Main Menu

सगरमाथा चढ्ने साहसी महिलाहरु

नेपाली महिला पर्वतारोहीहरु सगरमाथा चढ्दै ।

विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चढ्ने प्रथम महिला पासाङल्हामु शेर्पा हुन् । उनले लगातारको चौथो प्रयासमा बल्ल सन् १९९३ अप्रिल २२ मा सगरमाथाको शिखर चुम्न सकेकी थिइन् । उनले पाएको सफलतासँगै उनको जीवनको अस्तित्व सगरमाथाकै शीरमा बिलायो । अर्थात् आकस्मिक रुपमा आइलागेको हिम आँधीको विपत्तिले गर्दा उनको मुत्यु भयो । उनलाई सफलता दिलाउनमा महत्वपूर्ण भूमिका खेलेका सरदार सोनाम छिरिङको अहिलेसम्म अत्तोपत्तो छैन । नेपालमा रहेको विश्वकै उच्च शिखर नेपाली महिलाले चढ्न नसकिरहेको अवस्थामा उनको सफलताले एउटा नयाँ कीर्तिमानको जग खडा गर्यो । वास्तवमा उनी एउटी नेपाली वीरंगना थिइन् ।

सगरमाथाको सफल आरोहण गर्ने पहिली महिला पासाङ ल्हाम्हु शेर्पा ।

संखुवासभाकी लाक्पा शेर्पाले दोस्री नेपाली महिलाको रुपमा सगरमाथा चढिन् भने सगरमाथा चढ्ने तेस्री नेपाली बनिन् सोलुखुम्बु नाम्चे बजारकी पेम्बाडोमा शेर्पा । उनी तिब्बत तर्फबाट सगरमाथा चढ्ने प्रथम नेपाली भइन् । त्यसपछि मिङकिपा शेर्पा संसारकै सफल कान्छी सगरमाथा आरोही भनी प्रचार गरिए तापनि नेपाल सरकार एवं पर्यटन मन्त्रालयले निकालेको ‘माउन्टेनियरिङ इन नेपाल फ्याक्ट एण्ड फिगर्स’ मा भने मिङकिपाको नाम कान्छी आरोहीको रुपमा दर्ता गरिएको छैन । बरु उत्तरी मोहडाबाट चढ्ने चारजना नेपाली महिलाहरुको नाम लिस्टमा भने मिङकिपा शेर्पाको नाम छ । त्यस्तै लाक्पा शेर्पाले तिब्बत तर्फबाट पनि दुईपटक सगरमाथा सफलताका साथ चढिसकेकी छिन् भने उनले चारपटकसम्म सगरमाथा चढेर सबैभन्दा बढीपटक सगरमाथा चढ्ने नेपाली महिला भएकी छिन् । त्यति मात्रै होइन, हालसम्मकै धेरै पटक सगरमाथा चुम्ने विश्वकै एक मात्र महिला हुन् उनी ।

उता मोनी मुलेपति प्रथम नेवार महिलाको रुपमा सन् २००५ मा सगरमाथा चढ्न सफल भइन्् भने उनले शिखरमै विवाहसमेत गरेर नयाँ विश्व कीर्तिमान कायम गरिन् । यसरी कीर्तिमान राख्नेहरुको होडमा उनले अर्को कीर्तिमान राख्न सकेकी हुन् ।

यता नेपाली महिलाहरुको सगरमाथा चढ्ने प्रतिस्पर्धा र संख्यात्मक बृद्धिको क्रममा सन् २००८ मा सुस्मिता मास्केको नेतृत्वमा समावेशी सगरमाथा आरोहण दल खडा गरेर एकै वर्षमा १० जना नेपाली महिलाहरु सगरमाथा चढ्न सफल भए । त्यसमा सुस्मिता र उषा विष्टजस्ता महिलाहरुले त्यसअघि पनि नेपाली महिलाको रुपमा सगरमाथा चढ्ने प्रयास गरेका थिए । जे होस्, समावेशी सगरमाथा आरोहण दलमार्फत् सुस्मिता मास्केले टिम लिडरका रुपमा चढिन् भने उषा विष्ट, शैली बस्नेत, चुनु श्रेष्ठलगायत पनि त्यसमा सामेल थिए । आरोहण दलमा रहेकी शैली बस्नेत प्रथम नेपाली पत्रकार महिलाको रुपमा सगरमाथा चढ्न सफल भएकी हुन् । माया गुरुङ, आशाकुमारी सिंह, निमाडोमा शेर्पा, पेमाडोमा शेर्पा र पूजना आचार्य नवाङफुटी शेर्पा थिए । यसरी शेर्पा, क्षेत्री, नेवार, गुरुङ, बाहुन, मधेसी आदि समुदायका महिलाको रुपमा उनीहरुले सगरमाथा चढेका थिए । सगरमाथा चढ्ने प्रतिस्पर्धा चल्दै गर्दा नेपाली महिलाहरुको पनि संख्यात्मक बढोत्तरी भएको मान्न सकिन्छ , जुन कुरा हामी नेपालीहरुका लागि गौरवको विषय हो ।

