Main Menu

सार्कलाई गतिशील तुल्याउन श्रीलङ्का प्रतिबद्ध

भदाै १७, काठमाडौँ

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सार्क प्रक्रियालाई गतिशील तुल्याउन सक्दो सहयोग गरिने दृढता व्यक्त गर्नुभएको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयको आज निरीक्षण गरेपछि महासचिवसहित आठ वटै देशका निर्देशकसँगको अन्तक्र्रियामा उहाँले सदस्य मुलुकबीच भ्रातृत्वको भावना प्रवद्र्धन गर्दै सार्कका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि लाग्न आग्रह गर्नुभयो ।

राष्ट्रपति सिरिसेनाले क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउन सबै सदस्य एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सचिवालय परिसरमा उहाँले बोधिचित्तको बिरुवा रोप्नुभयो । सचिवालय भ्रमणका क्रममा सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले रोपेर झाङ्गिएका बिरुवा,सचिवालयमा रहेका सगरमाथा, लुम्बिनी नामक विभिन्न प्रेक्षालय र त्यहाँ राखिएका आठ वटै देशका कलासंस्कृति झल्कने चित्र एवम् तस्वीर तथा सार्कका पूर्वमहासचिवबारे पनि जानकारी लिनुभयो ।

सार्क सचिवालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै उहाँले दक्षिण एशियाका जनताको हित प्रवद्र्धन गर्न क्षेत्रीय सहयोग र एकीकरणमा श्रीलङ्काले निरन्तर सहयोग गर्ने प्रतिबद्धताका साथ सदस्य देशको आर्थिक वृद्धि, सामाजिक प्रगति र सांस्कृतिक संवादमा जोड दिनुभएको छ । पुस्तिकामा उहाँले सार्कका महासचिव र सचिवालयमा कार्यरत सबै कर्मचारीको लगनशीलताको सराहना पनि गर्नुभएको छ ।

त्यसअघि सार्कका महासचिव अम्जद हुसेन बी सियालले सार्कको १९औँ शिखर सम्मेलन चाँडोभन्दा चाँडो आयोजना गर्न सदस्य राष्ट्र्बीच सहमति जुट्ने विश्वास व्यक्त गर्दै १८आैँ शिखर सम्मेलनमा शीर्ष नेतृत्वले सार्कलाई गतिशील बनाउने निर्णय गरेको स्मरण गर्नुभयो ।

सार्कलाई प्रभावकारी एवम् परिणाममुखी तुल्याउन श्रीलङ्काले निरन्तर सहयोग गरेकामा श्रीलङ्काली सरकार र जनताप्रति आभार व्यक्त गर्दै महासचिव सियालले सार्क सांस्कृतिक केन्द्र स्थापनाका निम्ति १७ एकड जमीन र एक करोड अमेरिकी डलर उपलब्ध गराइएको बताउनुभयो ।

उहाँले सार्कको वर्तमान अध्यक्ष नेपालसहित सबै सदस्य देशले सचिवालयलाई निरन्तर साथ, सहयोग र समर्थन गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रपति सिरिसेनाको सोमबार पर्ने जन्मोत्सवको पूर्वसन्ध्यामा सार्क सचिवालयमा भएको उक्त कार्यक्रममा महासचिव सियालले राष्ट्रपतिको सुख, सुस्वास्थ्य र प्रगतिको कामना पनि गर्नुभयो ।

(Visited 87 times, 1 visits today)

टिप्पणी

comments