Main Menu

बम समात्ने हवल्दार रानाको सहायक निरीक्षकमा बढुवा

 

habaldar-rana-promotedसाउन ५, काठमाडौँ । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरिएको छ ।

उत्कृष्ट कार्य गरेबापत रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।

“रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दर्ज्यानी चिह्न प्रदान गरिनेछ,” प्रवक्ता खनालले भने ।

गत असार १४ गते भएको मतदानका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेका थिए । बम फालेलगत्तै हवल्दार रानाले त्यसलाई तत्काल हातले समातेर सुरक्षित स्थानमा फाली जनधनको क्षति हुनबाट जोगाएका थिए ।

त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले रानालाई फोन गरेर उनको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए ।

(Visited 118 times, 1 visits today)

टिप्पणी

comments