Main Menu

गतवर्ष ६ हजार १ सय मानव बेचबिखनमा, ९८ प्रतिशत महिला

6100-human-trafficking

असार २१, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२/७३ मा ६ हजार १०० महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन सार्वजनिक गरेको छ । 

आयोगले मंगलबार सार्वजनिक गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन’ मा आव २०७२/७३ मा ६ हजार १०० महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ । बेचबिखनमा परेकामध्ये ९८ प्रतिशत महिला रहेको छ ।  प्रतिवेदनमा १३ हजार ६०० बेचबिखन तथा ओसारपसारको जोखिममा परेको प्रक्षेपण गरिएको छ । ३ हजार ९०० जना हालसम्म पनि हराइरहेको र तीमध्ये ७० प्रतिशतभन्दा बढी बालिका रहेको जनाइएको छ । 

 

महिला तथा बालिकालाई जबर्जस्ती यौन कार्यका लागि चीन, सुरक्षा गार्डका रुपमा अफगानिस्तान, संयुक्त राज्य अमेरिका, दक्षिण कोरियामा तस्करी हुने गरेको पाइएको छ । मानव तस्करी कार्यमा प्रमुख रुपमा संग्लन व्यक्ति, भर्ना गर्ने निजी कम्पनी, शैक्षिक परामर्श केन्द्र छन् । अर्केस्ट्रा र नेटवर्क व्यापारका नाममा नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाबाट महिला तथा बालिकाको बेचबिखन तथा ओसारपसार हुने गरेको नयाँ आयाम देखिएको पाइएको छ । 

 

नेपाल प्रहरीमा सो आवमा २१२ वटा मानव बेचबिखनको मुद्दा दर्ता भएको छ, जसमा ३५२ पीडित छन् । मुद्दामा प्रत्येक १० जनामा ४ जना बालबालिका बेचबिखनबाट पीडित भएको, प्रत्येक ४ जना पीडितमा ३ शिक्षित/साक्षर नभएको, बहुमत पीडित जनजाति ४८ प्रतिशत, ब्राह्मण/क्षेत्री २९ प्रतिशत, १५ प्रतिशत दलित र ८ प्रतिशत मधेसी समुदायका छन् । 

प्रतिवेदनका अनुसार नेपाल प्रहरीमा दर्ता भएको २१२ मुद्दामा ३७६ जना अभियुक्त छन् । प्रत्येक ४ जनामा ३ जना पुरुष अभियुक्त रहेको र अभियुक्तमध्ये दुई तिहाइ ३५ वर्षमुनिका रहेका छन् । 

 

विनाशकारी भूकम्प प्रभावित १४ जिल्लाको नेपाल प्रहरीको उजुरी दर्ता सङ्ख्या भूकम्पअघि र भूकम्पपछि गरी ३ वर्षको सङ्ख्या १ हजार ५६९ बाट बढेर १ हजार ६९३ भई करिब १५ प्रतिशतले वृद्धि भएको छ । जबर्जस्ती करणी मुद्दाको सङ्ख्या १७५ बाट बढेर २१६ पुगेको छ । जबर्जस्ती करणी उद्योगको सङ्ख्या सोही अवधिमा ८० बाट बढेर ९० हुन गएको प्रतिवेदनमा उल्लेख छ । 

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालका अनुसार सरकारी संयन्त्र बलियो बनाउँदा पनि बेचबिखनमा न्यूनीकरण हुन सकेको छैन । आयोगका अध्यक्ष अनुपराज शर्माका अनुसार मानव बेचबिखन घट्नुपर्ने अवस्थामा डरलाग्दो तरिकाले बढ्दै छ ।

“पहिला गरिबी र अशिक्षाले बेचबिखन हुने गरेको थियो तर अहिले पढेलेखेका पनि बेचिएका छन्”– अध्यक्ष शर्माले थपे । 

(Visited 138 times, 1 visits today)

टिप्पणी

comments