Main Menu

पुनःनिर्माण प्राधिकरणको करिब साढे १ खर्बको बजेट पारित

 

authority-budget-programs-passedअसार २८, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।

प्राधिकरण निर्देशक समितिको आजको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि रु. १ खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनःनिर्माणमा हालसम्म भएका कामको समीक्षा पनि गर्यो ।

बैठकमा सहभागी समिति उपाध्यक्ष एवम् नेकपा (एमाले) का नेता भीम रावलले प्राधिकरणको कार्यप्रगति सुस्त रहेको आरोप लगाए ।

“अहिलेसम्म साढे २ हजार घर पनि नबनेको देखियो,” रावलले भने, “कर्मचारीका सम्बन्धमा पुरानै समस्या पुनरावृत्ति भयो । प्राधिकरणको काम छिटो छरितो होस् भनी निर्देशन दिइएको छ ।”

निर्माणाधीन घरको सङख्या १ लाख १० हजार रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिए ।

“म आउनुअघि १ हजार घर पनि बनेका थिएनन्,” उनले भने, “अहिले ४० हजार घर निर्माण भएको छ । ५० हजार विद्यालय पुनःनिर्माणको क्रममा छन् ।”

प्रकाअ पोखरेलले आफू आउनुअघि बन्दै नबनेका घर बन्यो भनी प्राधिकरणकै वेभसाइटको तथ्याङ्कले देखाएको पनि बताए ।

प्राधिकरण ऐनअनुसार पुनःनिर्माणका लागि छुट्याइएको बजेट निर्देशक समितिले पारित गर्नुपर्छ ।

३१ जिल्ला हेर्ने गरी बनेको सङ्घठन संरचना पनि आजको बैठकले पारित गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । 

(Visited 86 times, 1 visits today)

टिप्पणी

comments