Main Menu

बर्डफ्लुबाट क्षति बेहोरेका किसानलाई ७० प्रतिशत राहत थप

 

birdflu-damage-receive-compensationअसार २८, रत्ननगर (चितवन) । बर्डफ्लुबाट कुखुरा नष्ट भएका चितवनका किसानका लागि ७० प्रतिशत थप राहत रकम आएको छ ।

जिल्ला पशुसेवा कार्यालय चितवनकाअनुसार बर्डफ्लुबाट नोक्सान बेहोरेका यहाँका १५ जना कुखुरा व्यवसायीका लागि यसरी राहत आइपुगेको हो ।

“राहत रकम आइपुगेको छ,” कार्यालयका प्रमुख डा. डिल्लीराम सेढाईंले भने, “आवश्यक कागजात र प्रमाण सङ्कलनका क्रममा छौँ, संकलन हुने बित्तिकै उनीहरुको खातामा रकम पठाइदिन्छौँ,”  ।

सेढाईंकाअनुसार यस वर्ष १५ जना किसानका लागि रु. ७८ लाख ९० हजार रकम आएको छ । क्षति पुगेका किसानले विगतमा सरकारले उपलब्ध गराएको राहत रकमको ७० प्रतिशत रकम पाउने डा. सेढाईं बताउँछन् । २०७० सालमा चितवनमा विभिन्न १५ वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको थियो । ती फार्मबाट सरकारी निकायले मात्रै ७१ हजार ६८० कुखुरा नष्ट गरिएको थियो ।

यस्तै ३ लाख २५ हजार अण्डा र १५ टन दाना नष्ट गरिएको थियो । सो समयमा पीडित व्यवसायीलाई रु. १ करोड २४ लाख राहत वितरण गरिएको तत्कालीन पशुसेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्की बताउँछन् ।

सो समयमा आशा पोल्ट्री फर्म भरतपुरको सबैभन्दा धेरै कुखुरा नष्ट भएको थियो । उक्त फार्मले शुरुमा रु. ३४ लाख ४८ हजार २५० राहत रकम पाएको थियो । अहिले पहिलो प्रदान गरिएको राहतको ७० प्रतिशत रकम सरकारबाट थप आएकाले अब उक्त फार्मले रु. २४ लाख १३ हजार ७७७ पाउने पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

यस्तै मेघा ग्रुप अफ पोल्ट्री फार्मले रु. १६ लाख पाउने भएको छ भने अन्य कुखुरा व्यवसायीको रु. ७ लाखभन्दा तल राहत रकम आएको छ । अहिले पीडित व्यवसायीबाट आवश्यक प्रमाणसहित निवेदन आउने क्रम जारी रहेको र प्रमाण पुगेपछि रकम पठाइने कार्यालयले जनाएको छ । आज निवेदन दिन भरतपुर आइपुगेका पश्चिम चितवन मङ्गलपुरका निशाल पोल्ट्रीका सञ्चालक राजेन्द्र हमाल अझै राहत रकम नगन्य भएको बताउँछन् ।

उक्त समयमा हमालको ७ हजार कुखुरा नष्ट भएको थियो । सरकारी तवरमा जम्मा ३ हजार २०० मात्रै कुखुरा नष्ट भएकाले अरु बाँकी मरेका कुखुरा पूरै घाटा लागेको उनी बताउँछन् ।

“मेरो करिब रु ४० लाख बढी क्षति भो,” हमालले भने, “पहिले ४ लाख १९ हजार राहत आयो । अहिले करिब ३ लाख आएको छ । यसले के राहत पायो भन्नु ?”

हमालसँगै न्यू एसएस पोल्ट्रीका कृष्ण पाण्डेको पनि आजै पशुसेवा कार्यालयमा निवेदन आएको छ । १ हजार ४०० कुखुरा नष्ट भएको उनले यसपालि रु. १ लाख २९ हजार राहत पाउँदैछन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालका अनुसार थप राहत रकम आएकाले किसानलाई पशुसेवा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

(Visited 106 times, 1 visits today)

टिप्पणी

comments