Main Menu

पाँच ‘स’प्रति प्रतिवद्ध रहने उद्घोष

डा. बाबुराम भट्टराईव्दारा पार्टी परित्याग

प्रेस सम्मेलनमा डा. वावुराम भट्टराई

प्रेस सम्मेलनमा डा. वावुराम भट्टराई

काठमाडौं असोज ९ । नेपाली राजनीति देशभित्र र बाहिरबाट पेचिलो बन्दै गैरहेको स्थितिमा एकाएक एमाओवादी नेता बाबुराम भट्टराईले एकीकृत माओवादी पार्टी परित्याग गरेका छन् । आज दिउँसो काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य र रुपान्तरित व्यवस्थापिका संसदको सभासद पदबाट पनि राजीनामा दिएको घोषणा गरेका हुन् । उनले यो जानकारी एमाओवादी पार्टी अध्यक्ष प्रचण्डलाई र सभामुख सुवास नेम्वाङलाई पनि दिइसकेको बताए । उनले तत्काल आफूले के गर्ने भन्ने बारेमा ठोस धारणा बताएनन् । सरसल्लाह गरेर तय गर्ने उनको भनाइ रह्यो ।
“अव म व्यवस्थापिका संसदको सदस्य पनि छैन, कुनै पार्टीको सदस्य पनि छैन । आगामी दिनमा म यो देशका एक नागरिकको रुपमा के गर्न सकिन्छ, त्यसमा लाग्ने छु ।” पत्रकार सम्मेलनलाई संवोधन गर्दै उनले भने ।

“मेरा केही प्रतिवद्धताहरु छन्, त्यो म तपाइँहरु सामु जाहेर गर्न चाहन्छु । म जति बेलासम्म जीवित रहन्छु, देश र जनताको सेवामा निरन्तर लागिरहने छु । त्यसको रुप के हुनेछ, त्यो म भन्न सक्दिनँ । भोलि देश र समाजले के आवश्यकता ठान्छ, त्यो त्यतिखेर नै तय हुनेछ ।” सरोकार राख्ने सवैसँग सल्लाह गरेर मात्रै आफू कसरी अगाडि बढ्ने भन्ने तय गर्ने तर अहिले आफू खुला रहेको र यसबारे आफूले कुनै दृष्टिकोण नबनाएको उनको भनाइ थियो ।

पाँच ‘स’को प्रतिवद्धता
“देश र जनताको सेवाका निम्ति मेरा पाँच वटा प्रतिवद्धताहरु छन् । तिनलाई मेरा पाँच ‘स’ को प्रतिवद्धता भन्न पनि सकिन्छ ।
पहिलो : स्वाधीनता, सार्वभौमिकता र भौगालिक अखण्डताप्रति कुनै पनि हालतमा प्रतिबद्ध रहने र त्यसको जगेर्ना गर्ने ।

दोस्रो : समावेशी, समानुपातिक, सहभागितामूलक लोकतन्त्रप्रति प्रतिवद्ध रहने ।

तेस्रो : संवृद्धि । देशमा गरिवी र बेरोजगारीको अन्त गरेर नेपाललाई छिटोभन्दा छिटो आर्थिक विकास र संवृद्धिको दिशामा लिएर जाने मेरो प्रतिवद्धता रहनेछ ।

चौथो : सामाजिक न्याय र शान्तिको निम्ति समाजवादप्रतिको प्रतिवद्धता । पुँजीवादी व्यवस्थाले देशमा दिगो शान्ति र सामाजिक न्याय ल्याउँदैन । त्यसैले समाजवादी बाटोबाट यो शान्ति र सामाजिक न्याय कायम गर्ने मेरो प्रतिवद्धता रहनेछ ।

पाचौं : पाँचौ स भनेको सदाचार हो । सार्वजनिक जीवनमा सदाचार भएन भने, भ्रष्टाचारजन्य र अपारदर्शी गतिविधि भयो भने त्यसले देश र जनताको सेवा गर्न सक्दैन । हाम्रो राज्य अत्यन्तै भ्रष्टाचारजन्य र अपारदर्शी गतिविधिव्दारा प्रदुषित छ, त्यसबाट मुक्त रहेर सदाचार पालना गर्ने मेरो प्रतिवद्धता रहनेछ ।”
उनले आफू विकास निर्माणमा लागी पर्ने बाचा पनि दोहोर्याए ।

“यी पाँच ‘स’प्रति प्रतिवद्ध भएर म आगामी दिनमा लागी रहने छु । सवैलाई थाहा छ, रुचिको हिसावले म राजनीतिक अर्थशास्त्रको पनि विद्यार्थी हुँ , यसको नाताले विकास निर्माण मेरो रुचि र चासोको विषय हो । भूकम्पबाट क्षतविक्षत भएको र वेरोजगारीबाट आक्रान्त रहेको देशको जुन अवस्था छ, यस अवस्थामा केही समय आर्थिक विकास र सम्वृद्धिको क्षेत्रमा बढी कृयाशील भई देशलाई योगदान पुर्याउने मेरो सोच छ । ”
उनले आफ्नो ४० वर्षे राजनीतिक जीवनमा पार्टी भित्र, बाहिर सार्वजनिक जीवनमा ज–जसले सहयोग गरे, ती सवैलाई धन्यवाद पनि दिए ।

उनको पार्टी परित्यागले नेपाली राजनतिक क्षेत्रमा अचानकजस्तो तरङ्ग पैदा गरेको र यसबारे मानिसहरु विभिन्न अडकलवाजीहरु गरिरहेका छन् । यो उनको ‘नयाँ शक्ति’ निर्माणको हिजैदेखि चर्चामा रहेको कामको शुरुवात हो वा तत्कालको कुनै घटनाको प्रतिकृयामा चालिएको कदम हो भन्नेबारे उनले आगामी दिनहरुमा प्रष्ट पार्लान् नै । तर, उनले यो घोषणा आफू एक्लैले गरेको र उनका सहयोगी भनिएका उनको समूहका मानिसहरु यसमा प्रत्यक्ष नदेखिएको विषय भने रहस्यमय नै रहेको छ । मधेश, थारुवानमा भैरहेको आन्दोलनसँग पनि उनको यो कदम जोडिएको अड्कलवाजी गरिएको छ । ०००

(Visited 463 times, 1 visits today)

टिप्पणी

comments