Main Menu

अस्पतालमा चिकित्सक नहुँदा प्रसूतिको शल्याक्रिया बन्द

 

vacant-doctor-post-poses-maternity-difficultyसाउन ५, त्रिशूली (नुवाकोट) । नुवाकोटको एक मात्र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूतिको शल्यक्रिया सेवा एक सातादेखि बन्द भएको छ ।

त्रिशूली जिल्ला अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएमा शल्यक्रिया गराउने विशेषज्ञ चिकित्सक नहुँदा सेवा बन्द भएको अस्पतालले जनाएको छ । सामान्य प्रसूति गराउने सेवा बन्द नभए पनि शल्यक्रिया सेवा बन्द भएका कारण प्रसूतिका समयमा जटिलता उत्पन्न हुनसक्ने भयले गर्भवती राजधानी धाउन बाध्य भएको त्रिशूली अस्पतालका चिकित्सक डा. राजेन्द्र लामाले बताए ।

नुवाकोट, रसुवा र धादिङको उत्तरी क्षेत्रका बिरामीको दैनिक उपचार तथा प्रसूति सेवा प्रदान गर्दै आएको जिल्ला अस्पतालमा चिकित्सक नहुंँदा प्रसूति सेवा बन्द भएपछि स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराइएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताए । अस्पतालमा दैनिक १२ देखि १५ सुत्केरी हुने गर्छन् ।

प्रसूति सेवा बन्द भएपछि प्रसूति विशेषज्ञ पठाइदिन प्रमुख पण्डितले स्वास्थ्य मन्त्रालयका सचिव डा. किशोर रेग्मीसँग माग गरेका छन् । आज अस्पतालको निरीक्षण गर्न आएका मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा. वासुदेव पाण्डेको टोलीलाई अस्पतालमा दुई प्रसूति विशेषज्ञ पठाउन माग गरिएको पण्डितले बताए ।

विगतमा एक मात्र विशेषज्ञ चिकित्सक भएकाले सेवा बेला-बेला प्रभावित हुने गरेको थियो । डा. पाण्डेको टोलीले जिल्ला अस्पतालमा पुगेर नगर प्रमुख पण्डित, अस्पताल विकास समिति, अस्पताल सरोकार समिति तथा अस्पताल प्रशासन र चिकित्सकसंँग अन्तरक्रिया गरी छिटोभन्दा छिटो प्रसूति विशेषज्ञ पठाइदिने आश्वासन दिएको अस्पतालका डा. लामाले जानकारी दिए ।

अस्पतालमा कार्यरत प्रसूति विशेषज्ञ डा. विनम्र सिलवाल काज अवधि पूरा भएर फर्किएपछि उनको स्थानमा मन्त्रालयले कोही पनि नपठाउंँदा एक सातादेखि समस्या आएको हो । ४ दशक पुरानो ५० शय्याको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा १७ चिकित्सकको दरबन्दी रहेकामा २ मात्र स्थायी दरबन्दीका चिकित्सक रहेको अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले जानकारी दिए ।

(Visited 171 times, 1 visits today)

टिप्पणी

comments