Main Menu

एएफसी यु-२३ छनोट प्रतियोगिताको लागि सहभागी टोलीलाई बिदाइ

 

u23-team-felicitatedअसार २८, काठमाडौँ । संयुक्त अरब इमिरेट्समा हुने एएफसी यु–२३ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर बिदाइ गरे ।

यही असार ३१ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘डी’मा परेको छ । नेपालको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेबनान छन् जसमा नेपालले आफ्नो पहिलो खेल युएईसँग शनिबार खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यसैगरी दोस्रो खेलमा नेपाल सोमबार उज्वेकिस्तानसँग भिड्नेछ भने तेस्रो तथा समूह चरणको अन्तिम खेल बुधबार लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।

सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता र १० समूहका उत्कृष्ट पाँच उपविजेता टोली फाइनल प्रतियोगिताको लागि छनोट हुने प्रावधान छ । त्यस्तै आयोजकका हैसियतले चीन भने प्रतियोगितामा सिधै छनोट हुनेछ ।

नेपाली टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

(Visited 140 times, 1 visits today)

टिप्पणी

comments