Main Menu

शान्ति प्रक्रियामा तुलाधारको योगदान

भाद्र १,  काठमाडौँ

शान्ति प्रक्रियामा वामपन्थी नेता पद्मरत्न तुलाधारको महत्वपूर्ण योगदान रहेको चर्चा गरिएको छ ।
मानव अधिकार संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘मानव अधिकार आन्दोलनमा पद्मरत्न विचार गोष्ठी’मा वक्ताले जनआन्दोलनलाई शान्तिको बाटोमा ल्याउन तुलाधारले खेलेको भूमिका सराहनीय रहेको बताएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले तुलाधारले मानव अधिकारको आन्दोलनलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “तुलाधार सरल, निडर र आस्थासँग नडगमगाउने व्यक्ति हुनुहुन्छ,”–उहाँले भन्नुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का पूर्वअध्यक्ष सुशील प्याकुरेलले लोकतन्त्रको लागि पार्टीभित्र भएको दमनको विरुद्धमा लड्ने व्यक्ति तुलाधार भएको बताउनुभयो । तुलाधार व्यक्ति भन्दापनि संस्थाको रुपमा अगाडि बढेको उहाँको भनाइ थियो ।

राष्ट्रिय निर्वाचन परिवेक्षक संस्था (नियोग)का अध्यक्ष प्रा डा कपिल श्रेष्ठले समकालिन राजनीतिक आन्दोलनको पर्यायवाची तुलाधार भएको बताउनुभयो । “पद्मसुन्दरविना काठमाडौँको बामपन्थी आन्दोलन पूरा हुन सक्दैन,”–उहाँले भन्नुभयो । मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष बद्रीप्रसाद खतिवडाले मानव अधिकारका लागि लड्ने व्यक्ति तुलाधार भएको उल्लेख गर्नुभयो ।

मञ्चका सचिव गणेश विश्वकर्मा, पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराई, एम्नेष्टी इन्टरनेशनलका पूर्वअध्यक्ष प्रदीप पोखरेल, अधिवक्ता गोपाल शिवाकोटीलगायतले समाजवाद र प्रजातान्त्रिक आन्दोलनमा तुलाधारको भूमिका अतुलनीय रहेकोमा जोड दिनुभएको थियो ।

मानव अधिकार, जाति भाषा समानता, नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार तुलाधरको भीमरथारोहण (ज्याःजंक्व) विविध कार्यक्रमका साथ आउँदो भदौ १७ गते मनाइने भएको छ । नेवार समाजमा कुनै व्यक्तिको ७७ वर्ष सात महिना सात दिनका अवसरमा गरिने एउटा अत्यन्त महत्वपूर्ण धार्मिक सांस्कृतिक संस्कार भीमरथारोहण हो । तुलाधरको धार्मिक विधिअनुसार भीमरथारोहण गरिने कार्यक्रम रहेको छ । नागरिक अभिनन्दनको मूल कार्यक्रम भदौ ३० गते शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरिने नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ ।

(Visited 109 times, 1 visits today)

टिप्पणी

comments