Main Menu

प्राविधिक शिक्षालयबाट चार हजार जनशक्ति उत्पादन

4-thousand-skilled-manpower-producedभदौ २६, जुम्ला । मुलुककै जेठो प्राविधिक विद्यालयको नाम दर्ज गर्न सक्षम कर्णाली प्राविधिक शिक्षालय जुम्ला प्राविधिक जनशक्ति उत्पादनको उत्तम थलो मानिँदै आएको छ ।

विसं २०३७ मा स्थापित यो प्राविधिक शिक्षालयले राज्यले निकै दुर्गम मानेको हिमाली जिल्ला जुम्लाबाट मुलुकलाई दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराउँदै आएको छ ।

स्थापनाकालदेखि हालसम्म यसले राज्यलाई झण्डै ४ हजार प्राविधिक जनशक्ति प्रदान गरेको शिक्षालय प्रमुख राजकुमार चौधरीले जानकारी दिए । उत्पादित प्राविधिक जनशक्तिमा २ हजार ६०० पुरुष र १ हजार ३०० महिला रहेको उनले बताए।

सिटिइभिटीको अभिलेखलाई उद्धृत गर्दै शिक्षालय प्रमुख चौधरीले कर्णाली प्राविधिक शिक्षालयले उत्पादन गरेको ८० प्रतिशत जनशक्ति मुलुकका विभिन्न निकायमा रोजगार रहेको बताए ।

विसं २०६५/०६६ सम्म एसएलसी तहसम्मको निर्माण, कृषि र स्वास्थ्य संकायको प्राविधिक शिक्षा दिइरहेको शिक्षालयले हाल आइएस्सीएजी, सिभिल इञ्जिनियर र फरेस्ट्री तहसम्मका कार्यक्रम पनि सञ्चालन गरिरहेको उनले बताए । पछिल्लो समयमा शिक्षालयबाट प्राविधिक जनशक्ति उत्पादनको संख्या बढिरहेको बताउँदै उनले अझ शिक्षालयको जति विकास र प्रगति हुनुपर्ने थियो त्यो नभएको बताए ।

त्यसो हुनुका मूल कारण राजनीतिक प्रभाव र नयाँ पुस्तामा हराउँदै गएको अनुशासनलाई उनले औँल्याए । शिक्षालयको विकासप्रति यहाँको राजनीतिक दल तथा सरोकारवालाको सरोकार नहुँदा लक्ष्यअनुरुप अघि बढाउन कठिन भएको गुनासो गर्दै प्राविधिक जनशक्ति उत्पादनको नर्सरीका रुपमा परिचित शिक्षालयलाई माथि उठाउन सबै क्षेत्रको साथ सहयोगको खाँचो रहेको उनको भनाइ छ ।

मुलुककै गरिमाको थलो कर्णाली प्राविधिक शिक्षालय जुम्लाको घेराबार नहुँदा पनि थुप्रै असुरक्षा पैदा भएको शिक्षालय उपप्रमुख हंसबहादुर शाहीले बताए । आर्थिक अभावले ६५२ रोपनी क्षेत्रफल ओगटेको शिक्षालयमा बलियो घेराबार बन्न नसक्दा विद्यार्थीलाई जाने आउने कुरामा पनि अनुशासनमा राख्न कठिनाइ भएको उपपप्रमुख शाहीको भनाइ छ । यसका लागि विभिन्न निकायमा पहल भइरहेको बताइएको छ ।

शिक्षालय प्रगतिको बाधकको पहिलो पक्ष स्थानीय समुदाय रहेको त्यहाँ अध्यापनरत शिक्षक बताउँछन् । गाईगोरु जथाभावी छोड्ने, शिक्षालयको नियमलाई बेवास्ता गरी भित्र पस्ने, त्यसलाई चरन थलो बनाउने, अध्ययन अध्यापन तथा परीक्षा जस्तो कुरामा अनावश्यक दबाब दिने, त्यसो नगर्न अनुरोध गरे उल्टै धम्की दिने परिपाटीले आफैँ असुरक्षित भएको उनीहरु बताउँछन् ।

प्राविधिक जनशक्तिको उद्गम थलो कर्णाली प्राविधिक शिक्षालय जुम्लाका कारण सन् १९८९ मा सिटिइभिटीको जन्म भएको शिक्षालयको दाबी छ । तर पनि राज्यले यसमा राख्नुपर्ने सरोकारमा बढोत्तरी नदिँदा शिक्षालयको शैक्षिक तथा व्यवस्थापकीय गुणस्तरमा वृद्धिको दायरा खुम्चिँदै गएको पाइन्छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले शिक्षालय विकासका लागि सबैको साझा सहयोगको आवश्यकता रहेको औँल्याए । त्यहाँको शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि केके गर्न सकिन्छ भनेर शिक्षालय प्रमुखलाई कार्ययोजना तयार गर्न निर्देशन दिएको उनले बताए ।
स्थापनाको झण्डै ४ दशक पुग्दै गरेको शिक्षालयको शिक्षाप्रति झनै आकर्षण बढ्दै गएको लेखा अधिकृत नारायणराज विष्टले बताए । अहिले पनि हजारौँ विद्यार्थी प्राविधिक शिक्षा लिनका लागि ओइरो लागिरहेको उनको भनाइ छ । शिक्षालयमा कर्णालीका ५ जिल्ला, दैलेख, जाजरकोटले प्रत्यक्ष सेवा लिइरहेका छन् भने मुलुकका अधिकांश जिल्लाका विद्यार्थीले पनि शिक्षालयमा अध्ययन गर्दै आइरहेका छन् ।

(Visited 97 times, 1 visits today)

टिप्पणी

comments