Main Menu

बजार अनुगमनमा ३२ किलो कुखुराको मासु नष्ट

 

असार २७, काठमाडौँ । नियमित बजार अनुगमनका क्रममा गोँगबुमा रहेको दुई मासु पसलबाट ३२ किलो खान अयोग्य मासु नष्ट गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा गोँगबुमा रहेको ओम के फ्रेस मिट हाउसबाट १७ किलो र तनहुँ एण्ड धादिङ मासु पसलबाट १५ किलो खान अयोग्य कुखुराको मासु नष्ट गरिएको हो ।

अनुगमनका क्रममा दुवै पसलले व्यवसाय दर्ता नगरेको, नापतौल प्रमाणीकरण नगरेको र बध गर्ने स्थान समेत अत्यन्तै फोहोर रहेको पाएपछि तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले आजै गोँगबुमा रहेको सात पसलको पनि अनुगमन गरेको छ । अन्य पसल भने सामान्य अवस्थामा रहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी सार्वजनिक यातायातको अनुगमनका क्रममा यात्रुसँग बढी भाडा लिएको १६ सवारी साधनलाई कारबाही गरी बढी भाडा तत्काल फिर्ता गर्न लगाइएको छ भने अन्य ११ सवारी साधनलाई सचेत गराइएको छ ।

विभागले उभोक्तालाई पारदर्शी रुपमा उपभोग्य सामग्री वितरण गर्ने उद्देश्यका साथ पछिल्लो समय अनुगमनलाई तीव्र बनाएको छ ।

(Visited 105 times, 1 visits today)

टिप्पणी

comments