Main Menu

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

भदाै २९, तुलसीपुर

अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोड्नुभएको छ ।

आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आउनुभयो । आँखामा समस्या भएपछि गाउँघरमा अझै पनि देवी देउता लागेको र आँखा बन्द तथा कमजोर भएको भन्ने अन्धविश्वास कायमै रहेको छ । आँखामा समस्या आएपछि धामीझाँक्रीबाट झारफुक गर्ने प्रचलन र हेल्चेक्रयायीले गर्दा धेरैले दृष्टिविहीनताको समस्या भोग्नुपरेको छ ।

एक वर्ष पहिले आँखा कमजोर भएकी रोकायले गाउँघरमा धामीझाँक्रीलाई देखाएको र एक वर्षसम्म विभिन्न झारफुक गरेर पनि सञ्चो नभएपछि दाङको लमहीस्थित आँखा अस्पतालमा उपचारका लागि उहाँका श्रीमान्ले ल्याउनुभएको छ ।

बिहीबार लमही आँखा अस्पतालमा उपचारका लागि आएका रोकायका परिवारले धामीले भूतप्रेत लागेको भने र झारफुक गरेको र पछि दुवै आँखा बन्द भएपछि स्थानीयको सल्लाहमा आँखा अस्पतालसम्म आएको श्रीमान् लालबहादुर रोकायले बताउनुभयो ।

“गाउँघरमै धामीझाँक्री गर्दा सञ्चो नभएपछि उपचारका लागि यहाँ आएका हौँ अहिले आफ्नो बच्चालाई समेत उसले चिन्न नसक्ने भएको छ”, लालबहादुरले भन्नुभयो ।

त्यस्तै रोकायको दुवै आँखामा मोतिबिन्दुका कारण बन्द भएको अस्पतालका नेत्र विशेषज्ञ डा एरिक वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार रोकायको एउटा आँखामा मोतिबिन्दु धेरै पुरानो भएको र एउटा आँखामा मोतिबिन्दु भर्खर शुरु भएको बताउनुभयो ।

डाक्टर वैद्यले रोकायको आँखामा देखिएको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने बताउनुभयो । रोकायको जाँच भइरहेको र दुवै आँखामा मोतिबिन्दु रहेकाले आँखा बन्द भएको बताउनुभयो ।

त्यसैबीच आर्थिक अवस्था कमजोर भएका रोकाय परिवारलाई लमही आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाएको वरिष्ठ प्रशासकीय अधिकृत शमशेर थापाले बताउनुभयो । सो परिवारलाई खान, बस्न र यातायात खर्चमा समेत सहयोग गर्ने अस्पतालले जनाएको छ ।

(Visited 99 times, 1 visits today)

टिप्पणी

comments