Main Menu

नेपाल अफ्गानिस्तानसित १४१ रनले पराजित

 

afghanistan-defeat-nepal-icc-u-19साउन ५, काठमाडौँ । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ ।

अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४९ रन बनायो ।

खेलमा नेपालले खराब शुरुवात गरेको थियो । मात्र उन्नाइस रन बनाउँदा १०.१ ओभरमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट गुमाएको थियो । पवन सर्राफले २६ रन बनाए । उनले ५२ बलको सामना गरी ३ चौका प्रहार गरे । अन्य सबै ब्याटस्म्यान अफगानिस्तानका बलससामू धरासायी भए । ४ जना खेलाडी शून्यमै आउट भए ।

अफगानिस्तानका लागि मुजीब जर्दान र नवीन उल हकले चार/चार विकेट लिए । जर्दानले ९ ओभरमा ५ मेडन राखि मात्र ७ रन खर्चे । नवीनले ४ ओभरमा १ मेडन राखेर ८ रन दिए । उनले तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा प्रनित थापामगर र छैटौँ बलमा अनिल शाहलाई आउट गरी ह्याट्रिक समेत गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.४ ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनायो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै १ छक्का र ५ चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शाहव आलमले ३ विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले २-२ विकेट लिए । सर्राफले ७ ओभरमा २ मेडन राखि १९ रन तथा सन्दिपले ९.४ ओभर बलिङ गर्दै २ मेडन राखि ३० रन दिए ।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुर तथा दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो ।

(Visited 104 times, 1 visits today)

टिप्पणी

comments