Main Menu

भरतपुर १९ मा ७५ प्रतिशत मतदान

साउन २०,  चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ ।

उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा दुई हजार ८ सय ७० मत खसेको हो । सोअनुसार जीवनज्योति राष्ट्रिय प्राथमिक विद्यालय केन्द्रमा एक हजार १४, किरण मावि किरणगञ्ज केन्द्रमा नौ सय ५३ र शारदा मावि शारदानगर केन्द्रमा नौ सय तीन मत खसेको छ ।

यसअघि सो वडामा दुई हजार ८ सय ९७ मत खसेको थियो । सो वडामा तीन हजार ७ सय ९७ मतदाता छन् । पहिलेभन्दा २७ मत कम खसेको हो । दुई दिनदेखि परेको वर्षा, यससँगै धान रोपाईँको चटारो, नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध तथा दुई पटक मतदान गर्नुपर्दा मतदाता रुष्ट बनेका कारण मत कम खसेको अनुमान गरिएको छ ।

महानगरपालिकाका २७ वटा वडाको मतगणना सम्पन्न भइसकेर दुईवटा वडाको मत गन्न बाँकी रहँदा मतपत्र च्यातिएको थियो । सत्ताइसवटा वडाको अन्तिम परिणामनुसार नेकपा (एमाले)का प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९ सय ८० तथा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १ सय ९४ मत प्राप्त गर्नुभएको थियो । महानगर–२० को तीन हजार ३ सय २ मतगणना गर्न बाँकी छ ।

मतपत्र संकलन भएपछि दलको सहमति भएमा आजै साँझदेखि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । यसअघि मतपत्र च्यातिएपछि मतगणनस्थल भरतपुरको कभर्ड हलमा तीन सिसी क्यामरा जडान गरिएको छ । मतगणनास्थलमा जाली लगाई प्रतिनिधि जाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

(Visited 88 times, 1 visits today)

टिप्पणी

comments