Main Menu

यस वर्ष ३० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा थपिने

 

30-megawatt-increase-national-gridसाउन १, चौतारा । विसं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका ३ जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।

वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले क्षति पुर्याइ बन्द भएको ४.२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२.२ मेगावाटको चाकु ‘ए’ र ३.२ मेगावाटको गेलुङ खोला आयोजना चाँडै नै सम्पन्न भएपछि थप विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको हो ।

विसं २०७२ वैशाखमा सम्पन्न गरिने लक्ष्य रहेको भोटेकोशी करिडोरअन्तर्गत शिवश्री हाइड्रो पावरद्वारा निर्माण भइरहेको २२.२ मेगावाटको चाकु ‘ए’ आयोजना आगामी माघ महिनामा सम्पन्न गरिने कार्यकारी निर्देशक उमेश कसजुले बताए ।

सो आयोजना सम्पन्न हुने बेलामा भूकम्पले ठूलो क्षति पुर्याएपछि दुई वर्ष ढिलाइ भएको हो । पुनःनिर्माणको काम अगाडि बढाइरहेकै अवस्थामा नाकाबन्दी र गत वर्ष असार तेस्रो साता तिब्बतबाट भोटेकोशीमा आएको बाढीले बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकखण्ड ध्वस्त भई लामो समयसम्म यातायात बन्द भएको थियो । हाल सो आयोजनाको काम तीव्ररुपमा भइरहेकाले आगामी माघसम्म सम्पन्न भई विद्युत् उत्पादन हुने बताइएको छ ।

जुगल गाउँपालिकाअन्तर्गत हगामस्थित ३.१ मेवाको गेलुङ खोला आयोजनाबाट आउँदो असोज महिनाभित्र विद्युत् उत्पादन हुनेछ । त्यसलाई भूकम्प र बाढीपहिरोको असरले गर्दा निर्धारित समयभन्दा २ वर्षपछि सम्पन्न भएको हो ।

निजी क्षेत्रबाट सञ्चालित ४.२ मेगावाटको बरम्ची खोला आयोजना भूकम्पबाट क्षति पुगेपछि विगत २वर्षदेखि बन्द छ । सो आयोजनालाई आगामी कात्तिकसम्म पूर्णरुपमा सञ्चालनमा ल्याइने भएको छ ।

विनाशकारी भूकम्प र बाढीका कारण सञ्चालनमा आइरहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना विगत २ वर्षदेखि बन्द छ ।

(Visited 127 times, 1 visits today)

टिप्पणी

comments