादीहरुले उनलाई जेलमै राखिराखे । निर्दोष च्याङ जेल परेको कुरा विश्वभरि नै फैलियो । संसारभरिका श्रमिकवर्ग र समाजवादी आन्दोलनका अगुवाहरुले उनको शिघ्र रिहाइको माग गरे । संशोधनवादीहरुको अन्यायबिरुद्ध ठाउँठाउँमा विशाल जुलुसहरु निस्किए । तर पनि संशोधनवादीहरुले च्याङलाई जेलमुक्त गरेनन् ।

संशोधनवादीहरुको सरकारले च्याङलाई लामो समयसम्म जेलमा राखेर शारीरिक र मानसिक यातना दिई नै रह्यो । जेलमा कसैसँग पनि उनलाई भेट्न दिइएन । खाना र पानीसमेत खान नदिई उनलाई जेलमा राखिएको थियो । उनी एक्लै अन्तिम समयसम्म पनि त्यसको विपक्षमा बोलिरहिन् । उनले बिरोध गरेकाले जेलमै प्रहरीहरुले उनलाई कुट्नसम्म कुटे । पछि त उनलाई बोल्न पनि दिइएन । मुखमा पट्टी बाँधेर जेलको अँधेरो कोठामा उनलाई लडाइएको थियो । यसरी यातना दिएर च्याङलाई १५ वर्षसम्म जेलमा राखेपछि सन् १९९१ मा जेलभित्रै उनको हत्या भयो । एकजना महिलादेखि डराउने संशोधनवादीहरुले हत्या नभएर आत्महत्या भन्ने दुष्प्रचार गरे । तर, आत्महत्या भन्ने कुरालाई संसारले विश्वास गरेन । संसारले नै उनको हत्या भएको भन्दै आएको छ । हत्या हो कि आत्महत्या हो त्यसको पुष्टि अझै भएको छैन । जे भए पनि उनी संसारबाट बिदा भएर गइन् । तर, उनले चीनको ऐतिहासिक साँस्कृतिक र राजनीतिक आन्दोलमा पुर्याएको योगदानको जति कदर गरे पनि अपूर्ण नै हुनेछ ।

साभार : ‘संसार हल्लाउने संघर्षशील महिलाहरु’ पुस्तकबाट

(Visited 430 times, 1 visits today)

टिप्पणी

comments