सगरमाथाको सफल आरोहण गर्ने महिला पर्वतारोही माया शेर्पा ।

नेपाल एक बहुजाति बहुभाषिक देश हो । बि.सं. २०५८ को जनगणनाअनुसार हाम्रो देश नेपाल १ सय १ जातिहरु, ९२ भाषाभाषीहरुको बसोबास अर्थात् संगमस्थल हो । त्यस्तै नेपालमा रहेका विभिन्न आदिवासी जनजातिमध्ये लिम्बू जाति पनि एक हो । यही लिम्बू जातिबाट लिम्बू जातिकै पहिलो सगरमाथा चढ्ने पहिलो व्यक्तिको रुपमा २००९ मे १९ मा आङबुङ—९ की जुनिता लिम्बूले आफ्नो नाम दर्ता गराएकी छिन् । यसरी हेर्दा नेपालमै रहेको संसारकै अग्लो हिमशिखर सगरमाथा चढ्न सफल नेपाली महिलाहरुको संख्या हालसम्ममा अढाइ दर्जनभन्दा बढी पुगिसकेको छ । यो कम्ताको कुरो होइन ।

हिमाल आरोहण महङ्गो खेल भएकोले अपेक्षित रुपमा विश्वका महिलाहरुको तुलनामा नेपाली महिलाहरुले आरोहण गर्न सकेका छैनन् । त्यति धेरै अप्ठ्याराहरु हुँदाहुँदै पनि नेपाली महिला पर्वतारोहीहरु संख्यात्मक हिसाबले बढ्न नसकेको भन्न मिल्दैन । त्यसमाथि नेपालका जुनसुकै हिमालहरु चढ्न प¥यो भने पनि नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टी अत्यन्तै महंगो तिर्नुपर्ने हुन्छ । तर, नेपाल सरकारले हाल आएर नेपाली आरोहीहरुलाई सलामी दस्तुर मिनाहा गर्ने वा विदेशीहरुलाई भन्दा कम दस्तुर लिने गरेको छ । जुन एकदमै सकारात्मक कदम हो भन्न सकिन्छ । तर, यस विषयमा कुरा गर्दा दुःखका साथ हामीले भन्नै पर्छ कि, सर्वप्रथम सगरमाथा चढ्ने नेपाली महिला पासाङल्हामु शेर्पाको हकमा भने सलामी दस्तुर मिनाहा भएन ।

तत्कालीन श्री ५ को सरकारले पासाङल्हामु शेर्पाको हकमा पनि सलामी मिनाहा गरेर बेलैमा निर्णय गरेको भए सायद पासाङल्हामु शेर्पा आज हामै्रमाझ हुन्थिन् कि ? किनभने तत्कालीन श्री ५ को सरकारले पासाङल्हामु शेर्पाको हकमा कहिले सलामी दस्तुर मिनाहा गर्ने भन्थ्यो, कहिले बचेन्द्री पालसँगै ज्वाइन हुन भन्थ्यो । अर्कोतिर पासाङल्हामु शेर्पाको साहसिक कदमको कदर गर्दै एमालेका तत्कालीन महासचिव बितेका मदन भण्डारीले पार्टी कार्यालयमा बोलाई अग्रिम बधाइ तथा शुभेच्छा दिएकै आधारमा उनी कम्युनिष्ट भएको फत्तुर पनि लाग्यो । त्यसपछि त के छ र ? नेपाली काँग्रेस निकटको महिला संघले पनि उनलाई दबाव दिँदै नेपाल महिला संघको झण्डा शिखरमा लगेर फराउन दबाव दियो । यसरी देशकै बेजोड प्रतिभामाथि खेलबाड भएको थियो । उनलाई अपमान गरिएको थियो । उता तत्कालीन श्री ५ को सरकारले सलामी दस्तुर पनि नाम मात्रको (थोरै रकम मात्रै) मिनाहा गर्यो । जुन कुरा राष्ट्रियताको दृष्टिकोणबाट हेर्दा पनि साह्रै लाजमर्दो थियो । स्मरण रहोस् सर्वप्रथम नेपाल—तिब्बत दुबै तर्फबाट सगरमाथा चढ्ने नेपाली महिला पेम्बाडोमा शेर्पाको पनि निधन भैसकेको छ । जे होस् हामी आशा गर्न सक्छौं कि भविष्यमा अवश्य पनि सगरमाथालगायत अन्य हिमाल चढ्ने नेपाली महिलाहरुको संख्यामा अरु बढोत्तरी हुँदै जानेछ । त्यसका लागि सम्बन्धित निकायले ठोस पहल गर्नेछ ।

साभार : ‘नवयुवा’ मासिक, पूर्णाङ्क १४१

(Visited 590 times, 1 visits today)

टिप्पणी

comments