Main Menu

क्लिङकरको आयात रोकिएपछि व्यापारीद्वारा सिमेन्टको मूल्यमा कालोबजारी

पुस २२, वीरगञ्ज

businessmen-create-artificial-shortage-cementसिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्न थालेका छन् ।

नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यसको धुलोले प्रदूषण भई मानव स्वास्थमा प्रतिकूल असर पर्ने भनी केही दिनदेखि रक्सौलवासीले अवरोध गर्दा क्लिङकर नेपालतर्फ आयात नभएको मौका छोपी यहाँका विक्रेताले कृत्रिम अभाव सिर्जना गरी स्टकमा रहेको सिमेन्ट बढी मूल्यमा बेच्दै कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो छ ।

घर बनाउनका लागि बजारमा सिमेन्ट किन्न जाँदा व्यापारीले तोकेको मूल्यभन्दा बढी मूल्य भनेकाले सिमेन्ट किन्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका कपिलदेव यादव भन्छन्, ‘क्लिङकरको अभाव देखाएर स्टक गरेको सिमेन्ट बेच्ने व्यापारीलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्छ ।’

व्यापारीले पहिलेदेखि गोदाममा स्टक गरी राखेको विभिन्न ब्राण्डको सिमेन्ट प्रतिबोरा रु. १०० देखि १५० सम्म बढी मूल्य राखेर बेच्ने गरेका छन् । नेपाली सिमेन्ट उद्योगमा क्लिङकरको अभाव देखिएपछि उत्पादन प्रभावित हुने भएकाले विक्रेताले बढी मूल्यमा सिमेन्ट बेच्दा यसबाट सर्वसाधारण उपभोक्ता प्रभावित हुँदै आएका छन् ।

पर्सा र बारामा रहेका १३ वटा सिमेन्ट उद्योगले पहिलेकै मूल्यमा सिमेन्ट बिक्री गर्न विक्रेतालाई आग्रह गरे पनि विक्रेताले सिमेन्टको अभाव देखाएर बढी मूल्यमा सिमेन्ट बिक्री गरी उपभोक्तालाई ठग्दै आएका छन् ।

सिमेन्टको कच्चा पदार्थ क्लिङकरबाट वीरगञ्ज भन्सार कार्यालयले वार्षिक रु. ४ अर्ब राजस्व उठाउँदै आएको भए पनि भारतीय पक्षले क्लिङकर आउनमा रोक लगाएपछि अहिले रक्सौलमा स्टक गरिराखिएको पुरानो क्लिङकर मात्र आउने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए ।

क्लिङकरजका कारण भएको प्रदूषणले रक्सौलवासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै उनीहरुले क्लिङकर रक्सौलमा अनलोड नगरी सिधा वीरगञ्जको सिर्सिया बन्दरगाहमा अनलोड गर्नुपर्ने माग राखी अवरोध गर्दै आएका छन् ।

 

अर्कै छ क्लिङकर अनलोड गर्न नदिनुको कारण

यद्यपि, क्लिङकर अनलोड गर्न नदिनुको रहस्य भने वेग्लै रहेको बुझिएको छ । पहिलेपहिले भारतीय सिमेन्टको बिक्री नेपालमा बढी हुने गरिन्थ्यो । तर नेपालमै सिमेन्ट उत्पादन हुन थालेपछि भारतीय सिमेन्टको माग घट्न थाल्दा नेपाली बजारमा पुनः आफ्नो पकड बनाउन भारतीय पक्षले क्लिङकर अनलोडमा समस्यमा ल्याएको सिमेन्ट व्यापारीहरु बताउँछन् ।

क्लिङकर आयातको समस्याले सिमेन्टको मूल्य बढेको स्वीकार्दै वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योगी प्रदीप केडिया समस्या समाधान गर्नतर्फ नेपाल सरकारले ध्यान नदिएकाले यो झन बढ्न सक्ने बताउँछन् ।

 

‘भारतले राजनीति गर्न खोज्यो’

भारतीय रेल्वे सेवा निगमले वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा क्लिङकर पुर्याउने सम्झौता नभएको भनी पन्छिँदै आएको आरोप लगाउँदै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव माधवराज पालले भने, “भारतीय पक्षले यसमा राजनीतिक गर्न खोजेको छ, जसको कारण नेपाली उद्योग प्रभावित भएको छ ।”

यता वीरगञ्जस्थित सुख्खा बन्दरगाह वरिपरि रहेका बस्तीका बासिन्दाले पनि क्लिङकर सुख्खा बन्दरगाहमा अनलोड गर्दा यहाँ पनि प्रदूषण हुने भनेर विरोध गर्दै आएको छ । सिमेन्ट उद्योगीले नेपालगञ्ज, विराटनगर नाका भएर क्लिङकर आयात गर्दा महँगो पर्ने भएकाले रक्सौल नाका भएर क्लिङकर ल्याउनु पर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

  • वीरेन्द्र कर्ण
(Visited 125 times, 1 visits today)

टिप्पणी

comments