Main Menu

संरक्षणको अभावमा गोल्डेन गेट कुरुप बन्दै

  • लक्ष्मी गारु

golden-gate-lack-protectionअसार २८, भक्तपुर । भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका (गोल्डेन गेट)मा रहेको कलात्मक मूर्ति कुरुप बन्दै गएको छ ।

मूर्तिमा भक्तजनले पूजा गर्ने क्रममा सिन्दूर अबिर लगाउँदा मूर्ति खिइएर प्वाल परेपछि मूर्ति कुरुप बनेको हो ।

गोल्डेन गेटको दायाँबायाँ रहेको कलात्मक मूर्तिले ढोकाको सुन्दरता झल्काउने गरेको छ । ढोकाको दायाँबायाँ रहेको भैरव र कालीको मूर्तिमा प्वाल परेसँगै गोल्डेन गेटको सुन्दरतामा समेत कमी आउन थालेको छ ।

ढोकाको दायाँबायाँ गणेश, कुमार, तलेजुलगायतका मूर्ति रहेका छन् । मल्लकालीन गोल्डेन गेट नेपालकै नमूनाका रुपमा रहेको छ । १ सय वर्षभन्दा बढी समय लगाएर बनाइएको गोल्डेन गेट विश्वप्रसिद्ध रहेको छ ।

यो गेट मल्ल राजा जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजीत मल्ल गरी चार पुस्ता लगाएर बनाइएको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन् ।

दरबार स्क्वार परिसरमा रहेको गोल्डेन गेटमा रहेको मूर्ति संरक्षणको अभावमा दिन प्रतिदिन कुरुप बन्दै गइरहेको छ । धातुले निर्माण गरिएका गोल्डेन गेटका मूर्ति मात्र होइन, दरबार स्क्वायर परिसरमा रहेको यक्षेश्वर महादेव, नरसिंह, तलेजु मन्दिरभित्र रहेका ढुङ्गाका मूर्तिसमेत खिइएर कुरुप बन्दै गइरहेका छन् ।

संस्कृतिकर्मी धौभडेलकाअनुसार हिन्दू परम्पराअनुसार भगवानलाई पूजा गर्दा स्पर्श गरेर पूजा गर्ने प्रचलनले मूर्ति प्वाल परेको हो । पूजा गर्ने क्रममा जल चढाएर अबीर लगाउँदा अबीरमा भएको विभिन्न रसायनले मूर्ति खिइएको र त्यसैले प्वाल पर्न थालेको उनको भनाइ छ ।

धौभडेलले ऐतिहासिक एवम् पुरातात्विक महत्वका कलात्मक मूर्ति तथा सम्पदा संरक्षणमा सम्बन्धित निकायले तुरुन्तै ध्यान पुर्याउनुका साथै समयमै यसको जीर्णोद्धार गर्नुपर्नेमा जोड दिए । मूर्तिमा पूजा नगर्नुभन्दा कसैको धार्मिक आस्थामा चोट पर्नसक्ने हुँदा त्यसतर्फ पनि गम्भीर हुनुपर्ने भन्दै उनले भगवानप्रति आस्था राख्नेले पनि मूर्तिको महत्व बुझी कसरी त्यसको संरक्षण गर्न सकिन्छ, त्यही आधारमा पूजा गर्नुपर्ने बताए ।

भक्तपुर नगरभित्र अवलोकनका लागि आउने पर्यटकका लागि गोल्डेन गेट आकर्षणको केन्द्र बन्दै आइरहेको छ । पछिल्लो समयमा मूर्तिमा प्वाल परेर कुरुप देखिएपछि पर्यटकले समेत गोल्डेन गेटको सुन्दरता हराएको प्रतिक्रिया दिन थालेको पर्यटक पथप्रदर्शक काशिम शाह बताउँछन् ।

उनका अनुसार पर्यटकले समेत ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पदाको संरक्षण गर्नुपर्ने सल्लाह सुझाव दिने गरेको छ । हालै बङ्गलादेशबाट आएका एक दम्पतीले नपालले शुल्क भने लिने तर सम्पदाको संरक्षणमा चासो नदिएको भनी गुनासोसमेत गरेको उनले बताए ।

त्यसैगरी अर्का पथ प्रदर्शक राम सिलाकारले गोल्डेन गेटमा रहेको मूर्तिमा प्वाल परेको सम्बन्धमा पर्यटकले जिज्ञासा राख्ने गरेको बताए । सिलाकारले अवलोकनका लागि आउने प्रति पर्यटकले १५ डलर तिरेर आएअनुसार चित्त नबुझाएको पाएको बताए ।

दरबार स्क्वायर परिसरमा भेटिएका चाइनिज पर्यटक ह्वाङ हान र लि हानले गोल्डेन गेटको मूर्तिको प्वालले गेट नराम्रो देखिएको भन्दै सकेसम्म चाँडै यसको संरक्षण गर्नुपर्ने सल्लाह दिए ।

भक्तपुरको ऐतिहासिक सम्पदा अवलोकनका लागि भक्तपुर नगरप्रवेश गर्ने पर्यटकले १५ डलर शुल्क तिर्नु पर्छ । पर्यटकको अकार्षणको केन्द्रबिन्दुको रुपमा रहेको विश्व सम्पदामा सूचीकृत गोल्डेन गेटको संरक्षणमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

सम्पदा संरक्षणको जिम्मा पाएको दरबार हेरचाह तथा संरक्षण कार्यालय भक्तपुर र भक्तपुर नगरपालिकाले भूकम्पले क्षति पुर्याएका सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा केन्द्रित हुनुपरेकाले तत्काल गोल्डेन गेटको मूर्ति मर्मत गर्ने योजना नभएको जनाएको छ ।

भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले पुरातत्वबाट अहिलेसम्म गोल्डेन गेटको सम्बन्धमा कुनै आदेश नआएको जानकारी दिए । सम्पदा संरक्षणसम्बन्धी पहिलो दायित्व दरबार हेरचाह कार्यालयको भएकाले नपा स्वयंले कुनै कार्य गर्न नमिल्ने बताउँदै उनले उताबाट आदेश आएको अवस्थामा नपाले तत्काल त्यसको संरक्षणका लागि बजेट छुट्याइ काम गर्ने बताए ।

उता दरबार हेरचाह तथा संरक्षण कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले गोल्डेन गेटको संरक्षणका लागि अहिले कुनै कार्यक्रम नभएको जानकारी दिए । उनले भूकम्पले क्षति पुर्याएको सम्पदा संरक्षण र पुनःनिमार्ण कार्यमा व्यस्त रहेकाले त्यतातिर ध्यान नपुगेको बताए ।

(Visited 146 times, 1 visits today)

टिप्पणी

comments