Main Menu

चितवनमा सवारी दुर्घटनाका कारण एक वर्षमा १६३ को मृत्यु

 

साउन ५, चितवन । गत आवमा चितवनमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन्, जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए ।

अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा ११४ जना गम्भीर र १२१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कायालयले जनाएको छ ।

कार्यालय प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आव २०७१/७२ मा १२६ वटा दुर्घटना भएका थिए, जसका कारण ८२ जनाको मृत्यु १२७ जना गम्भीर र १३२ जना सामान्य घाइते भएका थिए ।

गत आवमा सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडकखण्डमा २९ प्रतिशत, पूर्वपश्चिम राजमार्गमा २२ प्रतिशत, पृथ्वीराजमार्गमा १७ प्रतिशत, भरतपुर क्षेत्रमा १४ प्रतिशत र अन्य भित्री सडकमा १८ प्रतिशत सवारी दुर्घटनामा मृत्यु भएको चर्चा गर्दै उनले दुर्घटना बढ्नुको कारणबारे अनुसन्धान भइरहेको बताए । १५८ वटा दुर्घटना चालकको लापर्बाहीबाट, १६ वटा अर्कोलाई उछिन्ने क्रममा, ४५ वटा तीव्र गतिका कारण, १२ वटा मादक पदार्थ सेवन गरी चलाएका कारण, २ वटा यान्त्रिक गडबढीका कारण, चारवटा अधिक भार ‘ओभरलोड’का कारण, १३ वटा यात्रुको गल्तीका कारण, ५ वटा सडकको अवस्थाका कारण र ३ वटा प्राकृतिक प्रकोपका कारण दुर्घटना भएको अनुसन्धानमा देखिएको पन्तले बताए ।

प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पछिल्लो समय कहालीलाग्दो गरी दुर्घटना भएको भन्दै यसको न्यूनीकरणका लागि आवश्यक गृहकार्य भइरहेको बताए । प्रहरी एक्लैले दुर्घटना न्यूनीकरण गर्न सम्भव नहुने भन्दै उनले सरोकारवाला पक्षले पनि यसका लागि पहल गर्नुपर्ने बताए ।

(Visited 95 times, 1 visits today)

टिप्पणी

comments