Main Menu

बाघमाराको प्राचीन पहिचान कालिका मन्दिर

baaghmara-identification-kalika-templeभदौ २५, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित बाघमाराले पोखरा र लेखनाथका विभिन्न स्थानबाट सडक सञ्जालले जोडिएसँगै एकाएक बजारीकरणमा फड्को मार्दै गएको छ ।
सो क्षेत्र कास्की जिल्लामा नै कृषि पर्यटनका लागि आकर्षक गन्तव्यसमेत बन्दै गएको छ । यहाँ उत्पादित कृषिजन्य दूध, तरकारी आदिको पोखराको बजारमा निकै माग हुने गरेको छ । बजारीकरणको विकास विस्तार भए पनि यसको वास्तविक पहिचानका रुपमा रहेको कालिका मन्दिर भने प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

कालिकामन्दिर बाघमारामा बस्ती बस्नुभन्दा धेरै पहिलेदेखि अस्तित्वमा रहेको स्थानीयवासी एवं कालिकामन्दिर संरक्षण समितिका कोषाध्यक्ष ढाकाराम आचार्यले बताए । कालिका मन्दिरको इतिहास खोतल्दा यो १०० वर्षभन्दा पनि पुरानो भएको यथेष्ट प्रमाण छन्, स्थानीयवासीको पहलमा हाल लगभग १ रोपनीभन्दा बढी क्षेत्रफलमा प्राचीनकालदेखि पूजा गरिँदै आएको शिलासहितको मन्दिर र लगभग २० वर्षअघि निर्माण गरिएको नयाँसहित २ वटा मन्दिरको परिसरलाई पर्खाल लगाएर संरक्षण गरिएको छ ।

मनोकामना पूरा हुने विश्वासका साथ बाघमारा र आसपासका दर्शनार्थी मन्दिरमा पूजाआजाका लागि आउने गरेका छन् । स्थानीयवासी एवं महाकाली टोल विकास संस्थाका अध्यक्ष लालुप्रसाद पराजुली प्राचीन ऐतिहासिक मन्दिर भएर पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताउछन् । बाघमारामा पछिल्लो समय तीव्र रुपमा बजारीकरण भइरहे पनि यहाँ बस्ती बस्नु पूर्वदेखि नै कालिका मन्दिरको अस्तित्व रहिआएको पाइन्छ, पराजुलीले यस्ता प्राचीन एवं सांस्कृतिक धरोहरको इतिहास खोतल्दै थप उजागर गर्नु वर्तमानमा युवाको दायित्व हो भने।

कालिका मन्दिर नजिकै रहेको सरस्वती टीका मावि र सरस्वती टीका बहुमुखी क्याम्पसका कारण यो क्षेत्र शैक्षिक केन्द्रका रुपमा पनि विकास हुँदै गएको छ । गुणस्तरीय शिक्षाका लागि क्रियाशील बन्दै गएका यी शैक्षिक संस्था विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न सफल बनेका छन् । 

दशैँमा यस मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । बाघमाराको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिका मन्दिरको प्राचीनता सम्बन्धमा थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको स्थानीयवासी विष्णुप्रसाद आचार्यले बताए । उनका अनुसार समुदायको रक्षा र सुखशान्तिका लागि परापूर्वकालमा नै मन्दिर स्थापना गरिएको पाइए पनि यहाँको बस्ती विकासको क्रमले भने २०२५ सालपछि मात्र तीव्रता पाएको हो ।

सुरु सुरुमा औलोको प्रकोप हुनेलगायत कारणबाट मानिस पाखामा बस्ने गरेकामा सोको नियन्त्रणमा सरकारी प्रयास सुरु भए पनि बेँसीतिर झर्ने प्रचलन बढेको स्थानीयवासी एव् आदर्श टोल विकास संस्थाका उपाध्यक्ष चिरञ्जीवी दाहालले बताए ।
प्रत्येक सांस्कृतिक धरोहरको इतिहासलाई जोगाउनु पछिल्लो युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने स्थानीयवासी युवा दीपेन्द्र भुसाल बताउछन् । बाघमाराको इतिहाससँग प्रत्यक्ष जोडिएको कालिका मन्दिरसँग सम्बन्धित प्राचीन पक्षको खोजी गर्दै यसको प्रचारप्रसार गर्नु वर्तमान युवा पुस्ताको महत्वपूर्ण दायित्व भएको र उनले इतिहास आफैँमा महत्वपूर्ण हुन्छ, यसलाई मेटिन दिननहुने बताए ।

(Visited 150 times, 1 visits today)

टिप्पणी

comments