Main Menu

कीर्तिपुरमा भूकम्पपीडितलाई घर नक्सापास गर्न ९० प्रतिशत कर छुट दिने

 

kirtipur-earthquake-victim-90-percent

तस्बिर : ourkirtipur.com.np

असार २८, काठमाडौँ । कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले बताए । यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिने भएको छ ।

प्रमुख महर्जनका अनुसार सभाले नयाँ आर्थिक वर्षको रु. ७९ करोड ५६ लाख १४ हजार बजेट विनियोजन गरेकामा पुँजीगततर्फ रु. ५६ करोड ९५ लाख र चालुतर्फ रु. १२ करोड बजेट विनियोजन गरेको छ ।

प्रमुख महर्जनका अनुसार सभाले खानेपानीको लागि रु. १९ करोड नगर सडकका लागि रु. ५ करोड, युवालाई स्वरोजगार बनाउनका लागि रु. १ करोड, नगर बस सञ्चालन गर्न ५० लाख, सामुदायिक विद्यालयमा कम्प्युटरका लागि रु. ५० लाख बजेट छुट्याएको छ ।

सभाले कीर्तिपुरको विकास योजना बनाउनका लागि पूर्व प्रमुख हिराकाजी महर्जनको संयोजकत्वमा कीर्तिपुर विकास परिषद्समेत गठन गरेको छ । यसैगरी सभाले वडा नं– ४ र ६ बाहेक प्रत्येक वडामा रु ५० लाख बजेट विनियोजन गरेको छ ।

वडा नंं ४ र ६ ग्रामीण क्षेत्रमा पर्ने भएकाले रु. ७० लाख बजेट विनियोजन गरिएको प्रमुख महर्जनले जानकारी गराए । सभाले मधुमेह र उच्च रक्तचापको वृद्धा बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तैगरी एकै बैंकबाट दिइरहेको सामाजिक सुरक्षा भत्तालाई अन्य बैकबाट पनि दिलाउने निर्णय गरेको छ ।

सभाले पहिलेदेखि लिइआएको करलाई यथावत् राख्दै कर नबढाउने निर्णय गरेको उपप्रमुख सरस्वती खड्काले जानकारी गराइन् ।

(Visited 89 times, 1 visits today)

टिप्पणी

comments